सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किएका छन् । पुन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को उपाध्यक्षको भूमिकासहित सक्रिय रजनीतिमा फर्किएका हुन् ।

उनी राजनीतिमा फर्किएसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि सक्रिय राजनीतिमा फर्किन सहज भएको टिप्पणी हुन थालेको छ । सक्रिय राजनीतिमा फर्किन भण्डारीले विभिन्न राजनीतिक भेटघाट, छलफललाई जारी राखेकी छन् । भण्डारी राष्ट्रपति हुँदा पुन उपराष्ट्रपति थिए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले एमालेबाटै सक्रिय राजनीति गर्ने संकेत यसअघि नै गरिसकेकी छन् । काठमाडौंसहित पूर्वदेखि पश्चिमसम्म उनी विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छन् ।

यसअघि मोरङ पुगेकी भण्डारीले सक्रिय राजनीतिमा फर्किनैपरे आफ्नै पार्टी एमालेमै फर्किने बताएकी थिइन् । एमालेमा उनलाई फर्काउन र पार्टीको नेतृत्व लिन दबाबसमेत रहेको छ । एमालेकै नेताहरूले भण्डारीलाई पार्टीमा फर्काउन भूमिकासमेत खेलिरहेका छन् । एमालेका एक स्थायी कमिटी सदस्यले पूर्वउपराष्ट्रपति पुन सक्रिय राजनीतिमा फर्किएसँगै अब पूर्वराष्ट्रपति भण्डारी पनि सक्रिय राजनीतिमा आउने दाबी गरेका छन् ।

माओवादी केन्द्रको गत १८ र १९ चैतमा बसेको पदाधिकारी बैठकले पुनलाई पार्टीको उपाध्यक्षमा मनोनीत गरेको छ । बैठकपश्चात् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले जारी गरेको आठबुँदे सर्कुलरमा पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यमा मनोनीत गर्दै उपाध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।

प्रचण्डको प्रस्तावमा उपाध्यक्ष भएका पुन अब पार्टीको सक्रिय राजनीतिमा देशदौडाहामा जानेछन् । यसअघि पुन पार्टीको बैठकमा आमन्त्रित सदस्यको हैसियतमा बस्दै आएका थिए । आमन्त्रित सदस्यका रूपमा पार्टी बैठकमा सहभागी हुन थालेपछि माओवादी केन्द्रले पुनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज तोकेको थियो ।

यसअघि पुनलाई प्रचण्डले उपाध्यक्षमा मनोनीत गर्न लागेको विषय सार्वजनिक भएपछि आलोचना भएको थियो । त्यसपछि प्रचण्डले केही समय पर्खिंदै पुनलाई उपाध्यक्षमा मनोनीत गरेका हुन् ।

उपराष्ट्रपतिबाट बिदा भएपछि पछिल्लो समय उनी पार्टी बैठकमा सहभागी हुँदैआएका छन् । प्रचण्ड निवास खुमलटारदेखि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडासम्मको पार्टी बैठकमा पुन आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए । पछिल्लो केन्द्रीय कमिटीको बैठकमा पुनलाई उपाध्यक्ष मनोनीत गर्न लागेको भन्दै कतिपय केन्द्रीय सदस्यले असहमतिसमेत राखेका थिए । तर, प्रचण्डले नेताहरूको असहमति र पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन पुनलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डरसमेत रहेका पुन माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर पार्टी राजनीतिमा प्रवेश गरेका थिए । उनी संसदीय राजनीतिमा लागेर २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यससँगै माओवादीबाट अलग भएका उनी २०७९ सालको निर्वाचनपछि भने उपराष्ट्रपति पदबाट बाहिरिएका थिए ।

प्रदेशमा सहइन्चार्ज नहुने, विद्यार्थीको एक तह बढुवाको सिफारिस स्थगित
यसैगरी, माओवादी केन्द्रले हालका लागि प्रदेशमा रहेका सह–इन्चार्जहरूको पद नराख्ने, सह–इन्चार्ज रहेका नेतालाई प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तरता दिने सर्कुलरमा उल्लेख छ ।

गत माघमा माओवादी केन्द्रले उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटालाई सहइन्चार्ज बनाएको थियो । सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी, देवेन्द्र पराजुली र मानबहादुर बुढा, सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डीबी क्षेत्री, पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राई सहइन्चार्ज बनेका थिए ।

यसैगरी, कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, धर्मशीला चापागार्इं र सुरेशकुमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रह्लाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवान, बाग्मती प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र सालिकराम जम्मकट्टेल एवं गण्डकी प्रदेशमा हरिराज अधिकारी सहइन्चार्ज रहेका थिए ।

यस्तै, लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही, सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र बिना मगर सहइन्चार्ज बनेका थिए । अब यी सहइन्चार्जको पद नहुने भएको छ ।

माओवादी केन्द्रले सप्तरी जिल्ला इन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, महोत्तरी इन्चार्जमा प्रकाश पोखरेल, बाजुरा इन्चार्जमा मनलाल खत्री (मिलन) र जाजरकोट इन्चार्जमा गणेशप्रसाद सिंहलाई जिम्मेवारी तोकेको छ ।

यस्तै, पार्टी एकता प्रक्रियासँग जोडिएका नेताहरूको जिम्मेवारीसहित केन्द्रीय समितिमा मनोनीत गरिएको छ । जसअनुसार कोशी प्रदेशबाट जयराज लिम्बु र प्रवीण चाम्लिङलाई वैकल्पिक केन्द्रीय सदस्य, मधेश प्रदेशबाट लक्ष्मी चौधरी (ज्योति)लाई केन्द्रीय सदस्य र प्रमोद साहलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

बाग्मती प्रदेशबाट नवीन रिमाल र अर्जुन योगीलाई वैकल्पिक केन्द्रीय सदस्य, कर्णाली प्रदेशबाट तर्कबहादुर शाहीलाई केन्द्रीय सदस्य तथा भीमबहादुर मल्ल (सुवास)लाई वैकल्पिक केन्द्रीय सदस्य मनोनीत गरिएको छ । माओवादी केन्द्रले ‘विशिष्ट अवस्था’ भन्दै पूर्णसिं राजवंशीलाई केन्द्रीय सदस्य तथा पीएल श्रेष्ठ र हरिस ठकुल्लालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

यता, विगतमा विद्यार्थीसम्बन्धी कार्यदलको सिफारिसका आधारमा उनीहरूको एक तह बढुवाको सिफारिसलाई स्थगित गरी स्थानान्तरणको सिफारिसलाई स्वीकार गरिएको सर्कुलरमा उल्लेख छ । ‘उहाँहरू विगतमा जुन तहमा रहँदै आउनुभएको थियो, सम्बन्धित क्षेत्रको सोही तहका पार्टी कमिटीहरूमा संगठित गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा उल्लेख गरिएको छ ।

जसअनुसार विद्यार्थी संगठनको जिम्मेवारीबाट पार्टी राजनीतिमा प्रवेश गरेकाहरूको बढुवा रोकिएको छ । यसैगरी, विभागहरूको बैठक बसी सबै विभागलाई क्रियाशील गराउने, विभागहरूको सदस्यमा थपघट गर्नुपर्दा सम्बन्धित विभागीय प्रमुखको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने पनि केन्द्रको सर्कुलरमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू