चलचित्र घरमा रिभ्यु खिच्दा दर्शक देखि कलाकारसम्मको विरोध

काठमाडौं । केही महिना यताबाट चलचित्र निर्माता तथा निर्देशकहरूले चलचित्र घर भित्र कलाकारसँगै सञ्चारकर्मी (युट्युबर) पनि लैजाने गरेका थिए । स्वयम् चलचित्रकर्मीहरूले क्यामेरा ल्याएर निर्धक्कसँग चलचित्र घरमा दर्शक समीक्षा खिचेपछि दर्शकबाटै विरोध हुन थालेका छन् । यो कार्यलाई अब कलाकारहरु पनि चिढिएका छन् ।

दर्शकको विरोधसँगै केही चलचित्रकर्मीहरूले अब चलचित्र घरमा आफ्नो चलचित्र प्रदर्शन भइरहेको बेला क्यामेरा लिएर चलचित्र प्रचार प्रसारमा नजाने बताएका छन् । शुक्रवारबाट रिलिज हुने नेपाली चलचित्र खेलकी अभिनेत्री सुरक्षा पन्तले यस्तो घोषणा गरेकी हुन् । एउटा सञ्चार माध्यममा दिएको अन्तरवार्तामा यी अभिनेत्रीले चलचित्र खेलबाटै आफू खेल प्रदर्शन भईरहेको बेला चलचित्र घर भित्र क्यामेरा लिएर नजाने बताएकी हुन् ।

अभिनेत्री सुरक्षाले बुधवार बेलुका चलचित्र खेलको प्रिमियरमा पनि यो कुरा सञ्चारकर्मीलाई स्मरण गराइन् । प्रिमियरमा सम्बन्धित चलचित्रको ’boutमा आफूहरूसँग जिज्ञासा राख्न आग्रह गर्दै अबबाट आफूहरू क्यामेरा लिएर दर्शकको वैयक्तिक अधिकार हनन गर्न चलचित्र घरमा नजाने जानकारी उनले गराइन् ।

अभिनेत्री सुरक्षा मात्र हैन, शुक्रवारबाटै रिलिज हुने अर्को चलचित्र भुठानको टिमले पनि भुठान प्रदर्शन भइरहेको बेला चलचित्र घरमा युट्युब च्यानलहरूलाई लिएर दर्शकसँग साक्षात्कार नगर्ने बताएको छ । यो चलचित्रको मंगलबार काठमाडौँमा भएको प्रिमियरका क्रममा यसको निर्माण पक्षले यस्तो बताएका हुन् ।

चलचित्र भुठानकै प्रिमियरमा पुगेको अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले पनि निर्माता निर्देशकदेखि कलाकारसम्मले अब चलचित्र घर भित्र क्यामेराका हुल लिएर दर्शकको मुखमा बुम तेस्र्याउँदै दुख दिने काम बन्द गर्नु पर्ने आग्रह गरे । आफ्नो सुपर हिट भएको चलचित्र लुटमा पनि कलाकारसँग हलमा गएर दर्शकसँग आफुले मौखिक साक्षात्कार गरेको स्मरण उनले सुनाए । तर त्यति बेला आफूले हलमा क्यामेरा लगेर मिडियाकर्मी मार्फत दर्शकको प्रतिक्रिया लिने काम नगरेको पनि उनले स्पष्ट पारे । टिकट काटेर हलमा पुगेका दर्शकलाई निर्धक्क रूपमा चलचित्र हेर्ने वातावरण आफूहरूले मिलाई दिनुपर्ने सुझाव निर्देशक निश्चल बस्नेतको रहेको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र प्रदर्शन सकिनासाथ चलचित्र घर भित्रै मिडियाकर्मीले दर्शकको प्रतिक्रिया लिँदा दर्शकहरू रिसाउने तथा भाग्ने गरेको दृश्य आफूले देखेको बताइन् । उनले पनि निर्देशक तथा अभिनेता निश्चल बस्नेतको भनाईलाई समर्थन गर्दै वाधा पुग्ने गरी हल भित्रै बुम तेस्र्याएर दर्शक रिभ्यु लिन नहुने सुझाव दिइन् ।

हुन पनि केही महिना यताबाट काठमाडौँ उपत्यकाका चलचित्र घरमा दर्शक प्रतिक्रिया लिन क्यामेराको हुल छिर्ने क्रम बढेको छ । आफ्नो चलचित्रमा दर्शकको उपस्थित राम्रो हुनासाथ निर्माता निर्देशकहरूले कलाकार सहित युट्युबकर्मीहरूलाई चलचित्र घर भित्रै पसाएर दर्शकको प्रतिक्रिया लिन तंछाड मछाड गर्दै आएका छन् । तर केही हप्ता यताबाट दर्शकहरू यस्तो प्रतिक्रियाको विरोध गर्न थालेपछि काठमाडौँ उपत्यकाका चलचित्र घरले अब दर्शकलाई बाधा पुग्ने यस्ता कार्य रोक्ने बताएका छन् ।

काठमाडौँको कमलपोखरी स्थित बिग मूभिजले चलचित्रको प्रिमियर सो बाहेक अरू बेला चलचित्र घर भित्र युट्युव च्यानलका सञ्चारकर्मीलाई क्यामेरा लैजान रोक लगाएको छ । हरेक शोमा क्यामेरा तेस्र्याउँदै प्रतिक्रिया लिन क्रम बढेपछि दर्शकहरूले त्यसको विरोध गरेको त्यहाँको प्रशासनले जनाएको छ । त्यसैले निर्माताहरूको विशेष अनुरोधमा समेत हलमा क्यामेरा लान रोक लगाएको प्रशासनले जानकारी गरायो ।

ललितपुरको लविम मल स्थित क्युएफएक्स चलचित्र घरमा चलचित्र कर्मा हेरेर निक्लेका दर्शकलाई युट्युब च्यानलका सञ्चारकर्मीले गत शनिबार प्रतिक्रिया लिएका थिए । सो क्रममा आफ्नो दर्शकले भिडियो नखिच्न भन्दै विरोध जनाए । सो विरोधपछि क्युएफएक्स लविम मलका म्यानेजर शेरभ सिंह लामाले अब यसरी युट्युब च्यानलका सञ्चारकर्मीलाई चलचित्र घर भित्र दर्शकको प्रतिक्रिया लिन नदिने बताए । लविम मल मात्र हैन, सबै क्युएफएक्स चेन चलचित्र घरले अब नयाँ निर्णय गरेर दर्शकलाई असर पर्ने यस्ता कामलाई रोक्ने उनले जनाए ।

क्युएफएक्स र बिग मूभिज जस्तै काठमाडौँ उपत्यका भित्रका अरू पनि चलचित्र घरले युट्युब सञ्चारकर्मीलाई हल भित्र प्रदर्शन सक्किन साथ दर्शकको प्रतिक्रिया लिन रोक लगाउने तयारी गरिरहेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपालले ‘टार्गेट’ गरेको इटहरीमा मेयर नछाड्ने कांग्रेसको चेतावनी