भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधारको संरक्षण क्षेत्र थालेको छ ।मानविय क्रियाकलापका कारण प्राकृतिक रुपमा उम्रिएका मुहान सुक्न नदिन गाउँपालिकाले जलाधार क्षेत्रको संरक्षण थालेको हो ।
गाउँपालिकाले नेपाल जलवायु अनुकुलन कार्यक्रम अन्तर्गत वडा नं ३ भुल्केमा रहेका ठूला दुई वटा मुहानको संरक्षण गरेको छ । यहाँ यो कार्यक्रम अन्तर्गत २५ लाख बजेटबाट पाँचधारे र तीनधारे मुहानको संरक्षणसँगै आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिए । संरक्षण गरिएका मुहानहरु खानेपानीसँगै सिंचाईको लागि प्रयोग भईरहेको उनको भनाइ छ ।
‘हामीले यहाँका विभिन्न जलाधार क्षेत्रको संरक्षण गरिरहेका छौँ’वडाध्यक्ष थापामगरले भने,‘प्राकृतिक प्रकोपसँगै मानविय क्रियाकलापका कारण धेरै मुहानहरु सुक्दै गएको अवस्था पनि छ । मुलहरुको संरक्षणको लागि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।’
जलाधार क्षेत्रको संरक्षणसँगै सो कार्यक्रम अन्तर्गत दुई सय मिटर सिंचाई कुलो निर्माण, विश्राम स्थल निर्माण, मुहानको घेराबारा, सौचालय निर्माणलगायतको काम गरिएको उनको भनाइ छ । भईरहेका मुहानलाई भविष्यमासमेत सुक्न नदिनको लागि रिचार्ज पोखरी निर्माण गरिएको वडाध्यक्ष थापामगरको भनाइ छ ।
जलवायु परिवर्तका कारण विश्वमा धेरै खालका असर देखिन थालेकोले जलाधार क्षेत्रको संरक्षण तथा विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। गाउँपालिकाले यहाँ रहेका मुहानहरुको खोजी तथा पहिचान गरेर संरक्षणको काम गरिरहेको अध्यक्ष राईको भनाइ छ । नेपाल जलवायु अनुकुलन कार्यक्रममार्फत प्राप्त बजेटलाई पर्यावरणको संरक्षण तथा विकासमा खर्च गरिएको उनको भनाइ छ ।
‘हामीले जलाधारसँगै प्राकृतिक रुपमा रहेका मुहानहरुको संरक्षण गर्न आवश्यक छ’ अध्यक्ष राईले भने,‘यस्ता क्षेत्रको संरक्षण गर्न सकिएन भने भविष्यमा ठूलो संकट आउन पनि सक्छ। हामीले दीर्घकालिन सोचका साथ जलाधार क्षेत्रको विकास र संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’
भुल्के क्षेत्रमा रहेका मुहानहरुलाई सुक्न नदिनको लागि संरक्षण गरिएको अध्यक्ष राईको भनाइ छ । सडक विस्तार तथा अन्य मानविय क्रियाकलापको कारण मुहानहरु सुक्ने भएकाले यसमा गाउँपालिका सचेत रहेको उहाँले बताउनुभयो ।
यहाँको पाँचधारे, तीनधारे मुहानको संरक्षणको काम सम्पन्न भएको स्थानीयबासी तथा वडासदस्य टेकराज भट्टराईले बताए । यो क्षेत्रको एउटै सतहमा रहेका ठूलो मुहान र लम्साल मुहानको पनि वडाले यस अघि संरक्षण गरेको उनले जानकारी दिए ।
स्थानीय सरकारले जलाधार क्षेत्रको संरक्षणको लागि भुल्के क्षेत्रमा गरिरहेको काम राम्रो रहेको स्थानीयबासी प्रकाश बानियाले बताए । मुहानहरुलाई सुक्न नदिनका लागि रिचार्ज पोखरी निर्माणले पनि मुहानको संरक्षण थप सहयोग पुगेको उनको भनाइ छ । विगतमा मुहानको संरक्षण नहुँदा धेरै समस्या रहेको भएपनि अहिले संरक्षण गरिएपछि स्थानीयबासीलाई सहजता भएको उनले बताए ।






