राजविराज । भारतबाट तस्करी भई आउँदै गरेका १८ लाख भन्दा बढीका फलफुलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान ११ बजेतिर हुलाकी सडक अन्तरगत सप्तरीको बलान बिहुल २ चनही सडक खण्डमा प्रहरीले प्र०१–००१च०२४० नम्बरको पिकअप भ्यानबाट १८ लाख ५९ हजार ९ सय मुल्य बराबरको फलफुलसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १ का २५ वर्षिय रबिन महतो छन् । उनले चलाएको सो गाडीमा भारतबाट भन्सार छलेर ल्याइएका स्याउ, सुन्तला र आँप लगायतका फलफुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरी चौकी चनहीबाट खटेको गस्ती टोलीले चेकजाचका क्रममा अवैध रुपमा ल्याइएको फलफुलसहित उक्त गाडी नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक बस्नेतको भनाई छ ।
भन्सार छलेर ल्याइएको फलफुल र सो कार्यमा प्रयोग गरिएको पिकअपसहित चालक मेहतालाई शुक्रबार नै कारवाहीका लागि राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।