काठमाडौं । मलेसियन सरकारले तोकेको श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक १ हजार ७ सय मलेसियन रिंगेट नदिने ३५ सुरक्षा गार्ड कम्पनी कारबाहीमा परेका छन् ।
३५ सुरक्षा गार्ड कम्पनी कारबाहीमा
मलेसियाको श्रम विभागले अनुगमनका क्रममा देशभर अझै पनि ३५ सुरक्षा कम्पनीले गत १ फेब्रुअरी २०२५ देखि लागू भएको १ हजार ७ सय रिंगेट न्यूनतम पारिश्रमिकको आदेशको पालना नगरेको भन्दै कारबाही गरेको जनाएको छ । श्रम विभागका महानिर्देशक कमल पार्दीले अपराध गर्ने रोजगारदातालाई राष्ट्रिय ज्याला वार्ता परिषद् ऐन, २०११ (ऐन ७३२) अन्तर्गत जरिमाना गरिने बताए ।
महानिर्देशक पार्दीका अनुसार मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गतको श्रम विभागले सुरक्षा गार्ड कम्पनीमा कार्यरत कामदारले गुनासो गरेपछि अनुगमन गरेको बताए । कामदारले अझै पनि प्रतिमहिना पुरानै पारिश्रमिक १ हजार ५ सय रिंगेट दिँदै आएको गुनासो गरेपछि विभाग एक्सनमा उत्रिएको हो ।
‘हामीले देशभरका ३५ सुरक्षा कम्पनीको निरीक्षण गर्न एकैसाथ अपरेसन ग¥यौं,’ उनले भने, ‘अझै पनि प्रतिमहिना १ हजार ५ सय रिंगेट पुरानो न्यूनतम तलब दिइरहेको पाइएपछि कारबाही गरेका हौं, हामीलाई आशा छ, अब कम्पनीले तुरुन्तै न्यूनतम पारिश्रमिक १ हजार ७ सय रिंगेट दिएर कानुनको पालना गर्नेछ र मार्च अनि अप्रिलको तलबबाट सुरु हुने यी तलब बक्यौता भुक्तानी गर्नेछ ।’
सोही अवधिमा रोजगारदातालाई लगभग ७ सय जरिमाना र कम्पाउन्डहरू पनि लगाएको र त्यसबाट २ मिलियनभन्दा बढी राजस्व संकलन भएको जनाएको छ । त्यसैले जरिमाना तिर्नुको सट्टा, रोजगारदाताहरूले आफ्ना कर्मचारीलाई न्यूनतम ज्याला दिन विभागले सबै कम्पनीलाई अनुरोध गरेको छ । तोकिएको पारिश्रमिक नदिए कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
यसअघि क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियन सरकारले तोकेको श्रमिकको नयाँ न्यूनतम तलब १ हजार ७ सय मलेसियन रिंगेट नपाए गुनासो गर्न भनेको छ । दूतावासले एक सूचना जारी गर्दै तलब १ हजार ७ सय रिंगेट नपाएको गुनासो दूतावासले उपलब्ध गराएको लिंकमा गएर फाराम भरी जानकारी पठाउन मलेसियामा कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।
फाराम भरी पठाउने सम्पूर्णको विवरण गोप्य राखिने जानकारी पनि दूतावासले जनाएको छ । कतिपय रोजगारदाता कम्पनीले मलेसिया सरकारले बढाएको तलब नेपाली कामदारले नपाएको गुनासो बढेपछि दूतावास फाराम भरेर पठाउन अनुरोध गरेको हो ।
दूतावासका अनुसार श्रमिकको नाम, राहदानी नम्बर, सम्पर्क नम्बर, कम्पनीको नाम, कम्पनीमा कार्यरत वर्ष र कम्पनीको सेक्टर फाराममा भरेर पठाउनुपर्नेछ । मलेसिया सरकारले १ फेब्रुअरीदेखि लागू हुनेगरी आप्रवासी कामदारको मासिक न्यूनतम पारिश्रमिक १ हजार ५ सयबाट बढाएर १ हजार ७ सय रिंगेट पु-याउने घोषणा गरेको थियो । तलब बढेसँगै अहिले मलेसियामा कार्यरत नेपाली श्रमिकको १ हजार ७ सय रिंगेट (करिब ५ हजार ३ हजार रुपैयाँ) पाएका छन् ।