काठमाडौै । नेपाली चलचित्रको कुनै यस्तो पनि समय थियो । त्यति बेला सम्बन्धित चलचित्रले ५१ दिन मनाउँदा निर्माताको झोलीमा राम्रो मुनाफा आउँथ्यो । तर यति बेला एउटा चलचित्रले ५१ दिन मनाउँदा पनि निर्माताको लागत नउठेर सो चलचित्र नै फ्लप भएको अवस्था आएको छ ।
गत १४ फागुनबाट देशव्यापी चलचित्र घरमा रिलिज भएको नेपाली चलचित्र ‘लाज शरणम्’को हालत यस्तै भएको छ । यो चलचित्रले बिहीबार आफ्नो प्रदर्शनीको ५१ दिन मनाएको छ । तर व्यावसायिक रूपमा भने यो चलचित्रले चलचित्र घरबाट आफ्नो लगानी उठाउन सकेन । ५१ औँ दिन मनाएर पनि चलचित्र फ्लप भएको रेकर्ड यति बेला लाज शरणम्ले बनाएको छ ।
निर्माण पक्षका अनुसार चलचित्र लाज शरणम् ४ करोड रुपैयाँको लगानीमा निर्माण भएको हो । यो चलचित्रले रिलिज भएको छैटौँ हप्तामा नेपालमा चार करोड ३४ लाखको व्यापार गरेको थियो । सातौँ हप्ता पुग्दा चलचित्रको व्यापार ४ करोड ६० लाख रुपैयाँ पुगेको बक्स अफिस रिपोर्टमा देखिन्छ । चलचित्र घरमा यो चलचित्रले अहिले गरेको व्यापार हेर्दा कर काटेर निर्माताको हातमा २ करोड रुपैयाँ पर्ने देखिन्छ ।
यसरी यो चलचित्रले बिहीबार विभिन्न १३ वटा चलचित्र घरमा आफ्नो प्रदर्शनीको ५१ दिन मनाउँदै गर्दा निर्माता भने अझै आधा घाटामा रहेका छन् । टेलिसिरियल सक्किगोनिको समूहले बनाएको यो चलचित्रका कलाकार, निर्देशन र छायांकनमा महँगो पैसा गएको कारण चलचित्रको लागि ४ करोड पुगेको निर्माण पक्षको कथन थियो । पूर्व मन्त्री मोहम्मद अफताव आलमको लवज र भेसभुसा नक्कल गरेको भन्दै विवादमा परेको यो चलचित्रले ५१ दिन मनाए पनि राम्रो समीक्षा भने पाएको थिएन ।
यो चलचित्रलाई कुमार कट्टेल (जिग्री ब्रो)ले निर्देशन गरेका हुन् । सस्तो लागतमा टेली सिरियल बनाउने कुमार चलचित्रमा भने महँगो बजेट खर्च गर्ने निर्देशक साबित भएका छन् ।
यो चलचित्र काठमाडौँको क्यूएफएक्स चेन अन्तर्गत भक्तपुर र सिभिल हल, आइएनआई सिनेमाज नयाँ बानेश्वर, गोंगबु र बुटवल, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, सिडिसी सिनेमा, एफक्युब, क्यूएफएक्सको बिर्तामोड हल र दमकको डिम्याक्स सिनेमाजमा ५१औँ दिन चलेको निर्माण पक्षले जनाएको छ ।
चलचित्र लाज शरणम्मा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, सिताराम कट्टेल, महेश त्रिपाठी, हरिस निरौला, कमलमणि नेपाल, माला लिम्बु, प्रियाना आचार्य, रेणु योगी, अर्पण थापालगायतको अभिनय छ ।