‘ढडिया थापिदेऊ है साइँला, बल्छी थापिदेऊ ।
माछी भई म आउनेछु जाल हानिदेऊ ।।
यी सुन्दर हरफका संगीत नसुन्ने सायदै कम होलान् । संगीतका शब्दमा जति मिठास छ, त्यति नै मिठास छ बडरे र तावा खोलामा माछा मार्नेहरूका लागि । खोला किनारामा बस्ने मानिस दैनिकजसो खोलामा पुग्छन्, अनि कोही जाल हान्छन् त कोही ढडिया थाप्छन्, कोही दुवाली । कोही–कोही माछा मार्नका लागि सोलारको ब्याट्री बोकेर साँझपख खोलामै पुग्छन् र करेन्ट लगाएर थुन्सेभरि माछा मार्छन् । तर, यसलाई रोक्न भने कसैको चासो छैन ।
वर्षाको समय सकिएलगत्तै खोलामा प्रशस्त माछा पाइने भएपछि उदयपुरको उदयपुरगढी गाउँपालिकाको बर्रे, तावाश्री, कटारी नगरपालिकाको रिस्कुलाई छोएर बग्ने तावा, वैद्यनाथ, ककरू, बडरेलगायतका खोलामा सामूहिक माछा मार्ने क्रम बढेको छ । यहाँका कतिपय किसान, मजदुर तथा स्थानीयको पेसा नै माछा मार्ने रहेको छ । माछा सुकाएर सिद्रा बनेपछि प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री हुने भएपछि स्थानीयहरू यसतर्फ आकर्षित भएका हुन् ।
घरमा खानका लागि पनि हुने र सुकाएर सिद्रा बनाएर बेचेपछि पैसा पनि कमाइने भएपछि माछा मार्ने क्रम बढेको स्थानीयवासीको भनाइ छ । यसरी मारिने माछामा सानो माछालाई सिद्रा र ठूलोलाई भोटी माछा भन्ने गरिन्छ । वर्षाको समयमा खाल्डो परेका भागहरूमा पानी जम्ने र पानी भएका ठाउँमा आफैं साना माछा उत्पादन हुने गर्छ ।
बर्रेको बडरे, तावालगायतका खोलाहरूमा बढी मात्रामा झिंगे, बुदुना, काभ्रे, गडेरा, बागी, पोटी, हिलेलगायतका माछा पाइने गरेको स्थानीयवासी भीमलाल तामाङले बताए । यी माछा मार्नका लागि दिनहुँजसो स्थानीयको खोलामा भीड लाग्ने गर्छ । कतिपयले रोजीरोटीका लागि आफ्ना छोराछोरीलाई विद्यालय नै नपठाई माछा मार्न लगाउने गरेका छन् ।
बिक्रीका लागि समस्या नभएपछि स्थानीयहरू अन्य काम नै छोडेर भए पनि बिहानैदेखि माछा मार्न खोला पस्ने गरेका छन् । मारेको माछा कतिपयले गाउँमै बिक्री गर्ने गर्छन् भने कतिपयले कटारीसम्म ल्याउने गरेको स्थानीय मरिन माझी बताउँछन् । पछिल्लो समय रोजीरोटीको भरपर्दो माध्यम माछा नै रहेको उनको भनाइ छ । कतिपय सामुदायिक वन समूहले आफ्नो हाताभित्र माछा मार्न प्रतिबन्ध लगाए पनि पेसेवर व्यापारीले अटेर गर्दै लुकीछिपी रातको समयमा माछा मार्ने गरेको स्थानीय बताउँछन् । खोलामा पस्न प्रतिबन्ध लगाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा सो नीति कमजोर बन्दै गएको स्थानीयको भनाइ छ । यो क्रम नरोकिने हो भने खोलाका माछा नै लोप भएर जाने स्थानीयको गुनासो छ ।