अवैध क्यालेण्डरः वैध मिति

वीरगन्ज । भित्तामा झुण्ड्याइएका र टेबलमा सजाइएका क्यालेण्डर नेपाली नयाँ वर्ष नजिकिएसँगै धमाधम फेर्ने तयारी उत्कर्षमा छ । फेरिने क्यालेण्डरसँगै आफ्नो प्रचार गर्ने संघ, संस्था र व्यक्तिहरु गएको महिना दिनदेखि नयाँ क्यालेण्डर छाप्ने ध्याउन्नमा व्यस्त छन् । तथापि नेपाली मिति वैध रहेका ती अधिकांश क्यालेण्डर अवैध रुपमा नेपालीको घर, कार्यालय र टेवलमा सजिने भएका हुन् ।

सीमावर्ती क्षेत्रका विभिन्न नीजि हस्पिटल, वित्तीय संघ संस्था, नीजि विद्यालय र क्यालेण्डर वितरण गरी आफ्नो विज्ञापन गर्ने केही व्यक्तिहरु मध्ये अधिकाँशका क्यालेण्डर सीमापारी छापेर अवैध बाटोबाट नेपाल भित्रिदै गरेको रहस्य खुलेको छ । कारण सीमा पारी भारतका दिल्ली, पटना जस्ता ठूला बजारका छापाखानामा केही सस्तोमा क्यालेण्डर छपाई हुने प्रलोभनमा परी ‘फिनिसिङ राम्रो’ नभए पनि वैध मितिका अवैध ढंगका क्यालेण्डर नेपालीका घर कार्यालयका भित्ता र टेवलमा सजिने खुलेको छ । ती क्यालेण्डरको कागज र प्रिन्ट सहितको मूल्याँकन लाखौंको हुने भए पनि नेपाल भित्र्याउँदा भन्सार शुल्क र कर तिर्ने नगरेको पाइएको छ । अन्य शुल्क पनि तिर्न नपरी सीधा अवैध बाटोबाट वा भन्सार नतिरी बिल विजक विना नेपाल भित्रिनु वैध नभएको सीमावारीका छापाखाना संचालकको तर्क छ ।

चोरी पैठारीकै बाटोबाट क्यालेण्डर
भन्सार नतिरी, आय–व्यय नदेखाई आएको सामानको इन्ट्री पनि नहुने हुँदा त्यस्ता क्यालेण्डर वैध हुन नसक्ने वीरगन्जमा संचालित साविक छापाखानाका संचालक ईजराइल अंसारीले बताए । सीमावारीका छापाखानाले भने सीमापारीबाट कागज ल्याउँदा भन्सार शुल्क, भ्याट लगायतको कर तिर्नु पर्छ । तर तयारी अवस्थाका क्यालेण्डर एकदुई रुपैया सस्तोमा त्यहाँ छपाई भित्रिंदा त्यसको राजश्व बुझाउने गरेको पाइदैन उनले भने । यसमा सीमा क्षेत्रमा खट्ने सुरक्षा संयन्त्रको मासिक नजरानाको खोलले सफाचट हुन सक्ने पनि छापाखाना संचालकको आरोप छ । फिनिसिङमा सीमावारीका क्यालेण्डर जस्तो नहुने भए पनि सस्तोको लोभमा क्यालेण्डर छपाईले सीमापारीकै व्यापारलाई सघाउ पुगेको अंसारीको भनाइ छ ।

क्यालेण्डरको कागज विक्री गर्ने कागज व्यवसायीले पनि विगतका वर्षहरु जस्तो कागज बिक्री नभएको बताउँछन् । राजधानी स्टेशनरी तथा पेपर सप्लायर्सका संचालक पुष्प तिमिल्सिनाले पनि राज्यले नै खर्च कटौति गरिरहेको अवस्थामा हरेकले खर्च कटौति गर्दा क्यालेण्डरको कागजको पनि विक्री केही घट्नु अन्यथा नभएको बताए । क्यालेण्डरको कागज तेस्रो मुलुकबाट आउने हुँदा वीरगन्जबाट छपाई पनि अन्यत्र पलायन भएको हुन सक्ने उनको तर्क छ ।

नेपालमा प्रेस संचालन गरी बसेका व्यवसायीले भने प्रेसको काजग कटिङ गर्ने एउटा छुरा पारी साँध लगाएर ल्याउँदा समेत भन्सारमा रोक्ने सुरक्षा संयन्त्रले बण्डलका बण्डल क्यालेण्डर भित्रिंदा चुप बस्नु शंकाजनक भएको छापाखाना संचालकको आरोप छ । लाखौंका तयारी अवस्थाका क्यालेण्डर नेपाल भित्र्याउँदा क्लियरिङ एजेण्डसँग मासिक र दैनिक नजराना बुझेका भरमा सीमाको सुरक्षार्थ खटेका सुरक्षाकर्मी र जिम्मेवार निकायको ध्यान नपुग्नु विडम्बना भएको उनीहरुको तर्क छ ।

क्यालेण्डर छाप्ने अर्डर शून्य
‘यो वर्ष एउटा पनि क्यालेण्डरको अर्डर आएन’ साविक छापाखानाका संचालक अंसारीले भने । अघिल्ला वर्षहरुमा कम्तिमा पनि ५० हजार थान जति क्यालेण्डर छाप्ने गरेको उनको भनाइ छ । अर्का ईसिका प्रेसका संचालक पिन्टु वर्णवालले पनि नयाँ वर्षसँगै सिजनल काम आउने क्यालेण्डरको कारोवार आधामा कटैति भएको दावी गरे । यत्रो गिरावट आउनुमा कहिं न कहिं व्यापारले सीमा नाघेको हुन सक्ने उनको पनि तर्क छ । यसमा स्थानीय प्रहरी प्रशासनको अवैध कर असुलीले पनि भूमिका खेलेको हुन सक्ने सीमा वारी वीरगन्जमा व्यवसाय गर्ने व्यवसायीको भनाइ छ ।

यता ध्यानै थिएनः सशस्त्र प्रहरी
सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीले यो बिषयमा बास्तवमा नै ख्याल नगरेको सशस्त्र प्रहरी बल गण नम्बर १३ का डिएसपी देवेन्द्र सिंहले स्वीकारे । ‘क्यालेण्डर त हो नि भनी वास्तवमा नै ख्याल गरिएको थिएन’ ‘तथ्य फरक रहेछ’, अब यो बिषयमा पनि निगरानी बढाइन्छ उनले भने । यता नेपाल प्रहरीले पनि तयारी अवस्थाको क्यालेण्डर लिएर आउने सेवाग्राहीलाई निगरानी नगरेको खुलेको छ ।

‘नेपालमा व्यवसाय बढ्नु प-यो’ भनी आवाज उठाइए पनि सीमा क्षेत्रमा अवैध बाटो प्रयोग गरी कारोवार गर्नेहरुका कारण राजश्व तिरेर, अडिट गरी वैध व्यवसाय गर्ने प्रेस र अन्य व्यवसायीहरु मारमा परेको वीरगन्ज उद्योग बाणिज्य संघको पनि भनाइ छ । सीमा सुरक्षामा खट्ने सुरक्षाकर्मीकै कमजोरीले वैध व्यापार गर्ने व्यवसायी पलायन हुने वातावरण सृजना हुनु विडम्बना भएको उद्योगी व्यवसायीहरुको छाता संगठन समेत रहेको संघको तर्क छ । संघको यो तर्क निकै तर्कपूर्ण रहेको पाइएको हो । राज्य संयन्त्र र सुरक्षाकर्मीले यो बिषयमा हेलचेक्र्याई गर्न नहुने संघको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संखुवासभामा एमाले भन्दा गठबन्धन अगाडी