धनगढी । कैलालीको गेटा अस्पतालमा १ सय ४१ जना कर्मचारीको अस्थायी दरबन्दीको संरचना १६ असोज २०८० को मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशकसहितका केही कर्मचारी गेटामा अस्पताल सञ्चालनका लागि पठायो ।
गेटामा १ कात्तिक २०८० बाट ५० शøयाको अस्पताल सञ्चालनमा आएको छ । तर, चालू आर्थिक वर्षमा अस्थायी दरबन्दी स्वीकृत गरिएको छैन । आवको ९ महिना पूरा हुँदा पनि १ सय ४१ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत नभएको हो । गेटा अस्पतालका निर्देशक प्रमोद यादवले अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत नभएको बताए । उनले भने, ‘स्वीकृत भएको छैन, १ सय ४१ जनाको स्वीकृत भएको छैन, मन्त्रालयमा फाइल छ, डडेलधुरा, सुशील कोइरालालगायतको पनि आएको छैन, ढिलो भएको छ, केही दिनमा आउँछ होला ।’
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा नेपाल सरकारले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल सरकारले ६ सय शøयाको अस्पतालसहितको चिकित्सा शिक्षाको सेवा विस्तार गर्ने लक्ष्य लिएका बेला पुरानै अस्थायी दरबन्दीसमेत हालसम्म स्वीकृत नभएको हो ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतमा अस्पताल सञ्चालनमा रहेको भए पनि दरबन्दी स्वीकृत नभएको हो । ‘जनशक्तिको अभावले पूर्ण सञ्चालनमा छैन, हाम्रो लक्ष्य ६ सय शøया हो, हामीले ५० शøयामा पनि सञ्चालन गर्न सकेका छैनौं, उनले भने, ‘हामी विशेषज्ञ सेवामा केन्द्रित छौं, सेतीमा नभएको सेवा दिने योजनामा हामी छांै ।’
गेटा अस्पतालको अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत नभएकाले सेवा विस्तारमा समस्या भएको छ । गेटा अस्पतालले बिरामी भर्ना तथा २४सै घण्टा नै आकस्मिक सेवा विस्तार गर्न नसकेको हो । गेटा अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सक छन् । २० जना नै नर्सिङ कर्मचारी छन् । अस्पताल सञ्चालनका लागि १ सय ४१ जना जनशक्ति गत वर्ष मन्त्रिपरिषद्ले स्वीकृत गरेकामा हाल ९३ जना मात्र छन् । गेटा अस्पतालमा जनशक्तिको अभाव रहेकाले सेवा विस्तारमा समस्या भएको हो । गेटा अस्पतालका निर्देशक प्रमोद यादवले मुटुरोगको उपचार सेवा सुरु गरेको बताए ।
कैलालीको गेटामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झन्डै ७ अर्ब रुपैयाँका भौतिक संरचना निर्माण गरेको छ । नेपालमा नै पहिलो शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐन निर्माणको चरणमा रहेको छ ।