काठमाडौँ । चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृभाषी चलचित्रकर्मीहरूलाई ३४ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । नेपाली चलचित्र उद्योगलाई अझ समावेशी बनाउने उद्देश्यले आदिवासी जनजाति मातृ भाषी चलचित्र प्रवर्धन समितिलाई यो रकम प्रदान गर्न लागिएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताएका छन् । बोर्डले चलचित्रकर्मीहरूलाई संगठित रूपमा प्रदान गर्ने सहयोग मध्य यो सबैभन्दा ठुलो सहयोग पनि हो ।
आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्धन समितिका संयोजक सुनिल मानन्धरसँग बोर्ड अध्यक्ष दिनेश डिसीले शुक्रवार एक समारोहबिच यो सहमति गरेका हुन् । सहमतिका अनुसार बोर्डले समितिका संयोजक मानन्धरलाई एकमुष्ट रूपमा ३४ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । सो रकम संयोजक मानन्धरले आदिवासी जनजाति सम्बन्धी १५ वटा संस्थालाई उनीहरूको चलचित्र प्रवर्धन कार्यक्रमको लागि यो रकम प्रदान गर्ने छन् ।
सहकार्यको सम्झौता भएका संस्थाहरूमा आदिवासी जनजाति चलचित्र महासंघ, थारू चलचित्र तथा सांस्कृतिक संघ, तामाङ चलचित्र संघ, मगर चलचित्रकर्मी संघ, राजवंशी चलचित्र समाज समिति, सुनुवार कलाकार तथा चलचित्रकर्मी संघ, धिमाल चलचित्रकर्मी संघ, माझी चलचित्रकर्मी संघ, गुरुङ फिल्म एशोसिएसन नेपाल, भुजेल चलचित्रकर्मी संघ, किरात राई चलचित्रकर्मी संघ, याक्थुङ्ग मुन्चईत चोक सयङ, थामी चलचित्र संघ, नेवास् फिल्म सोसाइटी, शेर्पा चलचित्र संघ नेपाल रहेका छन् । यस सम्झौताले मातृभाषा चलचित्रकर्मीहरूलाई हौसला प्रदान गरेको सम्झौतापछि मातृभाषी चलचित्रकर्मीहरूले बताएका छन् ।
यो कार्यक्रमले नेपाली चलचित्र उद्योगमा विविधताको प्रवर्धन गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको कथन थियो । यस पहलले आदिवासी, जनजाति भाषाका चलचित्रलाई मुख्य धारामा ल्याउने अपेक्षा गरिएको र आगामी वर्षहरूमा यो कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने बोर्डको योजना रहेको पनि डिसीले बताए ।
आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मी महासंघका पूर्व अध्यक्ष अमृत बहादुर सुनुवारले चलचित्र विकास बोर्डले मातृभाषी चलचित्रको प्रवर्धनमा चालेको कदमप्रति सो कार्यक्रममा खुसी व्यक्त गरेका छन् । यो कार्यक्रमले विविध भाषाका चलचित्रलाई बजारमा स्थापित गर्न सहयोग पुग्नेछ र नेपाली चलचित्र उद्योगलाई अझ समावेशी बनाउने उनले बताए ।
संयोजक सुनिल मानन्धरले मातृभाषी चलचित्रलाई अझ बलियो बनाउन आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
यो सम्झौता आदिवासी जनजाति चलचित्रहरूको लागि मात्र हो । मैथिली, भोजपुरी, अवधि जस्ता तराईका भाषिक चलचित्र यो सम्झौतामा समेटिएका छैनन् । यस्ता भाषाभाषीका चलचित्रको प्रवर्धनको लागि चलचित्र विकास बोर्डले छुट्टै परियोजना ल्याउने आशा आफूहरूले गरेको मैथिली तथा भोजपुरी चलचित्रकर्मीहरूको कथन छ ।