उदयपुर । सात महिनापछि परेको वर्षाले खोलामा बाढी आउँदा निर्माणधिन पक्की पुल भाँचिएको छ । उदयपुरको कटारी नगरपालिका–२ सिद्धिचरण लोकमार्गस्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भाँचिएको हो । बुधबार राति परेको वर्षापछि अमाह खोलामा बाढी आउँदा निर्माणाधीन पक्की पुल भाँचिएको जनाएका छन ।
२० दिन अघि मात्रै सो पुल ढलान गरिएको थियो । रातिको बाढीले ढलान गरेको पुलको टेका बगाएपछि पुल लच्किएको हो । मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्रप्रसाद महतोका अनुसार ढलान गर्दा पुलमा लगाइएका टेकाहरू बाढीका कारण भासिँदा पुल लच्किएको हो । मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालय मार्फत सूर्या एन्ड सन्स इटहरीले सो पुल निर्माणको जिम्मा लिएको थियो । बीचमा पिल्लर नै नभएको ५० मिटरको प्री स्टेस ( बक्स अर्डर ) पुल २९ असार २०७९ मा सम्झौता भएको थियो । सो पुल सहित ४ वटा पुल २९ असोज २०८२ मा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
२ सय ५० मिटर लामो ४ वटा पुल सम्पन्न गर्ने गरी २८ करोड ९९ लाख ५२ हजारमा सम्झौता भएको महतोले जानकारी दिए । सो निर्माण कम्पनीले सिमानपुर, ताराघारी, खोक्सा र गिद्दबर गरेर जम्मा ४ वटा पुल निर्माणको जिम्मा लिएको थियो । ७ चैतमा सो पुलमा ढलान गरिएको थियो टेको भासिँदा स्ल्याब ढलेको हो । बीच बोर्डरमा केबल हुने हुँदा २८ दिनमा मेसिनले तानेर लक गर्नु पर्ने हुन्छ । त्यसपछि मात्र लोड लिन्छ,’ इन्जिनियर महतोले भने, ‘बाढीका कारण टेकाले आफ्नो स्थान छाड्दा पुल लच्किन पुगेको हो । उनका अनुसार अहिलेको संरचना हटाएर अर्को पुल बनाउनु पर्ने हुन सक्छ ।
निर्माण सम्पन्न नहुँदै पुल भाँचिएपछि स्थानीय आक्रोशित भएका छन् । सरकारी निकायको लापरबाहीले पुल भाँचिएको स्थानीय नवराज बास्तोलाले आरोप लगाए । समय समयमा पुलको अनुगमन गरिको भए आज यो अवस्था नआउने उनको आरोप छ । कमसल निर्माण सामग्री प्रयोग भएकै कारण पुल भत्किएको हुन सक्ने आशंका स्थानीयको छ ।
मिर्चैया – कटारी सडक खण्ड अन्र्तगत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए । सिमानपुरस्थित अमाहा खोलामा प्रिस्टेड प्रविधि अन्तर्गत निर्माण भइ रहेको पुल बाढीका कारण भाँचिएर क्षतिग्रस्त बनेको वडाध्यक्ष क्षेत्रीले बताए । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईका अनुसार पुल भत्किंदा अन्दाजि दुई करोडको क्षति पुगेको अनुमान गरिएको छ । “प्रारम्भिक अनुमानमा दुई करोडको क्षति पुगेको छ अर्को बनाउनुको विकल्प देखिएको छैन् ,”उनले भने ।
मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको २० दिन मात्रै भएको थियो । “त्यहाँ राखिएका तारहरु २८ दिनपछि तन्काउनु पर्ने हुन्थ्यो तर बाढीले क्षति पु¥यायो । ईन्जिनियर साहले भने,“यसको ईन्स्युरेन्स हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ । ५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल मुनि लगाइएको हृयुमपाइप थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ । निर्माण कम्पनीको लापरबाहीले पनि निर्माणधिन पुल भाँचिएको हुन सक्ने स्थानीयबासीले आरोप लगाएका छन ।
लामो समय देखि पानी नपरि राखेको अवस्थामा पानी पर्छ भन्ने हेक्का नहुनु र बाढी आउँदा निकास दिने होम पाइप सानो राख्नुले पनि पुल भत्किएको हो ।