काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न संयुक्त अरब इमिरेट्स (यूएई) तत्पर रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र यूएईका स्वास्थ्य विभागका अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीबीच भएको भेटवार्तामा मन्सुरीले यस्तो बताएका हुन् ।
एमओयू सम्झौता हुँदै
अबुधावीमा आयोजना भएको अबुधावी विश्व स्वास्थ्य सप्ताह २०२५ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल यूएईका स्वास्थ्य विभागका अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीबीच भेटवार्ता भएको छ । सो भेटवार्तामा नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न यूएई सरकार तत्पर रहेको मन्सुरीले बताएका छन् ।
स्वास्थ्य विभागका अध्यक्ष अल मन्सुरीले दुई देशबीच एमओयू सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्नआवश्यक रहेको बताए । यूएईमा रहेका नेपाली श्रमिकको प्रशंसा गर्दै स्वास्थ्य विभागका अध्यक्ष अल मन्सुरीले नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन यूएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेको बताए । तर, त्यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानुनी आधार तयार हुन आवश्यक रहेको समेत बताए ।
भेटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले यूएई सरकारले आफूलाई भ्रमणका अवसरमा प्रदान गरेको स्वागत तथा आतिथ्यताप्रति कृतज्ञता प्रकट गर्दै यूएईमा ठूलो संख्यामा नेपालीहरू कार्यरत रहेको र यूएई नेपालीहरूका लागि एक प्रमुख गन्तव्य रहेकाले नेपालीहरूको हित र सुरक्षित रोजगारीका लागि स्तरीय तालिम उपलब्ध गराउने विषयमा यूएई सरकारलाई सहयोग गर्न आग्रहसमेत गरे ।
साथै, उनले नेपाल सन् २०२६ मा एलडीसीबाट स्नातक हुने प्रक्रियामा रहेको र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्न प्रतिबद्ध रहेकाले यूएई सरकारको सहयोगका लागि आग्रह गरे । स्वास्थ्य क्षेत्रको विकासमा यूएई सरकारको सहयोगको अपेक्षा गर्दै उनले नेपाल स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिका आधारमा युनिभर्सल कन्भर्ज सिस्टमभित्र स्वास्थ्य बिमा प्रणाली लागू गर्ने बताए ।
नेपालमा मिर्गौला डायलाइसिस केन्द्र स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्नसमेत यूएई सरकारलाई आग्रह गरे । मन्त्री पौडेलले अबुधावी विश्व स्वास्थ्य सप्ताहका विभिन्न फोरममा सहभागिता जनाएका छन् ।
यसअघि सो सम्मेलनका विभिन्न बैठकमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले दूतावासका तर्फबाट सहभागिता जनाएका थिए । विश्वका ९० देशका १ हजार ९ सय प्रतिनिधि सहभागी भएको यस सम्मेलनमा विभिन्न देशका २ सय विशेषज्ञ वक्ताको सहभागिता थियो भने विश्व स्वास्थ्यसम्बन्धी ठूलो संख्यामा प्रदर्शनी स्टलहरू राखिएको थियो ।
प्रत्येक वर्ष आयोजना हुने अबुधावी विश्व स्वास्थ्य सप्ताह सम्मेलनले आपसी सहकार्य, सहयोग, आधुनिक प्रविधि र दिगोपनको प्रयोगमार्फत विश्व स्वास्थ्य कल्याणको केन्द्रका रूपमा नेतृत्वदायी प्लेटफर्म प्रदान गर्ने कार्य गरिरहेको छ । मन्त्री पौडेलले यूएईमा २० अप्रिलमा आयोजना हुने नेपाल फेस्टिभल २०२५ मा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।