कुलमान नायक कि खलनायक

अनारसिंह कार्की

कुलमान घिसिङ विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख अथवा एउटा सहसचिवसरहको संस्थानका कर्मचारी मात्रै हुन् त ? यदि उनको हैसियत त्यति मात्रै हो भने उनलाई त्यस पदबाट हटाउँदा देशको सम्पूर्ण राजनीति नै उनको पक्ष र विपक्षमा केन्द्रित नहुनुपर्ने हो कतिपय मानिसको भनाइ छ राजनीति भ्रष्ट भएपछि कुनै पनि मालदार विभाग र संस्थानमा आफ्ना मान्छे राख्ने र निकाल्न यस्तै संघर्ष चल्नु स्वाभाविक हो र कुलमान पनि त्यसैका प्रतिनिधि पात्र हुन् । तर विद्युत् प्राधिकरण जतिकै मालदार संस्थानहरू अरू पनि छन् । त्यस्ता संस्थानका प्रमुखका हेरफेरमा सामान्य विवाद त देखिन्छ तर यसरी देश नै एक जना कर्मचारी कुलमानमय भएको त देखिएको छैन । कुलमान यति चर्तित हुनुको कारण के होला र कुलमान को हुन् भन्ने’boutमा संक्षिप्त चर्चा र बहस हुन जरुरी छ ।

को हुन् कुलमान ?
पहिलेको पूर्व २ नं. रामेछाप जिल्लाको बेथान भन्ने गाउँका मध्यमवर्गीय परिवारका कुलमान घिसिङ पढ्नमा राम्रो विद्यार्थीमा पर्थे । अस्कल कलेजबाट राम्रो नम्बर ल्याई आईएस्सी पास गरेकाले छात्रवृत्तिमा भारतमा इन्जिनियरिङ पढ्ने मौका पाए । उनी विद्यार्थीकालमा निर्मल लामा पक्षको विद्यार्थी संगठनमा सक्रिय थिए । रामेछापको बेथान इलाकामा निकै ठूलो तामाङ बस्ती छ र त्यस क्षेत्रमा सबैभन्दा बढी कम्युनिस्ट नेता निर्मल लामाको प्रभाव थियो । त्यसैले उनी निर्मल लामा पक्षको विद्यार्थी संगठनमा संलग्न हुनु स्वाभाविक थियो । निर्मल लामाको निधनपछि त्यो कम्युनिस्ट समूह तितरबितर हुन पुग्यो र त्यसमा संलग्नहरू विभिन्न कम्युनिस्ट घटकमा समावेश हुन पुगे । तर कुलमान एउटा वामपन्थी विचारधारा राख्ने कर्मचारीका रूपमा रहे पनि एमाले र माओवादी दुवैसँग उनी समान सम्पर्कमा थिए । जब एमालेका सत्तासीन नेताहरूका लागि वामपन्थी भएर मात्रै नपुग्ने, खास कुनै नेतासँग नजिक हुनका लागि नजिकको नाता वा उसको माग पूरा गर्ने प्रतिस्पर्धामा उत्रिनुपर्ने हुन थाल्यो, त्यसपछि उनी माओवादीतिर झुक्न लागे ।

चिलिमे आयोजना
इन्जिनियर पास गरेर आएपछि सुरुमा कतै काम गरेका भए पनि त्यो उल्लेखनीय छैन । जब उनले चिलिमे आयोजनामा नियुक्त भएपछि उनले बलियो पाइला जमाउने मौका पाए । त्यो क्षेत्र पनि तामाङ बाहुल्य क्षेत्र भएकाले स्वाभाविक रूपमा जनतामा घुलमिल हुन सजिलो भयो । त्यसमाथि पनि उनले चिलिमे योजनामा त्यस क्षेत्रका व्यापक जनतालाई संलग्न गराएपछि त्यस क्षेत्रमा उनको लोकप्रियता व्यापक बन्न पुग्यो । जलविद्युत्को क्षेत्रमा स्थानीय जनतालाई सहभागी बनाउने नयाँ प्रयोग पनि हुन गयो । जसको कारण चिलिमेमा उनको पदावधि थप नभएकामा जसरी पनि उनको म्याद थप्नुपर्छ भन्ने माग राखेर त्यस क्षेत्रका जनताले जुलुस प्रदर्शन गरेका थिए । उनलाई नजिकबाट चिन्नेहरूको भनाइ छ उनले चिलिमेबाट लोकप्रियता मात्रै कमाएनन् पैसा पनि राम्रै कमाए । साथै जलविद्युत्का इन्जिनियरहरूमा उनको नाम चल्न थाल्यो र सबैका आँखामा पर्न थाले । त्यही समयमा उनको विवाह पञ्चायतकालमा धेरैपटक विभिन्न मन्त्रालयमा मन्त्री बनेका हाल राप्रपाका नेता एवं सांसद बुद्धिमान तामाङकी छोरीसँग भयो । मेरो जानकारीमा आएअनुसार उनी वामपन्थी विचार राख्ने भए पनि उनकी श्रीमती राप्रपाकी नेता हुन् । उनी राप्रपा जिल्ला सभापति थिइन् भन्ने सुनेको थिएँ । अहिले के छन् यकिन मलाई जानकारी छैन । तथापि, विवाहपछि उनको वैचारिक धार माओवादी र राप्रपासँग समान रूपमा नजिक हुन पुग्यो ।

कुलमान कार्यकारी निर्देशक भएर आउनुअगाडिको अवस्था
देशमा २०४६ को प्रजातन्त्र स्थापनासँगै नेपालको जलविद्युत् क्षेत्रमा नराम्रो ग्रहण लाग्न पुग्यो । पुनःस्थापित प्रजातन्त्रमा प्रमुख प्रतिपक्षको हैसियतमा उदाएको नेकपा एमालेले अरुण जलविद्युत् विश्वबैंकको लगानीमा बन्न लागेकामा ठूलो विरोध मात्रै गरेन विश्वबैंकलाई पत्र पठाएर लगानी नगर्न भनेपछि त्यसैबाट नेपाल अँध्यारोतर्फ धकेलिन पुग्यो । त्यसको साथसाथै खिम्ती जलविद्युत्लाई डलरमा भुक्तानी गर्ने सम्झौताका कारण डलरको द्रुत मूल्यवृद्धिले प्राधिकरणको ढाड सोझिन नसक्ने अवस्थामा पुग्यो । त्यतिले मात्र होइन नेपाल विद्युत् प्राधिकरणका ऋणदाताहरूका सल्लाहकार र प्राविधिकका लागि आरामदायी र महँगा गाडी किन्ने र तिनीहरू आफ्नो देश फर्किएपछि ती गाडी सत्ताधारी पार्टीका प्रभावशाली नेताहरूले हत्याउने लहर नै चल्यो । त्यसरी प्राधिकरणबाट हत्याएका गाडीका चालकको तलब–भत्ताका साथै इन्धन र मर्मत खर्च पनि प्राधिकरणकै खाताबाट हुन थाल्यो । जसले गर्दा प्राधिकरण घाटामा डुब्न मात्रै पुगेन लोडसेडिङको समय पनि बढ्दै १८ घण्टासम्म पुग्न थालेपछि अँध्यारोको आतंक नै फैलियो । त्यस्तो बेलामा कुलमान घिसिङलाई उनको चिलिमेको चर्चा र वामपन्थी पृष्ठभूमिका कारण नेपाल विद्युत् प्राधिकरणको प्रमुखका रूपमा माओवादी नेतृत्वको सरकारले नियुक्त ग¥यो । उनी आएसँगै दु्रत गतिले लोडसेडिङ घट्तै गएपछि विद्युत् उपभोक्ताका नजरमा उनी उज्यालाका नायक बन्न पुगे । साँच्ची नै एउटा कर्मचारीका रूपमा उनी लोकप्रियताको शिखरमा पुग्न सफल भए ।

यसको अर्को पक्ष पनि छ जसले जनताले खासै ध्यान दिएका छैनन् । त्यो अर्को पक्ष भनेको उनी आउनुअगाडिकाहरूले नै ठूलो मेहनत गरेर भारतबाट विद्युत् आयात गर्ने व्यवस्था मिलाइसकेका थिए । स्वीच थिचेर जश लिने बेला आइपुगेका उनी भाग्यमानी हुन् भन्ने गर्छन् । साथै आफ्नो लोकप्रियता र एउटा पार्टीको बलियो समर्थनका आडमा उनले आफू र आफ्नो परिवारको नाममा अर्बौं कमाएका छन् भन्ने आरोप लगाउँछन् । एमालेका अध्यक्षका लागि उनी आँखाको कसिंगर हुनुको कारण माओवादीलाई आर्थिक स्रोत जुटाउने मुख्य मानिस नै घिसिङ हुन् भन्ने छ । त्यसैले ओलीको खेदाइमा बारम्बार पर्ने गरेका छन् । र, उनले देखाएको नाफामाथि पनि आशंका गर्छन् ।

घिसिङले गरेका काम
जे होस् उनको पक्ष र विपक्षमा उठेका प्रश्नहरू कति सही छन्, कति गलत छन् ? त्यो त उपयुक्त किसिमको छानबिनबाट मात्रै प्रस्ट हुन्छ । तर, आमजनता त्यस्तो आन्तरिक गहिराइमा पुगेर धारणा बनाउने हैसियत राख्तैन र जे उपलब्ध भएको छ त्यसैका आधारमा धारणा बनाएर विरोध र समर्थन गर्ने गर्छन् । आम जनताले त्यसो गर्न एकदम स्वाभाविक हो । निश्चय पनि भारतबाट आयात गरेकै कारणले मात्रै लोडसेडिङ समाप्त भएर प्राधिकरण नाफामा गएको होइन । उनले जनतालाई घोर अन्धकारमा डुबाएर उद्योगका नाममा ठूला घरानाका व्यापारी र ठूलाबडाहरूका घरमा निर्बाध बिजुली उपलब्ध गराइरहेकामा परिवर्तन गरेर आम जनतासम्म ल्याउने काम गरे । त्यसबेला उपलब्ध गराएको बिजुलीको भुक्तानीलाई लिएर चर्को विवाद अहिलेसम्म पनि झन् चर्कंदै छ । आफूसँग भएको सीमित साधनस्रोतलाई उत्पादनको क्षेत्र उद्योगधन्दामा केन्द्रित गरेर उत्पादन बढाउनमा लगाउँदा त्यसले मुनाफा दिन्छ र त्यसले रोजगारी र समृद्धि ल्याउँछ भन्ने पुँजीवादी विचार र सीमित साधनलाई न्यायिक रूपले आम जनता अझ र विपन्न वर्गमा पु¥याउन सकियो भने मात्रै सर्वसाधारण जनताको क्षमता र क्रयशक्ति बढाउन सकिन्छ । आम जनताको उपभोग गर्ने क्षमताबिनाको उत्पादन केवल शोषणका साधन मात्र बन्छ भन्ने समाजवादी (कम्युनिस्ट होइन) धारणाका बीच अझै बहस चलिरहेकै छ । जे होस् भारतबाट आयातित बिजुली, व्यापारीबाट निकालिएको र राजनीतिक नेता र तिनका मानिसले अवैध प्रयोग गर्दै आएको प्राधिकरणको सम्पत्तिलाई समेत उनले केही हदसम्म नियन्त्रण गर्दै जान सफल भए पनि उनलाई सफलता मिलेको हो । त्यसका निम्ति प्राधिकरणका कर्मचारीको ठूलो सहयोग उनले पाए । प्राधिकरणका कर्मचारीहरू संस्थान डुब्दै गएको अपजस जति आफूले बोक्नुपर्ने र संस्थानको सम्पत्तिमा नेता र तिनका आसेपासेहरूले अवैध उपभोग गरेकोबाट आक्रोशित थिए । घिसिङ आउनुअघि पनि अवैध रूपले लागेका गाडीको चाबी कर्मचारीले खोस्न थालेका थिए घिसिङ आएपछि कर्मचारीको सहयोगले पनि त्यस्तो दुरुपयोग नियन्त्रण हुँदै जान सम्भव भयो । त्यसकारण लोडसेडिङमुक्त भएर अहिलेको अवस्थासम्म आइपुग्नुमा कुलमानको व्यवस्थापकीय कुशलता र आफ्ना कर्मचारीलाई विश्वासमा लिएर काम गर्ने क्षमताको मूल भूमिका छ भन्ने आम जनतामा परेको छ । त्यसैले जनताका प्रिय हुन सकेका हुन् ।

अर्को पक्ष उनले प्राधिकरणको सम्पत्तिको दुरुपयोगलाई पूर्ण नियन्त्रण गरेका होइनन् । आफ्नो पक्षका राजनीतिक पार्टी र तिनका नेताहरूलाई निर्बाध लाभ पु¥याइरहेछन् । र, जनतामा लोकप्रिय भएका आडमा कसैलाई पनि नटेर्ने भएका छन् र आफू र आफ्ना मानिसलाई अकुत सम्पत्ति कमाउन दिइरहेका छन् भन्ने जुन आरोप छ उनको विपक्षले त्यसलाई पुष्टि हुने आधार प्रमाणहरू जनसमक्ष ल्याउन नसकेकाले पनि उनीप्रतिको जनविश्वासमा कमी आएको छैन । यसपटक उनलाई ३ महिनाको समय पनि नदिई निकाल्नुलाई प्रधानमन्त्री र ऊर्जामन्त्रीको भ्रष्ट छविलाई हेरेर उनीप्रतिको जनसहानुभूति अझ बढेको छ र प्रतिपक्षले त्यसबाट फाइदा उठाउने प्रयास गरिरहेको छ । उनले नक्कली नाफा देखाएका हुन् । यथार्थमा त्यति नाफा भएको छैन भन्नेहरू पनि छन् । तर, त्यसको भरपर्दा प्रमाण पनि जनसमक्ष आउन नसकेको अवस्था र विद्युत् चुहावटलाई उनले २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतभन्दा तल ल्याएका छन् । यिनै कारणले जनताले उनलाई उज्यालाका नायकका रूपमै लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा एसका सचिवलाई चक्कु प्रहार गर्ने काँग्रेसका २ कार्यकर्ता प्रक्राउ