काठमाडौं । अमेरिकामै सम्पूर्ण छायांकन गरिएको चलचित्र भुठान १२ वैशाखबाट नेपालमा रिलिज हुँदै छ । यो चलचित्रको मंगलबार काठमाडौँमा प्रिमियर गरियो । प्रिमियरमा चलचित्र भुठान आम नेपाली दर्शकको सोचाई भन्दा माथिको कलात्मक चलचित्र बनेको प्रतिक्रिया धेरैले दिए ।
यो चलचित्रको शिर्ष भूमिकामा अभिनेता हरिवंश आचार्य छन् । भुटानबाट लखेटिएर नेपाल आएका भुटानी शरणार्थीहरू तेस्रो मुलुक अमेरिका पुगेपछि उनीहरूको संघर्षको कथा यो चलचित्रमा देखाइएको छ । अमेरिकाबाट आफ्नो जन्मभूमि भुटान जान १० पटकसम्म प्रयास गर्दा पनि भुटान सरकारबाट भिसा नपाएको विष्णु बहादुरको चरित्र यो चलचित्रमा हरिवंशले निभाएका छन् ।
चलचित्र भुठानको ट्रेलर रिलिज भएसँगै यो चलचित्रमा हरिवंशको चुम्बन र बेड सिनले चर्चा पाउको छ । धेरैले बुढेसकालमा अभिनेता हरिवंशले किन चुम्बन र बेड सिन दिनु परेको भनेर टिप्पणी समेत गरेका छन् । तर यसका निर्देशक विनोद पौडेलले चलचित्रको स्क्रिप्ट पढेपछि हरिवंश आचार्य यस्तो दृश्य दिन तयार भएको र हरिवंशकै स्वीकृतिले यस्तो दृश्य राखिएको बताए ।
चलचित्रमा आफ्नी जेठी श्रीमती (अनुराधा मजुमदार)सँग लामो समयपछिको भेटमा वृद्ध हरिवंशले ती श्रीमतीसँग गरेको ओष्ठ चुम्बन र सहवासको दृश्य राखिएको छ । उनीहरू सहवासको दृश्यमा पूर्ण नग्न छन् । अर्को एउटा दृश्यमा पनि अभिनेता हरिवंश आचार्यलाई नग्न रूपमा प्रस्तुत गरिएको छ ।
चलचित्रको प्रिमियर शोमा यो दृश्य देखेपछि दुई प्रकारको प्रतिक्रिया सुन्न पाईयो । एक थरीले यसलाई सकारात्मक रूपमा लिए भने अर्का थरीले ७० वर्ष पुग्न लागेको हरिवंशले तन्नेरी जस्तो चुम्बन र सहवासको दृश्य किन गर्नु परेको होला भन्दै टिप्पणी समेत गरे ।
चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । यसमा हरिवंशसँगै दयाहाङ राई, ऋचा घिमिरे, जोयस पाण्डे, पुजा चन्द, अनुराधा मजुमदार लगायतको अभिनय रहेको छ ।