चलचित्रको हिसाब चुरोटको खोलदेखि एपसम्म

काठमाडौं । नेपालका चलचित्र घरमा काटिएको टिकटको बिक्री मूल्य तथा टिकट संख्याको सूची अब चलचित्र विकास बोर्डमा रहेको सेन्ट्रल बक्स अफिस प्रणालीमा तत्कालै रेकर्ड बस्ने भएको छ । यस अघि लागू गरिएको बक्स अफिस प्रणाली ‘रियल टाईम अनलाइन’ नभएर रेकर्डेड थियो । टिकट काटेको आधा तथा एक घण्टापछि बल्ल त्यो टिकटको रेकर्ड चलचित्र विकास बोर्डमा रहेको सेन्ट्रल बक्स अफिस प्रणालीमा देखिन्थ्यो ।

यो प्रक्रियामा हल सञ्चालकहरूले टिकट बिक्रीको हिसाब लुकाउने गरेको भन्ने आरोप समेत निर्माताहरूको थियो । तर चलचित्र विकास बोर्डले यति बेला ‘रियल टाइम बक्स अफिस सिस्टम’ बनाएको छ । अब हरेक चलचित्र घरमा दर्शकले टिकट काट्ने बित्तिकै त्यसको रेकर्ड चलचित्र विकास बोर्डमा रहेको सेन्ट्रल बक्स अफिस प्रणालीमा प्रत्यक्ष बस्ने भएको छ । यो रियल टाइम बक्स अफिस प्रणालीले निर्माताहरूलाई ठुलो राहत पुग्ने भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार अर्को साताबाट रियल टाइम बक्स अफिस प्रणालीको यो नयाँ एपलाई परीक्षणको रूपमा प्रयोग गरिने छ । यो एपलाई यसै महिना भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा एक समारोहबिच सार्वजनिक गरिने तयारी भइरहेको अध्यक्ष डिसीले बताए ।

‘रियल टाइम बक्स अफिस एप तयार भइसकेको छ । हामी यसै महिना भित्र यो एपलाई औपचारिक रूपमा सार्वजनिक गरेर चलचित्र घरमा लागू गर्नेछौँ’, अध्यक्ष डिसीले राजधानीसँग भने,‘यसरी रियल टाइम बक्स अफिस प्रणाली लागू भएपछि दर्शकले हलमा टिकट काट्ना साथ त्यसको रेकर्ड चलचित्र विकास बोर्डमा रहेको केन्द्रीय बक्स अफिस प्रणालीको सूचीमा सूचीकृत हुनेछ ।’

डिसीका अनुसार अब रियल टाइम बक्स अफिस एपलाई सम्बन्धित चलचित्रका निर्माताले आफ्नो मोबाइलमा डाउनलोड गर्नेछन् । त्यसपछि त्यो चलचित्रका मुख्य एक निर्मातालाई बोर्डले रियल टाइम बक्स अफिस कलेक्सन हेर्न पासवर्ड दिनेछ । सो पासवर्डबाट निर्माताले आफ्नो चलचित्रको सबै टिकट बिक्रीको हिसाब मोबाइलबाटै यो एपमा हेर्न पाउने छन् । यो एप आएपछि निर्माताले विश्वको जुनसुकै कुनामा बसेर अनलाइन मार्फत आफ्नो चलचित्रको टिकट बिक्री र हिसाब हेर्न पाउने अध्यक्ष डिसीले बताए ।

रियल टाइम बक्स अफिस एप आउनु निर्माताहरूको लागि सुखद खबर भएको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्काले राजधानीलाई बताए । यस’bout उनले भने,‘हाम्रो एक मात्र माग भनेको रियल टाइम बक्स अफिस प्रणाली लागु गर्नु पर्छ भन्ने थियो । अध्यक्ष दिनेश डिसीले यो एप तयार गरेर यसलाई सञ्चालनमा ल्याउन लाग्नु भएको खबरले हामी खुसी छौँ ।’

कुनै समय यस्तो पनि थियो । जति बेला चलचित्र घरमा चलचित्र प्रदर्शन पछि हल सञ्चालकले यति व्यापार भयो भनेर हिसाब दिन्थे । त्यो हिसाब पनि व्यवस्थित रूपमा नभएर चुरोटको खोल तथा अन्य कागजमा लेखेर दिन्थे । उनीहरूले आफ्नै तरिकाले ढड्डामा दैनिक टिकट बिक्रीको हिसाब राख्थे । उनीहरूले दिएको हिसाबलाई निर्माता तथा वितरकले स्वीकार गर्नुको विकल्प थिएन ।

चलचित्र हल सञ्चालकको हिसाबमा तलमाथि नहोस् भनेर केही निर्माताहरूले त सम्बन्धित चलचित्र घरमा दर्शकको उपस्थिति हेर्न आफ्ना कर्मचारी समेत खटाउँथे । आफ्ना कर्मचारीले लिएको हिसाब देखाएर निर्माताले हल सञ्चालकसँग व्यापारको दाबी समेत गर्थे । जसका कारण निर्माता र हल सञ्चालकबिच तर्क वितर्क समेत हुन्थ्यो ।

पछिल्लो समय यी सबै झन्झटबाट निर्माताहरू मुक्त हुँदै छन् । चलचित्र प्रदर्शन घरमा केही वर्ष अघिबाट बक्स अफिस प्रणाली लागू भएपछि निर्माताहरू यो झन्झटबाट धेरै हलसम्म मुक्ती भएका हुन् । दर्शकले अग्रिम तथा हलमा पुगेर काटेको टिकटको हिसाब किताब चलचित्र विकास बोर्डमा रहेको सेन्ट्रल बक्स अफिस प्रणालीमा रेकर्ड रहन थालेपछि निर्माताहरूले केही राहतको सास फेरेका छन् । तथापि यसरी काटिएको टिकटको हिसाब अहिले आधा तथा एक घण्टा पछि मात्र चलचित्र विकास बोर्डको सेन्ट्रल बक्स अफिसमा देखिने गरेको छ । जसका कारण यो एक घण्टाको अवधिमा चलचित्र घर सञ्चालकले टिकट बिक्रीको हिसाब लुकाएर कम हिसाब पठाउने गरेको आरोप थियो ।

अब रियल टाइम बक्स अफिस प्रणाली लागू भएपछि चलचित्र हल सञ्चालकहरू यो आरोपबाट मुक्त हुने भनाई हल सञ्चालक तथा वितरकहरूको संस्था नेपाल चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपाल काजी कायस्थको छ । कायस्थका अनुसार अहिले पनि चलचित्र प्रदर्शन गरेपछि बक्स अफिसको छुट्टै, हलको छुट्टै र वितरकको छुट्टै हिसाब आउने गरेको थियो । जसका कारण निर्माताहरू अन्योलमा पर्ने गरेका थिए ।

‘अब रियल टाइम बक्स अफिस प्रणाली लागू भएपछि टिकट बिक्रीको सबै हिसाब प्रत्यक्ष रूपमा आउने हुँदा हल सञ्चालक र वितरकहरू ठगीको आरोपबाट मुक्त हुनेछन् । त्यसैले यो प्रणाली लागू हुँदा सबैभन्दा खुसी हामी वितरक तथा हल सञ्चालकहरू छौँ,’ यो प्रणालीले अब चलचित्र घरमा चलचित्र प्रदर्शनको हिसाब किताब दुरुस्त आउनेमा आफूहरू विश्वस्त रहेका उनले बताए ।

हिजोको दिनमा हलमा टिकट बिक्रीको हिसाब चुरोटको खोलमा राख्ने चलचित्र हल सञ्चालकहरूका लागि यो प्रणाली त्यत्तिकै हितकर भएको पनि वरिष्ठ उपाध्यक्ष कायस्थले बताए । चलचित्र हलमा कर्मचारीले हिसाब तलमाथि गर्दा हल सञ्चालकसमेत मर्कामा परेको गुनासो हल सञ्चालकबाटै आएको थियो । यस्तो बेला रियल टाइम बक्स अफिस प्रणाली लागू भएपछि हल सञ्चालकहरू ढुक्क हुन पाउने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल