सवा ११ खर्बको व्यापार घाटा, निर्यातमा ६५ प्रतिशतले वृद्धि

काठमाडौं । गत साउनदेखि चैतसम्ममा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपैयाँको व्यापार घाटा भएको छ । कुल १४ खर्ब ९७ अर्ब ७७ करोड रुपैयाँको वैदेशिक व्यापार हुँदा सवा ११ खर्बको व्यापार घाटा भएको हो ।

गत वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँको व्यापार घाटा भएको थियो ।

यस अवधिमा आयात निर्यात दुवै बढेको छ । गत वर्षको ९ महिनामा अहिले १६ दशमलव ८९ प्रतिशतले वैदेशिक व्यापारमा वृद्धि भएको छ । गत वर्ष १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँको व्यापार भएकामा यस वर्ष १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख रुपैयाँबराबरको वस्तु व्यापार भएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनामा १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ । यसैगरी १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँको आयात भएको थियो भने १ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार यस वर्ष आयातमा १२ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ भने निर्यात ६५ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापारमा वढी घाटा हुनुको पहिलो कारण पेट्रोलियम पदार्थको आयात नै रहेको देखिएको छ ।

भन्सार विभागका अनुसार ९ महिनामा १ सय ३२ वटा मुलुकसँग व्यापार घाटा रहेको छ । ३४ वटा मुलुकसँग भने व्यापार फाइदा रहेको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ६ खर्ब ३५ अर्ब ७६ करोड ३७ लाख रुपैयाँबराबरको व्यापार घाटा रहेको छ ।

चीनसँग पनि व्यापार घाटा बढ्दै गइरहेको छ । चीनसँग २ खर्ब ४५ अर्ब ६५ करोड २४ लाख रुपैयाँको व्यापार घाटा रहेको छ । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनासँग ५७ अर्ब ७० करोड रुपैयाँको व्यापार घाटा पुगेको छ । चौथो नम्बरमा यूएईसँग २१ अर्ब २४ करोड रुपैयाँको व्यापार घाटा पुगेको छ ।

युद्धग्रस्त युक्रेनसँग मात्र २० अर्ब ३४ करोड ६७ लाख रुपैयाँको व्यापार घाटा भएको छ ।

व्यापार घाटा भएका अन्य मुलुकमा क्रमशः अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया, ब्राजिल, संयुक्त राज्य अमेरिका, फ्रान्स, क्यानाडा, कतार, दक्षिण कोरिया, भियतनाम, सिंगापुर रहेका छन् ।

व्यापार नाफा भएका मुलुकहरूमा अफगानिस्तान पहिलो नम्बरमा छ । अफगानिस्तानसँग ६ लाख ८२ हजार ५ सय ४४ रुपैयाँको व्यापार फाइदा रहेको छ । व्यापार फाइदा भएका अन्य मुलुकमा डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्स, लात्भिया, आइसल्यान्ड, क्रोयसिया, माल्टालगायतका छन् ।

नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ । ९ महिनाको अवधिमा डिजेल मात्रै ९१ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ । कच्चा सोयाबिन तेल मात्रै ६६ अर्ब ५ करोड रुपैयाँको आयात भएको छ । पेट्रोल भने ४७ अर्ब ७७ करोड रुपैयाँको आयात भएको छ ।

मोबाइल फोन मात्रै पनि २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँको आयात भएको छ । मकै मात्र पनि १३ अर्ब ७३ करोडको आयात भएको छ । इलेक्ट्रिक कार १० अर्ब, रासायनिक मल ९ अर्ब, स्याउ ७ अर्ब, ल्यापटप ६ अर्ब र आलु ६ अर्ब रुपैयाँको आयोत भएको छ ।

रेडिमेट गार्मेट, खाद्यान्न तथा तरकारीलगायतका वस्तु विदेशबाट आयात भएकाले व्यापार घाटा बढेको तथ्यांकले देखाएको छ ।

नेपालबाट प्रमुख निर्यात हुने वस्तुमा भटमासको तेल, धागो, अलैंची, उनी गलैंचा कार्पेट, जुटबाट बुनिएका कपडा, चिया, फलफूल जुसलगायतका वस्तु रहेका छन् । निर्यातलाई प्रोत्साहन गर्न सरकारले सिमेन्टलगायतका करिब तीन दर्जन वस्तु निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने नीति लिएको छ । निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने व्यवस्था गरेपछि निर्यात बढेको छ तर निर्यातको अंक सानो छ ।

९ महिनामा नेपालबाट भएको कुल निर्यातमा सोयाबिन तेल तथा कच्चा पदार्थको हिस्सा मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार रुपैयाँबराबरको छ । साथै, सो अवधिमा ९ अर्ब २३ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको सूर्यमुखी तेल तथा त्यसको कच्चा पदार्थ निर्यात भएको छ ।

यो अवधिमा भटमासको तेल मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार रुपैयाँबराबरको निर्यात भएको छ । अर्थात् नेपालले गर्ने कुल निर्यात रकमको एकतिहाइ भटमास तेलको निर्यातबाट आइरहेको छ । बढी निर्यात गरेका वस्तुको दोस्रो स्थानमा सूर्यमुखी तेल छ । नौ महिनामा ९ अर्ब २३ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको सूर्यमुखी तेल निर्यात भएको छ । यसमा पनि अर्धप्रशोधित सूर्यमुखी तेल आयात गरेर त्यसलाई प्रशोधन गरी भारत निर्यात गर्छ ।

नेपालले निर्यात बढी गरेका अन्य वस्तुमा कार्पेट, धागो, चियालगायत छन् । यो अवधिमा कार्पेट ८ अर्ब ९ करोड ७५ लाख ३५ हजार रुपैयाँबराबरको निर्यात भएको छ भने अलैंची ६ अर्ब २६ करोड ९ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी