काठमाडौं ।स्वदेशमा भनेजस्तो काम नपाएपछि बाध्यतावस वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या क्रमशः बढ्दो छ । कोरोना विश्व महामारीको समयबाट बिग्रिएको देशको आर्थिक गतिविधि अझै राम्रोसँग चलायमान नभएको र स्वदेशी उद्योग, कलकारखाना एकपछि अर्को गर्दै बन्द हुने र धरासायी बन्ने भएपछि धेरैको रोजगारी गुम्यो । कयौं उद्योग प्रष्ठिानमा कार्यरत मजदुर कामदार कटौतीको चपेटामा परे ।
९ महिनामै ६ लाख ७ हजारले लिए श्रम स्वीकृति
विभिन्न राजनीतिक दल एवं स्वार्थगत समूहबाट लामो समय भइरहने आन्दोलनका गतिविधिलगायत विविध कारणले मुलुकको आर्थिक गतिविधि राम्रो नभएको र स्वदेशमा लगानी गरी केही व्यवसाय गर्न खोज्दा पनि लगानी गरेबमोजिमको प्रतिफल उठाउन मुस्किल भएपछि बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या क्रमशः बढिरहेको सम्बन्धित वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले सरकारले श्रम स्वीकृति दिन खुला गरिएका रोजगारदाता मुलुकहरूको श्रम तथा कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउँदै हाल व्यवसायीले उठाउँदै आएका माग सम्बोधन गर्दै वैदेशिक रोजगारीको क्षेत्रलाई थप सुधार गर्न सकिएको खण्डमा अझै बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्ने बताए ।
वैदेशिक रोजगार व्यवसायीले मात्र नभएर बाध्यात्मक वैदेशिक रोजगारीको अत्य गरी स्वदेशमै भनेजस्तो रोजगारीको वातावरण बनाउने दाबी गर्दै आएको सरकारी तथ्यांकले समेत अहिले वैदेशिक रोजगारीमा जानेक्रम दैनिक बढेको देखाएको छ । वैदेशिक रोजगारीमा जानेक्रमसँगै अहिले विभिन्न मुलुकबाट नेपाल भित्रिने रेमिट्यान्स रकम पनि निरन्तर नयाँ रेकर्ड बनाएर खर्बौं रुपैयाँ बढिरहेको छ । बाध्यताले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले पठाएको सोही रेमिट्यान्सले नै हाल देशको अर्थतन्त्र धानिएको छ । त्यसैले सरकार पनि बढेको रेमिट्यान्स भित्रिने क्रममा नै रमाएर बसेको अवस्था छ ।

पछिल्लो समय वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकमा पनि बाध्यात्मक अवस्थाले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या क्रमशः बढेको देखिएको छ । विभागका अनुसार चालू आर्थिक वर्ष २०८१-८२ को बितेका ९ महिना (साउनदेखि चैतमसान्तसम्म)मा वैधानिक रूपमा श्रम स्वीकृति लिएर ६ लाख ७ हजार ८ सय ७४ जना नेपाली कामदार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार चालू आवको बितेका ९ महिनामा गत चैत महिनामा मात्र ७३ हजार ४ सय ३ जनाले वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
अघिल्लो महिना फागुनसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने नेपाली कामदारको संख्या जम्मा ५ लाख ३४ हजार ४ सय ७१ जना थियो । विभागको तथ्यांकअनुसार चालू आवमा औसत मासिक ६७ हजार ५ सय ४१ जना नेपाली कामदार संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गइरहेका छन् । यसलाई आधार मान्दा हरेक दिन झन्डै २ हजार ३ सय जना वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने गरेका छन् । यसमा केही समय घर बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जानेहरूको संख्या पनि समावेश छ ।
वैदेशिक रोजगार विभागले यस्तो जानकारी गराएको हो । विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार चालु आवको वितेको ९ महिना गत चैत महिनामा मात्र ७३ हजार ४ सय ३ जनाले वैद्यानिक रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्
अझै यसभन्दा बाहेक धेरै पैसा खर्च गरेर वैदेशिक अध्ययनमा विभिन्न मुलुकमा जाने, भ्रमण एवं विभिन्न काम विशेषले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने नेपालीको संख्या अत्यधिक छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएर वैधानिक रूपमा जाने नेपाली कामदारको संख्यालाई मात्र आफ्नो तथ्यांकमा समावेश गर्दै आएको छ । श्रम स्वीकृति नलिएर अथवा तेस्रो मुलुक भएर एवं सेटिङ मिलाएर अवैध किसिमले वैदेशिक रोजगारीमा जानेहरूका ’boutमा वैदेशिक रोजगार विभागमा कुनै तथ्यांक हुँदैन ।
यस्तो अवैध किसिमले वैदेशिक रोजगारीमा पुगेका नेपाली विभिन्न मुलुकमा पुगेर समस्यामा परे भने पनि वैदेशिक रोजगार विभागलाई आफ्नो मुलुकका नागरिकको उद्धार तथा समस्या समाधान गर्नका लागि केही अधिकार हुँदैन । त्यसैले, वैदेशिक रोजगार विभागले हरेक समय विभिन्न माध्यमबाट नेपाली कामदारलाई वैधानिक रूपमा श्रम स्वीकृति लिएर जान मात्र सचेत गराउँदै आएको छ । विभागका अनुसार चालू आवको सुरुवाती महिना साउनमा ५९ हजार ५ सय ७५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ । चालू आवको गत भदौमा ५७ हजार ४ सय ९३ जना, असोज ५३ हजार ५ सय २५जना, कात्तिकमा ७० हजार ९ सय ९० जना, मंसिरमा ८४ हजार २ सय २६ जना, पुसमा ६७ हजार २ सय ५८ जना नेपाली कामदार श्रम स्वीकृति लिएर बिदेसिएका थिए ।

यसैगरी, चालू आवको गत माघमा ७२ हजार ४ सय ४१ जना, फागुन महिनामा ६८ हजार ९ सय ६३ जना र चैतमा ७३ हजार ४ सय ३ जना नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् । यस वर्ष विगतका वर्षहरूमा जस्तै दसैं, तिहार, छठपर्वलगायतका चाडपर्व मनाएर बिदेसिने नेपाली कामदारको पुरानै अवस्थाले निरन्तरता पाएको छ । यस वर्ष सबैभन्दा धेरै नेपाली कामदारको श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स(यूएई) रहेको छ । गत चैतमा मात्र २३ हजार ६ सय ७१ जना नेपाली कामदारले यूएईका लागि वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ । चैत महिनालगायत चालू आवको बितेका ९ महिनामा यूएई जाने नेपाली कामदारको संख्या १ लाख ९६ हजार ९ सय २१ जना रहेको छ । यस वर्ष कुल १ सय ८ देशमा नेपाली कामदार वैधानिक रूपमा श्रम स्वीकृति लिएर गएको देखिएको छ । यस वर्ष नेपाली कामदारको रोजाइमा दोस्रो स्थानमा साउदी अरब र तेस्रो स्थानमा कतार परेको छ ।
त्यसपछि मलेसिया र कुवेत नेपाली कामदारको आकर्षक गन्तव्यमा पर्छन् । यस वर्ष मलेसियाबाट नयाँ कामदारको माग नआउँदा मलेसिया जाने नेपालीको संख्या घट्दो क्रममा रहेको देखिएको हो । त्यस्तै, साइप्रस, बहराइन, जापान, दक्षिण कोरिया, रोमानिया, ओमानसहितका देशमा धेरै नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा पुगेका छन् ।
नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूमध्ये अर्धदक्ष कामदारको संख्या धेरै छ । अदक्ष कामदारको वैदेशिक रोजगारीको यात्रा अझै रोकिन सकेको छैन । चैत महिनामा मात्र वैदेशिक रोजगारीमा गएका कुल ७३ हजार ४ सय ३ नेपाल कामदारमध्ये २१ हजार ६ सय ९५ जना अदक्ष कामदार नै छन् । सो अवधिमा अर्धदक्ष कामदारको संख्या ४२ हजार ४ सय ५४ जना रहेको छ । यसैगरी, दक्ष कामदारको संख्या जम्मा ८ हजार ८ सय ९९ जना मात्र रहेको छ । व्यावसायिक कामदारको संख्या अझ कम जम्मा २ सय ७७ जना र अतिदक्ष कामदारको संख्या ७८ जना मात्र रहेको विभागको तथ्यांकमा उल्लेख छ ।