स्याङ्जा । स्याङ्जामा आँखामा लाग्ने मोतियाबिन्दु रोगीहरु बढेको फेला परेको छ । दुई पालिकाले निशुल्क आँखा जाँच शिविर संचालन गर्दा मोतियाबिन्दु रोगीहरु धेरै फेला परेका हुन् । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र पालिकाहरुको समन्वयमा आयोजना गरिएको मोतियाबिन्दु रोगको स्क्रिनिङ शिविरबाट २ सय १६ जनामा यो रोग देखिएको छ ।
वालिङ नगरपालिकाले चैत्र २५ गतेदेखी ३१ गतेसम्म र अर्जुनचौपारी गाउँपालिकाले ३० र ३१ गते निशुल्क आँखा जाँच शिविर गरेका थिए । शिविरबाट वालिङ नगरपालिकामा १ सय ९० र अर्जुनचौपारी गाउँपालिकामा २६ जनामा मोतियाबिन्दु रोग देखिएको जनाएका छन् । यो शिविरमा जाँच गर्न आउनेको संख्याको आधारमा हेर्दा मोतियाबिन्दु रोगीको संख्या अझै हुनसक्ने अनुमान पालिकाहरुले लगाएका छन् ।
अर्जुनचौपारीमा भन्दा यो पटकको शिविरमा वालिङमा धेरैको संख्यामा मोतियाबिन्दु रोगी फेला परेको हिमालय आँखा अस्पतालले जनाएको छ । वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमलप्रसाद पाण्डेका अनुसार शिविरमा १ हजार ३ सय ७९ जनाको आँखा परिक्षण गरिएको जानकारी दिए । महिला ९ सय १५ र पुरुष ४६४ जनाको शिविरबाट आँखा परिक्षण गर्दा १ सय ९० जनामा मोतियाबिन्दु रोग देखिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । मोतियाबिन्दु रोग देखिएका बिरामीको निशुल्क शल्याक्रिया हुने पाण्डेले बताए ।

आँखा मानिसको संवेदनशिल अंग हो स्वास्थ्य शाखा प्रमुख पाण्डेले भने,‘शिविरबाट धेरैजनामा मोतिबिन्दु रोग देखिनु राम्रो संकेत होइन ।’ यसको न्युनिकरण गर्न अव ६÷६ महिनामा आँखा शिविर राख्नुपर्ने देखियो पाण्डेले भने । बिशेष गरेर उमेर ढल्केपछि ६÷६ महिनामा आँखा जाँच गराउनुपर्छ तर ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीमा आँखाको उपचार गर्ने सहज पहुँच नभएकाले यो समस्या देखिएको पाण्डेको अनुमान छ । यसको नगरपालिकाले नीतिगत निर्णय गरेर नागरिकलाई आँखामा देखिने मोतिबिन्दु रोगको न्युनिकरणमा लाग्नुपर्ने सुझाव पाण्डेको छ ।
वालिङमा लामो समयदेखी गह्रौ नगर अस्पतालमा आँखाको छुट्टै डाक्टर राखेर सेवा दिदै आएको छ । तर समयमै आँखा जाँच गराउन नागरिकले चासो नदिदा ग्रामिण क्षेत्रमा मोतियाबिन्दु रोगीहरुको संख्या बढेको छ । नगरपालिकाले बेला—बेलामा आँखा शिविर आयोजना गर्दै आएको वालिङ नगर प्रवक्ता पदमराज गुरुङ्ले बताए । यो पटकको शिविरले हाम्रो ध्यानाकर्षण गराएको छ प्रवक्ता गुरुङ्ले भने,‘आगामी बजेटमा नीतिगत निर्णय गरेर समस्या समाधानतर्फ लाग्ने छौं ।’ प्राविधिक स्वास्थ्यकर्मीहरु सगँ छलफल र परामर्स शुरु गरेर यो समस्या समाधान गर्ने तर्फ लाग्ने गुरुङ्ले बताए । नागरिकको स्वास्थ्यमा स्थानीय सरकारको चासो रहने र समाधानमा लाग्ने प्रयत्न हुने उनले बताए ।
अर्जुनचौपारी गाउँपालिकाले शिविरबाट मोतियाबिन्दु रोग देखिएका नागरिकलाई निशुल्क शल्याक्रियाका लागि सघाउने भएको छ । दुवै पालिकामा भएको शिविरबाट फेला परेका मोतियाबिन्दुका रोगीहरुको वालिङको गह्रौ प्रथामिक अस्पतालमा बैशाख ६ र ७ गते हिमालय आँखा अस्पतालको सहयोगमा निशुल्क शल्याक्रिया हुदैछ । अर्जुनचौपारीले मोतियाबिन्दुको शल्याक्रियामा आउन र लैजान निशुल्क सवारीसाधनको व्यवस्था समेत गरिदिएको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । आँखाको बेला—बेलामा जाँच गरेर मोतियाबिन्दु रोगबाट बच्न आँखाका चिकित्सकहरुले सुझाव दिएका छन् ।