जनकपुरधाम । महोत्तरीमा रक्सी सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले १-१ लाख दिने घोषणा गरेको छ । पीडित परिवारलाई किरियाकर्म खर्चबापत प्रतिपरिवार १-१ लाख दिने घोषणा गरेपछि यसको चर्को आलोचना भइरहेको छ ।
समाजिक सञ्जालमा दर्जनौं व्यक्तिले प्रदेश सरकारको कामको विरोध गरेको छ । जिल्ला समन्वय समिति धनुषाका उपसभापति दीपक झाले मुख्यमन्त्री लालबाबु राउतले एकतर्फी रूपमा घोषणा गरेर खुल्ला मदिरा मुक्त प्रदेश, अर्कोतर्फ मदिरा सेवनलाई प्रोत्साहन दिने उद्देश्यले राहत वितरण गर्नु न्यायोचोति नभएको बताए ।
चेम्बर अफ कर्मस जनकपुरधामका अध्यक्ष विजयकुमार साहले सत्ता, भत्ता, कमिसनखोरी, नातावाद, कृपावाद, अनावश्यक बिदा दिने काम प्रदेश सरकारको रहेको आरोप लगाए । गरिबलाई कुनै मदत दिने यो सरकार नीतिबिना चलिरहेको उनले आरोप लगाए । मनोजकुमार पूर्वे समाजिक सञ्जालमा लेख्छन्, गल्तीको सजाय हुनुपर्छ ताकि पुरस्कारले गलत गर्नेलाई आत्मबल बढ्छ । समाजिक कार्यकर्ता अमित झाले पनि लेखेका छन्, भोटको राजनीतिलाई जीवित राख्न यसप्रकार कार्य गर्ने गरिन्छ ।
महोत्तरीमा मृत्यु भएका १२ जनामध्ये १० जनाको विषाक्त मदिरा सेवनले र एक जनाको औलोको कारण मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको छ । पहिलोपटक मृत्यु भएका अर्का एक जनाको भने पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोखरेलको टोलीले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार कारोना भाइरसले कसैको मृत्यु नभएको जनाएको छ । कोरोनाको कारण भटाभट मानिसको मृत्यु भएको आशंकामा महोत्तरीमा त्रास फैलिएको थियो ।
‘वैशाख १० गते यता महोत्तरीको बर्दिबास नगरपालिका–१२ का ४ जना र भंगहा नगरपालिकाको वडा नम्बर ६, ७ मा ८ जना गरी १२ जनाको मृत्यु भएको थियो,’ स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने । ‘मृतकको घरघरमा पुगियो, त्यहाँको अवस्था हृदयविदारक थियो । धेरै कठिनाइले हामीले प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेका हौं,’ डा. अमृतले भने, ‘मृत्यु भएका सबैको पोस्टमार्टम गर्न सकिएको छैन ।
परीक्षण गरिएको दुई जनाको श्वाबको रिपोर्टले कोरोना नभएको पुष्टि भएको छ ।’ पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको थप कारण खुल्ने उनले जनाए । ‘परिवारजन, मृत्यु भएकासँगै रक्सी खाएकाहरू तथा मृतकको पृष्ठभूमि केलाउँदा मृत्युको कारण विषाक्त मदिरा रहेको हामीले फेला परेका छौं,’ घटनाको अध्ययन गरिरहेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह—प्रध्यापक डा. खेमराज शर्माले भने, ‘मृतकले कुन ठाउँको भट्टीमा मदिरा खाएका थिए, भन्ने कुरा अझै खुलेको छैन । त्यस भट्टीको मदिरा खाएर अरू पनि बिरामी परेका हुन सक्छन् । त्यसैले भट्टीको स्रोत पत्ता लगाउनु र हालै ककसले लोकल मदिरा खाएको भन्ने कुरा खोजविन गर्न जरुरी छ ।’