काठमाडौं । अघिल्लो चलचित्र पुजार सार्कीको सफलता पश्चात् निर्देशक दिनेश राउतले नयाँ नेपाली चलचित्र महाभोज निर्देशन गरेका छन् । अहिले पोष्ट प्रोडक्सनमा रहेको यो चलचित्र आगामी १५ जेठबाट चलचित्र घरमा आउने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर १५ जेठमा यसलाई प्रदर्शन गर्न लागिएको निर्देशक राउतले राजधानीलाई बताएका छन् ।
चलचित्र महाभोजमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, आर्यनका साथै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा यो चलचित्रको दुई वटा पोष्टर निर्माण पक्षले आइतबार सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमध्ये एक पोस्टरमा चलचित्रका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ ।
सामाजिक यथार्थमा आधारित यो चलचित्रमा नेपाली समाजको वर्ग संघर्षको कथा उठान गरेको निर्देशक राउतले बताएका छन् । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले पनि यो चलचित्रमा राजनीतिक र सामाजिक पक्षको प्रतिविम्ब रहेको देखिन्छ ।
निर्देशक राउतका अनुसार महाभोजले मनोरञ्जन दिनका सार्थ दर्शकलाई सोच्न बाध्य बनाउने कथा प्रस्तुत गर्ने छ । चलचित्र’bout उनले भने, ‘समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस चलचित्रमा उजागर गर्ने प्रयास गरेको छु ।’
चलचित्र महाभोज क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो भने चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन् । यो चलचित्र नेपालसँगै नेपालीहरू बसोबास गर्ने प्रायः सबै मुलुकमा एकसाथ प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ ।