काठमाडौं । यही २९ चैतबाट नेपाल र विदेशमा रिलिज हुने नेपाली चलचित्र पिताम्बरको ट्रेलर काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । पत्रकार भेटघाट कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएपछि सोही ट्रेलरलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ ।
यो चलचित्रको ट्रेलरमा राजनीति र गुण्डागर्दीको पृष्ठभूमिमा समाजमा हुने गरेको विभिन्न अपराधले त्यसलाई निस्तेज पार्न प्रहरीको भूमिकाको कथा देखाइएको छ । ट्रेलरमा एक्सनसँगै समाजका विविध समस्या र पीडा पनि प्रस्तुत गरिएको छ ।
करिब ६ करोडको बजेटमा निर्माण गरिएको यो चलचित्रलाई कृषा चौलागाईले निर्देशन गरेकी हुन् । चलचित्रलाई राम्रो बनाउन आफूले कुनै कसर बाँकी नराखेका उनले सो समारोहमा बताइन् । पिताम्बर आफ्नो सृजना भए पनि अब यसलाई दर्शकलाई सुम्पन लागेको पनि उनले बताएकी छिन् ।
यो चलचित्रका निर्माता विशाल चौलागाई हुन् । विशालले चलचित्रको ट्रेलर रिलिज समारोहमा बोल्दै आफूले नेपाली चलचित्र क्षेत्रलाई एउटा राम्रो चलचित्र दिने उद्देश्यसहित पिताम्बर बनाएको बताए । उनले चलचित्रकर्मी मिलेर जान सकेमा नेपाली चलचित्र उद्योग अझ माथि पुग्ने जिकिर गरे ।
यो चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईलगायतको शीर्ष भूमिका रहेको निर्माण पक्षले कार्यक्रममा जनायो ।
यस्तै यो चलचित्रमा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) रहेका छन् ।
आरआर फिल्मस्ले वितरण गर्ने यो चलचित्रमा निर्माता पुरुषोत्तम प्रधानकै डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, अभिमन्यु निरवीको पटकथा र संवाद, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरलको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्माण विशाल चौलागाईले गरेका हुन् । चलचित्रका पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज लेखक रहेका छन् ।