नेपाल ललितकला प्रतिष्ठानको ग्यालरीमा अक्षरको यात्रा

काठमाडौं । काठमाडौँको नक्साल स्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को ग्यालरीमा बुधवारबाट ‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरु भएको छ । काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले यो प्रदर्शनीको बुधवार उद्घाटन गरिन् ।

बहु आयामिक तथा अन्य सिर्जनात्मक कला विभागको आयोजना गरेको यो प्रदर्शनी २५ चैतसम्म त्यहाँ जारी रहने छ । प्रदर्शनीमा सो प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, पूर्व कुलपतिहरु किरण मानन्धर, के.के. कर्माचार्यसहित अग्रज कलाकार वत्स गोपाल वैद्य, मदन चित्रकार, राधेश्याम मुल्मी, लालकाजी लामाका चित्रकला छन् ।

यसै गरी सो प्रदर्शनीमा पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय बान्तवा, अरुणा हिङमाङ, बुद्धि गुरुङ, धनबहादुर याख्या, सुन्दर सिंख्वाल, चन्द्रकुमार राई, भाइराजा महर्जन, राजन काफ्ले, केशव राज खनाल, पृथ्वी श्रेष्ठ, सागर मानन्धर, सम्झना राजभण्डारी, प्रद्युम्न श्रेष्ठ, छिरिङ फोन्जो गुरुङको कला पनि राखिएको छ । अनिल शाही, मनोज तामाङ योञ्जन, मुना भडेल, नवीन नाल्वो, कृष्ण लामा, हरिओम मेहता, किशोर नकर्मी, राजन महर्जन, जयशंकरसन श्रेष्ठ, मनरा प्रजापति, बिनिसा मल्ल, आनन्दकुमार महर्जन, सर्जु कपाली, मनोरमा खत्री, रुवी श्रेष्ठ, जेनी घले, विद्यमान तामाङ, तिसा श्रेष्ठ, विजेन्द्र श्रेष्ठले तयार गरेको कला पनि प्रदर्शनीमा रहेको छ ।

प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख सुनिता डंगोलले कला र संस्कृतिको संरक्षणले मात्रै मुलुक समृद्ध बन्ने भनाई राखिन् । कार्यक्रममा उपमेयर डंगोलले भनिन्,‘नेपालमा विभिन्न लिपिहरू भएकाले ती लिपिहरूलाई प्रदर्शनीमा ल्याउन यस्ता प्रदर्शनीहरू एकदमै महत्त्वपूर्ण हुन्छन् । नेपालका धेरैभन्दा धेरै लिपि जुन हराइएका छन् र केही हराउने क्रममा छन्,’ ती लिपिहरूलाई अझै संवर्धन, प्रवर्धन गर्न यस प्रदर्शनीले भूमिका खेल्ने विश्वास आफूले लिएको उनले बताइन् ।

अक्षर आफैँमा एक अक्षर मात्र नभएर भाव व्यक्त गर्ने तथा कलाको सौन्दर्यलाई प्रकट गर्ने पक्ष भएको सो प्रतिष्ठानका कुलपति हार्तम्छालीले बताए । उनले भने, ‘कलालाई सुन्दर र भावनात्मक ढंगले अभिव्यक्त गर्न अक्षरको भूमिका विशेष रहन्छ । अक्षरलाई रङ, रेखा र आकारसँग जोडेर विम्ब करण गरी सूचना सम्प्रेषण गर्न सकिने र लालित्यको दृष्टिले पनि अक्षरलाई सम्बोधन गर्न सकिन्छ ।’

विश्वमा लेखन प्रक्रियाको थालनी इसा पूर्व ४ हजार वर्षअघि मेसोपोटामियामा भएको जानकारी प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले सो कार्यक्रममा गराए । ती ध्वनि प्रतीक चिह्न नै आजको लिपिको प्रारम्भिक रूप भएको उनले बताए । नेपालका अन्य लिपिलाई समेत समेट्दै कार्यक्रमको अर्को संस्करण बृहत् बनाउने धारणा थुम्केलीले राखे ।

सो प्रदर्शनीको आयोजक बहु आयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले अक्षरबिनाको आज केहीको कल्पना नै गर्न नसकिने भएकाले अक्षरलाई महत्त्व लिएर यो प्रदर्शनी आयोजना गरिएको बताइन् । कार्यक्रममा उनले भनिन्, ‘भाषालाई बोलीचालीको रूपमा बुझ्न ध्वनि प्रतीक चिन्हले सहज बनाएको छ । यिनै लिपिलाई कलात्मक रूपले कलाकारहरूले आफ्नो भावानुभूतिलाई देखाएर कलाकृति सिर्जना गरेको हुन्छ र कलाकृति सिर्जनामा एउटा अक्षर तथा शब्दले ठुलो अर्थ लिएको हुन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म