काठमाडौं । विश्वमा पहिलो पटक अंग्रेज फौज परास्त गरेको सिन्धुलीगढी युद्धका नायक सिकारी सरदार वंशु (वंश) गुरुङको तस्बिर अंकित हुलाक टिकट बिहीबार सार्वजनिक गरिएको छ । हुलाक सेवा विभागद्वारा काठमाडौंमा आयोजित एक समारोहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटमा टाँचा लगाएर टिकट सार्वजनिक गरेका हुन् ।
१८२४ साल असोज १५ गते सिन्धुलीगढीमा अंग्रेजसँग भएको युद्धमा गोर्खाली फौजको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै सिकारी सरदार वंशु (वंश) गुरुङले अंग्रेज फौज परास्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विश्वमा पहिलो पटक पराजय भोगेको सिन्धुलीगढी युद्धका नायक सिकारी सरदार वंशु (वंश) गुरुङको योगदानको सम्मान गर्दै उनको तस्बिर अंकित १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरिएको हो ।
लमजुङको कपुरगाउँमा जन्मिएका सिकारी सरदार वंशु (वंश) गुरुङ बसाई सरेर तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुर पुगेका थिए । उनी लेम (लाम्छाने) खलकका हुन् । हुलाक टिकटकमा टाँचा लगाउँदै मन्त्री गुरुङले सिकारी सरदार वंशु (वंश) गुरुङले नेपालको भूगोल बचाउन अतुलनीय योगदान गरेको चर्चा गर्दै राष्ट्रिय विभूति घोषणाका लागि योग्य व्यक्तित्व भएको बताए । बेलायती साम्राज्यवादलाई तत्कालीन अवस्थाको संसारमा कसैले हराउन नसकेको अजयशक्ति सिन्धुलीगढी युद्धमा पराजित भएको भन्दै मन्त्री गुरुङले सिन्धुलीगढीको युद्धलाई अनुपम र ऐतिहासिक बताउन वीर योद्धा वंशु गुरुङहरूको भूमिका सराहनीय रहेको स्पष्ट पारे । सो अवसरमा मन्त्रालयका सचिव राधिका अर्याल, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी, सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्षलाई सरकारको तर्फबाट सम्मानसमेत गरिएको थियो ।
प्रतिष्ठानको तर्फबाट आफ्नो पुर्खाको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेकोमा आभार व्यक्त गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । विश्वमा कहिल्यै नहारेको अंग्रेज फौजलाई परास्त गर्न योगदान गरेका सिकारी सरदार वंशुलाई नेपाल बचाउने बाजे भनेर समेत चिनिन्छ । उनको योगदानलाई चिरस्थायी बनाउन वंशुका सन्ततिले तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरमा २०७६ सालमा सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान गरेका छन् । सो प्रतिष्ठानले ढोर जस्पुरमा २०७८ सालमा वंशुको अर्धकदको सालिक समेत निर्माण गरेका छन् ।
त्यस्तै युद्धस्थल सिन्धुलीगढीमा नेपाल सरकारबाट पूर्ण कदको सालिक निर्माण गर्नुका साथै युद्ध संग्रहालय समेत निर्माण गरिएको छ । अंग्रेज फौजलाई पराजय गरेर नेपाललाई वैदेशिक आक्रमणबाट बचाएर नेपालको अस्तित्व जोगाउन महत्वपूर्ण योगदानको कर्दै हुलाक टिकट प्रकाशन माग गरेर प्रतिष्ठानले मन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए ।
मन्त्रालयले चैत १७ गते वंशुको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । आफ्ना पुर्खाको सम्मानका लागि प्रतिष्ठानले हरेक वर्षको असोज १५ गते सिन्धुलीगढी विजयोत्सव ढोर जस्पुरमा मनाउँदै आएको छ । त्यस्तै, सिन्धुलीगढीमा आयोजना गरिने विजयोत्सवमा हरेक वर्ष उत्साहजनक सहभागिता जनाउँदै आएको छ । त्यस्तै, बेलायतमा बसोबास गर्ने बंशुका सन्ततिले प्रतिष्ठानको बेलायत शाखा गठन गरेर भव्य रूपमा आयोजना गरिने नेपाली मेलामा वंशुका योगदान झल्कने प्रदर्शनी गर्दै आएको संयोजक लेख गुरुङले जानकारी दिए ।