काठमाडौं । नेपाली कामदारका लागि मलेसियामा रोजगारीको बाटो खुलेको छ । विगत लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी अन्ततः खुला भएको हो ।
दूतावासद्वारा मागपत्र प्रमाणीकरण सुरु
क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार कृषि, प्लान्टेसन र निर्माण क्षेत्रमा रोजगारी खुलेको छ । यसैगरी, सर्भिस सेक्टरअन्तर्गतका उपक्षेत्रहरू सुरक्षागार्ड, थोक तथा खुद्रा किराना पसल, कपाल काट्ने, गोदाममा समान भण्डारण गर्ने, सुनचाँदी बनाउने, कपडा सिलाइ, पर्यटन क्षेत्रको काममा नेपालीको लागि रोजगारी खुला भएको नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, कृषिअन्तर्गत उपक्षेत्रहरू माछा पालन, कृषि काममा रोजगारी खुला भएको जनाइएको छ । मलेसिया सरकारबाट प्राप्त भएको जानकारीअनुसार विभिन्न चारवटा क्षेत्रमा अर्को सूचना प्राप्त नभएसम्मका लागि मागपत्र खुला भएको सो दूतावासले जनाएको छ ।
नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्न सुरु गरेसँगै विगत लामो समयदेखि रोकिएको नेपाली कामदार पठाउने बाटो खुलेको छ । मलेसिया सरकारले अहिले कामदार अभाव भएपछि नेपालीको माग गरेको बताइएको छ ।
अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेस गर्न सक्नेछन् । मलेसियाको मागपत्र दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेबसाइटमा सो मागपत्र अपलोड गरेपछि कामदार लैजाने प्रक्रिया सुरु हुनेछ । मलेसियाले यसघिदेखि नै प्लान्टेसन सेक्टरमा नेपाली कामदार लगिरहेको थियो । मलेसियामा विभिन्न पेसामा गरी करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।
दूतावासका अनुसार सेवा क्षेत्रतर्फ होलसेल एन्ड रिटेल, सेक्युरिटी गार्ड, ल्यान्ड वेयरहाउजिङ, गोल्डस्मिथ्स एन्ड टेक्सटाइल र टुरिजम, कृषि क्षेत्रतर्फ फिसेरिज र लाइभस्टक तथा प्लान्टेसन र कन्स्ट्रक्सन क्षेत्रको मागपत्र खुला भएको छ ।