काठमाडौं । सभामुख देवराज घिमिरेले शिक्षा र निजामती विधेयक पारित गर्ने कार्यसूची तय गर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् । दुवै विधेयक हाल सम्बन्धित समितिमा रहेकाले संसदमा छलफल गर्ने र पारित गर्ने काम अघि बढ्न सकेको छैन । सभामुखले समितिको प्रतिवेदन आए लगत्तै विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयकलाई सभाबाट पारित गर्ने कार्यसूची तय गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।
बजेट अधिवेशनमा संसदको कामको चापलाई ध्यान दिँदै सभामुखले शनिवार र सार्वजनिक बिदाबाहेक संसद सञ्चालन गरेर विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक टुङ्ग्याउने गृहकार्य गरेका छन् । नीति तथा कार्यक्रम र बजेटका बीच पनि शिक्षा, निजामती लगायतका महत्त्वपूर्ण विधेयकलाई अघि बढाउन संसदको आगामी क्यालेन्डरमा समय सुरक्षित गरिएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज (शुक्रबार) प्रतिनिधि सभाको छैटौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा अपिल गर्दै सभामुख घिमिरेले संसदले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन ।
सभामुख घिमिरेले भने, ‘संसद्को मुख्य जिम्मेवारी भनेको मुलुकका लागि कानून निर्माण गर्नु नै हो, ‘समयमा नै कानुन बनाउन नसक्दा देखिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न संसदले निर्माण गर्नुपर्ने कानूनलाई यथासम्भव टुङ्ग्याउन हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ ।’
संसद जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै सभामुख घिमिरेले संसदमा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहना अनुरूप निर्णयहरू लिइने बताए । उनले प्रतिनिधि सभाको आजदेखि सुरु भएको बजेट अधिवेशनसरकारको नीति तथा कार्यक्रम, बजेटसँगै कानुन निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त समेत गरेका छन ।
संसदको प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढिकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुग्ने सभामुख घिमिरेको भनाइ छ । उनले भने, ‘प्रभावकारी संसदले मात्रै देशका समस्या समाधान गर्न उपयुक्त नीति तथा कानून बनाउँछ, सामाजिक न्याय, आर्थिक विकास र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने भएकाले आगामी अधिवेशन सफल बनाउन अपिल गर्दछु ।’