सिन्धुली । दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध बलत्कार आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध बालिका बलत्कार गरेको आरोपमा विहीबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दर्ता भएको हो ।
मेयर अधिकारीविरुद्ध किटानीसहित जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी बालिकालाई मेयर दनुवारले बलत्कार गरेको र गत फागुनमा शिशुको जन्म भइसकेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ । शिशु जन्मिएपछि मेयर दनुवारविरुद्ध जाहेरी दर्ता भएको हो ।
बालिकाले जाहेरी दिए लगत्तै प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । घटनाको अनुसन्धान सुरु भइसकेको तर मेयर दनुवार पक्राउ नपरेको एसपी काफ्लेले जानकारी दिएका छन् ।
दनुवार २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।