इलाम । नयाँ वर्ष २०८२ सालसँगै नेपालका लागि विभिन्न १५ देशका राजदूत इलाममा आएका छन् । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजनामा उनीहरू इलामको सूर्योदय नगरपालिकामा आएका हुन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिवसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदूतसहित ४५ जनाभन्दा बढी उच्च तहका पदाधिकारी इलाम आइपुगेको सूर्योदय नगरपालिकाले जनाएको छ ।
कसरी बित्दै छ उनीहरूको दिनचर्या ?
नगरपालिकाले कन्याममा स्वागत गरेर अन्तुमा बास बसाउँदै आएको छ । कन्याममा परराष्ट्रमन्त्री राणासहित विभिन्न मुलुकका राजदूतलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । उनीहरूलाई विभिन्न जातजातिको वेशभूषामा कन्यामको लभडाँडासम्म घोडामा यात्रा गराइएको थियो । जातीय पोसाकमा सजिएर राजदूतले कन्यामको परिक्रमा गरे । मन्त्रालयले नेपालमा रहेका विभिन्न देशका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यक्रमअनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।
अन्तुमा सूर्योदयको दृश्यावलोकन
नयाँ वर्ष २०८२ सालको अवसरमा इलाम आइपुगेका १५ देशका राजदूतलाई श्रीअन्तुमा सूर्योदयको दृश्यावलोकन गराइएको छ । दृश्यावलोकनसँगै राई, लाप्चा र नेवारी नृत्यसहित साकेला नाच, झाक्री नाचले स्वागत गर्दै अन्तुमा चिया टिपाइको अनुभव, अन्तु पोखरीमा फिसिङ (माछा मार्ने) चिज टेस्टिङ, अलैंची टेस्टिङ गराउने र इलाममा उत्पादन भएका चियाका विभिन्न टेस्टसमेत लिएका छन् । इजिप्ट, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका, बंगलादेश र इसिमोडलगायतका राजदूत आएको नगरपालिकाले जनाएको छ ।

चिया टिप्दै राजदूत
सूर्योदय नगरपालिकाको अन्तुमा आएका राजदूतले अन्तुमा रहेको चिया बगानमा चिया टिपेर अनुभव लिएका छन् । राजदूतहरूले चिया बोक्ने डालो भिरेर चिया टिपेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सबै राजदूतका लागि यो फरक अनुभव भएको बताए । राजदूतहरूले टिपेको चिया जोखेर नामसहित राखिएको छ र उनीहरूले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरूलाई नै पठाइने नगरप्रमुख राईले बताए ।
‘इलामको चिया चिनाउनका लागि हामीले यो प्रयास गरेका हौं,’ राईले भने । अस्ट्रेलियाका राजदूत लेनान जोनस्टनले नेपाली चिया पिउन पाए पनि बोटमै आएर चिया टिप्ने अनुभव भने लिन नपाएकामा त्यो समेत आज पूरा भएको बताए । अस्ट्रेलियन राजदूत जोनस्टनको भनाइ उद्धृत गर्दै नगरप्रमुख राईले भने, ‘यति सुन्दर ठाउँको चिया विश्व बजारमा लैजानका लागि हाम्रो पनि कोसिस हुनेछ ।’ सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजना फिक्कलले विभिन्न १६ जातका चिया टेस्टिङ गराएको हो ।
नेपाली चिया विश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेस्टिङको कार्यक्रम राखिएको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले बताए । ब्ल्याक टी, अर्थोडक्स ग्रीन टी, उलङ टी, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिए । अन्तुमै दूधको परिकार चिज र अलैंची टेस्टिङसमेत गराइएको थियो ।

फिसिङ र डुंगा सयर
राजदूत भ्रमणअन्तर्गत सोमबार अन्तु पोखरीमा राजदूतलाई डुंगा सयर गाउनुका साथै माछा समात्ने (फिसिङ) पनि गराइएको छ । परराष्ट्र मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार अनौपचारिक भ्रमणअन्तर्गत इलामको अन्तु आइपुगेका राजदूतहरूले अन्तुमा डुंगा सयर र माछा मारेर मनोरञ्जन गरेका हुन्, जसमा इजिप्ट, दक्षिण कोरिया, यूके, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका, बंगलादेश र इसिमोडका राजदूत सहभागी भएका थिए । राजदूतहरूको भ्रमण आजसम्मको रहेको छ ।
मुलुकको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको विकास र समृद्धिको आधार पर्यटन रहेको बताइन् । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार रहेको भन्दै मन्त्री राणाले नयाँ वर्षले नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने बताइन् । मन्त्री राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृंखलाको पनि प्रशंसा गर्दै इलामका चियाफाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिकाको चर्चा गरिन् । उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह गरिन् ।