काठमाडौं । एकता प्रक्रियाको दिशा तय गर्दै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकै दलमा रूपान्तरण हुने भएका छन् । दुवै दलबीच लामो समयदेखि चल्दै आएको संवाद र तयारीले अन्ततः वैशाख १७ गते ‘नागरिक जनमत पार्टी’ घोषणा गर्ने निष्कर्ष निकालेको छ ।
नयाँ दलमा अध्यक्ष राउत स्वयं रहनेछन् भने नाउपाका संरक्षक रेशम चौधरी संरक्षककै भूमिकामा रहनेछन् । पार्टीकी सहअध्यक्षको जिम्मेवारी रञ्जिता श्रेष्ठलाई दिइएको छ । जसमा उनको वरीयता तेस्रो स्थानमा रहने बताइएको छ । पार्टी एकतापछि प्रयोग हुने ढकिया चिन्ह र कलेजी रङको पृष्ठभूमिमा सेतो ढकिया रहेको झन्डा पनि पहिले नै तय भइसकेका छन् । एकीकृत केन्द्रीय समिति ७ सय सदस्यीय हुने र त्यसको समावेशी संरचनामा दलले जोड दिने जनाएको छ ।
दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ। संसदमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सीट नै छ । तराइको सबैभन्दा ठुलो पार्टी जसपा थियो । जसपा विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता हुँदा तराइ मधेशको सबैभन्दा ठुलो पार्टी बन्नेछ।