काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि, गीतकार, निबन्धकार भूपाल राईको नयाँ कृति ‘शब्द सायारेम’को काठमाडौँमा एक समारोहबिच लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा स्रष्टाहरू खगेन्द्र संग्रौला, डा. गोपाल ठाकुर, डा. डम्बर चेम्जोङ, भोगिराज चाम्लिङ र कुमारी लामाले यो पुस्तकको संयुक्त लोकार्पण गरेका हुन् ।
बुक हिलले प्रकाशन गरेको पुस्तकको मूल्य विशेष पुस्तकको ८०० रुपैयाँ र साधारण पुस्तकको ६०० रुपैयाँ राखिएको कार्यक्रममा प्रकाशन संस्थाले जानकारी गरायो ।
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै स्रष्टा खगेन्द्र संग्रौलाले सभ्यताको विकासको आधार स्तम्भलाई उधिन्दै तानासाहलाई प्रश्न गर्ने बागी विचार भूपाल राईका निबन्धमा छ भने । उनले कोलम्बस र पृथ्वीनारायण शाहमाथि लेखकले उठाएका प्रश्नहरूले बहुलता र बागदरवार खडा गर्ने जिकिर गरे ।
डम्बर चेम्जोङले सामाजिक इतिहास र उदविकासमा भूपाल राईका निबन्धको महत्त्व रहने बताए । पुस्तकको कलेवर प्रशंसा गर्दै उनले भने, ‘भूपाल राईका निबन्धमा पुर्खाहरूको स्मृति, जीवनको ऐतिहासिकता र वैचारिकताको दरिलो अडान छ ।’
अर्का स्रष्टा भोगिराज चाम्लिङले राईको यो संग्रहका निबन्धहरुले नेपाली समाजको वास्तविक चित्रण गरेको छ भने । भूपाल राईको निबन्धात्मक शैलीको उनले खुलेर प्रशंसा गरे । चाम्लिङले किरातीको साकेला नाचको उच्चतासँग तुलना गर्दै शब्द सायारेम भूपाल राईको लेखन यात्राको सबैभन्दा उच्चतम कृति भएको बताए ।
सो लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले भूपाल राईका निबन्धले सामुदायिक विचार र सामाजिक युगीन चेतनाको बहस गर्ने बताए । उनले कार्यक्रममा भने, ‘तपाईँको पहाड घर कहाँ हो ? शीर्षकको निबन्धलाई गैर मधेसीबाट मधेसी समुदायमाथि भएको दमनको संकेतको रूपमा मैले लिएको छु । भाषाका कारण नेपालभित्रै अ नेपाली हुनुपर्ने अवस्थाको विम्बको रूपमा मैले यो पुस्तकलाई लिएको छु ।’
लेखक कुमारी लामाले भूपाल राईको निबन्ध संग्रह वैचारिकताको राम्रो दस्ताबेज भएको बताइन् । यस्तै लेखक भूपाल राईले आफूलाई कविको रूपमा अरूले सम्बोधन गर्दै आए पनि निबन्ध लेखनलाई पनि अघि बढाएको बताए । उनले निबन्ध लेखनको सकस र वैचारिकता परिवेश’bout पनि प्रकाश पारे ।