वीरगन्ज । कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार वीरगन्जको नेशनल मेडिकल (एनएमसी) कलेज शिक्षण अस्पताल र कर्मचारी सञ्चय कोषका बीच सम्झौता भएको छ । कोषको सामाजिक सुरक्षा योजना सञ्चालन विनियम २०८० अन्तर्गत सञ्चयकर्ता स्वास्थ्य उपचार योजना बमोजिम आईतबार यो सम्झौता भएको हो ।
हस्ताक्षरित सम्झौतामा विभिन्न ८ वटा बँुदा ४० वटा उपबुँदा समेटिएको छ । यो सम्झौता बमोजिम कोषका सञ्चयकताई औषधी उपचारमा सहजीकरण गर्ने उद्देश्यले सम्झौता गरिएको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेनेजिङ डाइरेक्टर (एमडी) सहनाज अन्सारीले बताए । सञ्चय कर्ताले सुविधा दावी गर्दा पेश गरेका अस्पतालसँग सम्बन्धीत कागजात, बिल वा अन्य कुनै पनि बिषयमा कोषबाट थप अध्ययन गर्न आवश्यक परेमा अस्पताले पूर्ण सहयोग गर्ने, सम्झौता गरेवापत कोषले अस्पताललाई तथा अस्पतालले कोषलाई कुनै शुल्क, कमिशन लगायत आर्थिक व्ययभार हुने कार्य नगर्ने, अस्पतालले सञ्चयकर्तासँग यस योजनामा सिफारिस वा सहजीकरण गरेवापतको कुनै शुल्क वा कमिशन नलिने जस्ता विभिन्न ८ वटा बुँदा र ४० उपबुँदामा दुवै पक्षका बीच सहमति जनाइएको पनि उनको भनाइ छ ।
सामाजिक सुरक्षा योजना सञ्चालन विनिमय २०८० अन्तर्गत सञ्चयकर्ता स्वास्थ्य उपचार योजनाको प्रभावकारी कार्यान्वयन गर्ने र सञ्चयकर्तालाई स्वास्थ्य उपचार खर्च सोधभर्ना उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक बिल भौचर र अन्य प्रमाण साथै उक्त प्रक्रियामा सहजीकरण गर्नु कोष र अस्पताल बीचको सम्झौताको साझा उद्देश्य रहेको पाइएको छ ।
सम्झौतामा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका तर्फबाट एमडी अन्सारी र कोषको तर्फबाट कोषको हेटौडा शाखाको कार्यालय प्रमुख डा.दिलिपराज पौडेलले हस्ताक्षर गरेका छन् । सो क्रममा शाखा कार्यालय हेटौडाका सहायक प्रवन्धक सन्तोष बहादुर चन्द र कलेजका मौजेला कुमार सहनी रहेका थिए । त्यसै गरी अस्पतालका अशिष्टेन्ट मेनेजर निशा दहाल र सुबोध बहादुर चन्दलगायतको पनि सशभागिता रहेको थियो । आइतबार भएको दुवै पक्षको सम्झौता वीरगन्जस्ति नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा नै भएको थियो ।






