सिन्धुली । सिन्धुली कला घरको आयोजनामा कमलामाई नगरपालिका वडा नं. ३ चपौलीमा राष्ट्रिय कला महोत्सव सुरु भएको छ । एक सातासम्म चल्ने महोत्सवको विहिबार वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले कला महोत्सवको उद्घाटन गरेका छन । लामाले महोत्सवको उद्घाटन गर्दै कला र संस्कृति संरक्षणमा बागमती प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन । कला महोत्सवले कला र संस्कृतिको उजागर गर्ने विश्वास समेत व्यक्त गरे ।
मौलिक कला संरक्षण गर्ने, कला घर निर्माणको महाअभियानमा हातेमालो गर्ने, कला सिर्जनाको आविश्कार केन्द्र तथा सांस्कृतिक विद्यालयको रुपमा कलाघरलाई विकास गर्ने, कलाकारहरुको आश्रमको रुपमा कलाघरलाई विकास गर्ने उद्देश्यले महोत्सव सुरु भएको हो । महोत्सव बैशाख ३ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवमा रैथाने संस्कृति, रैथाने खाना र रैथाने खेललाई प्रवद्र्धन गर्ने गरि स्टलहरु राखिएको छ साथै विभिन्न जातजातीका झाँकी, मौलिक संस्कृति झल्कने पोशाकहरु, अर्गानिक खानेकुराहरु लगाएतका स्टलहरु राखिएको छ ।
नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔं, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटनमा नेवार, दनुवार, सुनुवार, तामाङ लगाएत जातजातीको झाँकी, खैजडी भजन, पञ्चेवाजाका प्रस्तुतीहरु राखिएको थियो । महोत्सवमा विभिन्न जातीय कला, संस्कृति, पोषाक, परिकार र झाँकी प्रदर्शन गरिएको छ । जातीय पहिचान झल्कने पोशाक लगाएर फोटो खिच्न पाउने व्यवस्था समेत गरिएको छ ।
नेपाली मौलिक परम्परा झल्कने घरका नमुना, मौलिक परिकारहरु समेत महोत्सवमा राखिएका छन । यस्तै हस्तकला, चित्रकला, मूर्तिकला लगाएतका कलाको प्रदर्शन समेत गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय नृत्य, गायन, चित्रकला लगाएतका प्रतियोगिताहरु महोत्सवको अवधिमा गरिने छ । मार्शल आर्टका विभिन्न खेलहरु हुने छन । स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री वितरण पनि महोत्सवमा गरिने छ ।

राष्ट्रिय कलाकारहरुको प्रस्तुतिहरु पनि राखिएको छ । स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरु, प्रमुखहरुको उपस्थिति रहेको छ । कला महोत्सवमा सहभागि हुनेले कलाघर निर्माणमा सहयोग गर्न, कला दान गर्न सक्ने व्यवस्था गरिएको छ ।
विशेषगरि कलाघर र सिन्धुलीगढीलाई जोडेर प्रचार प्रसारमा समेत सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । पाँच दिनमा जिल्ला र जिल्ला बाहिरका गरि १० हजारभन्दा बढी दर्शकले कला महोत्सवको अवलोकन गर्ने आँकलन कलाघर सिन्धुलीको छ । कला महोत्सव हेर्नका लागि १ सयको टिकट राखिएको छ । यहाँका कलाहरुको अवलोकन, प्रचार प्रसार र प्रवद्र्धनमा महोत्सव फलदायी हुने विश्वास लिईएको कलाघरका संयोजक सुमन थापा मगरले बताए । उनका अनुसार महोत्सव आयोजना गर्न १० लाख लागत लाग्ने अनुमान गरिएको छ ।
महोत्सव सम्पन्न गर्न जिल्लाका नौ वटै स्थानीय तहसँग समन्वय सहकार्य गरिएको छ । स्थानीय संघसंस्था, सुरक्षा निकाय, स्वास्थ्य संस्थाहरु, व्यवसायीहरु, खेलकुद, कलासँग सम्बन्धित संघसंस्थाहरु लगाएतसँग सहकार्य गरिएको छ । महोत्सवमा शुक्रबारदेखि सिन्धुली अस्पतालले स्वास्थ्य परिक्षणको काम समेत गर्नेछ ।

कला महोत्सवको उद्घाटनमा कलाघर निर्माण अभियानका कलाकारहरु र उनीहरुका अभिभावकलाई सम्मान गरिएको छ । कार्यक्रममा कलाघरलाई स्थापनाकालदेखि आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने संघसंस्था, सरकारी निकायलाई सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
यस्तै कला महोत्सवमा कलादान अभियान सञ्चालन गरिने छ । क्षेत्रगत आधारमा सिन्धुली जिल्लामा क्रियाशिल मौलिक झाँकी संस्कृति समूहहरुलाई सम्मान समेत गरिने छ । पुराना मौलिक संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गरि महोत्सव गरिने छ । महोत्सवमा संविधानसभा सदस्य मोहन प्रसाद बराल, बागमती प्रदेशसभा सदस्यहरु छेत्रबहादुर बम्जन, रामकुमार पहाडी, कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, जनप्रतिनिधिहरु, जिल्लाका सुरक्षा प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरु, पत्रकारहरु, स्थानीयहरु, कलाकारहरु लगाएतको सहभागिता रहेको थियो ।