खोटाङ । कोशी प्रदेश सरकारले खोटाङ जिल्लामा बाढीपहिरोले गरेको क्षति पुनः निर्माणका लागि ४ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वि.सं. २०८१ असोज १२ गते आएको बाढी तथा पहिरोले क्षति पुर्याएको भौतिक संरचनाहरूको पुनः निर्माणका लागि मर्मत सम्भार तथा पुनः निर्माण कोषको सिफारिसका आधारमा उक्त बजेट उपलब्ध गराइएको हो ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईको पहलमा ४३ वटा योजनाका लागि तीन करोड १७ लाख र सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’को पहलमा ४५ वटा योजनाका लागि एक करोड ३९ लाख ५५ हजार गरी कुल ४ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
खोटाङमा बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएका सामुदायिक विद्यालय, ग्रामीण सडक, झोलुङ्गे पुल, खानेपानी र सिँचाइ योजनाहरूको पुनः निर्माणका लागि यो बजेट खर्च गरिने छ । बाढी तथा पहिरोबाट भएको क्षति भएको सात महिनापछि आएको उक्त बजेट यसै चालु आर्थिक वर्षको असार मसान्तभित्र खर्च गर्नेगरी प्रदेश सरकारले उपलब्ध गराएको हो । प्राप्त बजेटमध्ये भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत विभिन्न सडक निर्माण तथा मर्मतका लागि उल्लेख्य रकम छुट्याइएको छ ।
जालपा–कादेल–बाक्सिला, दिक्तेल–जाल्पा–ऐँसेलुखर्क, बानाचुङदेखि दोवेला हुँदै साकेला गाउँपालिका जोड्ने सडक, किँरात चोकदेखि आहाल डाँडा खेल मैदान जोड्ने सडक, भाड्बेँसी हलेसी सडकलगायतका अधिकांश सडक योजनाका लागि सात लाखका दरले बजेट विनियोजन गरिएको छ ।
हरेलोडाँडादेखि सन्सारीडाँडा हुँदै बङ्गुर फर्मबाट गुप्तेश्वर सडक मर्मतका लागि दश लाख र साउनेचउरदेखि बन्दुवा आसावाला फोक्सिङटार सडकका लागि २० लाख बजेट छुट्याइएको छ । झोलुङ्गे पुलहरूको निर्माण तथा मर्मतका लागि पनि बजेट विनियोजन गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका चिप्टार झोलुङ्गे पुल, डिकुवा नर्सरी झोलुङ्गे पुल, चारबोटे झोलुङ्गे पुल, कुर्लेघाट झोलुङ्गे पुल, हलेसी तुवाचुङ बतासेघाट झोलुङ्गे पुल, लैकुघाट झोलुङ्गे पुल, गोडेली झोलुङ्गे पुल, हैदे झोलुङ्गे पुल, धाप्लाङ झोलुङ्गे पुल, बाराहापोखरी बन्सिलाघाट झोलुङ्गे पुल, बतासे भाडारे झोलुङ्गे पुल र कम्फु झोलुङ्गे पुलका लागि प्रत्येकलाई सात लाख बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत विभिन्न सिँचाइ योजनाहरूका लागि पनि बजेट छुट्याइएको छ । मेवाखोला दुब्लाखा दोभान साकेला कुलो सिंचाई योजनाका लागि पाँच लाख, काउलेखोला छासुम खोला सिँचाई योजनाका लागि पाँच लाख, नुरेखोला महलेखेत सिँचाई योजनाका लागि तीन लाख, ढोडेखोलादेखि पापेरोडाँडा सिँचाइ योजनाका लागि तीन लाखलगायतका सिँचाइ योजनाहरूका लागि बजेट विनियोजन गरिएको छ ।
पहिरो नियन्त्रणका लागि पनि केही बजेट छुट्याइएको छ । माटीकोरे देवाली थान पहिरो नियन्त्रणका लागि चार लाख, चम्पावती मा.वि. पहिरो नियन्त्रणका लागि पाँच लाख र खडेन्द्र राई घर छेउ पहिरो रोकथामका लागि नौँ लाख बजेट विनियोजन गरिएको छ । खानेपानी योजनाहरू अन्तर्गत शुक्र’bout खानेपानी योजनाका लागि सबैभन्दा बढी १५ लाख विनियोजन गरिएको छ भने सारालुङ, खार्ताम्छा, पोखरी खुवाबुङ, खत्रीगाँउ, सुङदेल, लप्सेखोला, छिवालगायतका विभिन्न खानेपानी योजनाहरूका लागि पनि आवश्यक बजेट छुट्याइएको छ ।
बाढीपहिरोबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनर्निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ । चम्पावती मावि बुइपाका लागि नौँ लाख, सगरमाथा आधारभूत विद्यालय खाल्लेका लागि चार लाख ७५ हजार, जल्लेवरी आधारभूत विद्यालय अर्खौलेका लागि चार लाख ७५ हजार, सालपादेवी आधारभूति विद्यालय लफ्याङका लागि चार लाख ७५ हजार लगायतका विद्यालयहरूका लागि बजेट प्राप्त भएको छ ।
बाढी तथा पहिरोबाट क्षतिग्रस्त योजना पुनः निर्माणका लागि प्रदेश सरकारबाट प्राप्त बजेट कार्यान्वयन सम्बन्धित विभागले गर्ने जनाइएको छ ।