विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासले सारा नेपाली आतंकित भइरहेको अवस्थामा सत्तारूढ दलका नेताले देखाएको राजनीतिक प्रहसन घोर आपत्तिजनक छ । यतिखेर सिंगो सरकार, उसको दल तथा अन्य राजनीतिक दल र सबै जनता मिलेर कोरोनाविरुद्धको सामूहिक लडाइँ लड्ने बेला हो । तर, यी सबै संवेदनशीलतालाई पूर्ण रूपमा तिलाञ्जलि दिएर सत्तारूढ दल नेकपाका नेता सत्ताको लुँछाचुँडीमा दौडिरहेका छन् । कोरोनासँग लड्न जनतासँग एकाकार हुनुपर्ने समयमा काठमाडांैको बन्द कोठामा दिनहुँ षडयन्त्रका तानाबाना बुन्ने खेलमा उद्धत हुनु राजनीतिक अपराध कर्म हो । सरकारले पनि यस्तो संकटको समयमा ठूलो छाती बनाएर सबैलाई समेटेर अघि बढ्न सक्नुपर्ने हो तर सबैलाई समेटेर अघि बढ्नुको साटो साघुरो घेरामा रहनु सरकारको पनि कमजोरी हो ।
राजनीतिक दललाई आधुनिक राजनीतिको जीवनरेखा (लाइफलाइन) मानिन्छ । उदार एवं प्रजातान्त्रिक समाजमा त राजनीतिक दलले जीवनका हरेक पक्षलाई प्रभावित गर्न महŒवपूर्ण भूमिका खेल्छ नै तानाशाही शासन व्यवस्थामा पनि कुनै न कुनै रूपमा राजनीतिक दल संगठित गरिएको पाइन्छ । यस्तै, प्रजातन्त्रमा राजनीतिक दल राजनीतिक चेतनाको शक्ति गृह (पावर हाउस) पनि मानिन्छन् । राजनीतिक दलको यति धेरै महŒव हुने भए पनि अहिले सत्तारूढ दलले के दलको सो महŒवको गरिमा राख्न सकेको छ त ? आफूलाई ठूला ठान्ने कथित नेताहरूको फोहोरी खेलका कारण उनीहरूले दलको भूमिका र महŒवलाई नै गौण बनाइदिएका छन् । सत्तारूढ दलका केही नेताहरूको पुरै समय बिहानदेखि रातिसम्मै कसरी हुन्छ सरकार ढाल्ने र सत्ताको बागडोरमा आफू पुगेर हालीमुहाली मच्चाउन खोज्ने प्रयासमा नै व्यतीत भइरहेको छ । कोरोना भाइरससँग कसरी जुध्ने र नागरिकलाई कसरी भयरहित एवं सुरक्षित राख्ने भन्ने उपायको खोजी गरी त्यसका लागि सरकारलाई संवेदनशील बनाउनुपर्नेमा उनीहरू ‘कन्स्पिरेसी थ्योरी’अनुसार सरकार गिराउन नै उद्धत देखिन्छन् । सरकारका धेरै कमीकमजोरी होलान् त्यसैले सच्याउनुपर्छ भन्ने विषय छुट्टै हो तर यस्तो महामारीको समयमा सरकारलाई गिराएर राजनीतिक अस्थिरता निम्त्याउन खोज्नुलाई कुनै पनि हालतमा राम्रो मान्न सकिँदैन । सत्तारूढ दलको झंै झगडाले सबैभन्दा बढी मार सर्वसाधारण जनतालाई परिरहेको छ । आफ्नै दलभित्रको लडाइँका कारण सिंगो सरकारको कार्यक्षमतासमेत कमजोर बन्दै गइरहेको छ । कमजोर सरकारले महामारीको रूप लिँदै गइरहेको कोरोना भाइरसको संक्रमणविरुद्ध सशक्त लडाइँ लड्न सक्दैन । त्यसैले, अहिले सत्तारूढ दलका सबै नेताहरू सच्चिन जरुरी छ । प्रधानमन्त्रीले आत्मालोचना गरेर आगामी दिनमा सच्चिएर अगाडि बढ्ने प्रतिबद्धता जनाइसकेपछि यही विषयलाई बहाना बनाएर कसैलाई पनि चिथोर्ने, कोपर्ने कार्य गर्नु जायज होइन । नेकपाको शीर्ष नेतृत्व पनि आफ्नो दलभित्र देखिएको विवाद छिटोभन्दा छिटो मिलाउनका लागि थप संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । बैठक र छलफलबाट भागेर होइन, निष्कर्ष निकालेर अगाडि बढ्नु बुद्धिमतापूर्ण हुन्छ ।
लामो समयदेखिको लकडाउनले सारा जनता आजित र निराश भइसकेका छन् । मुलुकले लामो समयसम्म यसको असरले उत्पन्न हुने विविधि खाले समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले, सत्तारूढ दलले बाँदरले जसरी नै झगडा गरेर आफ्नो साखलाई धुमिल पार्नुहँुदैन । छिटोभन्दा छिटो एकता र सहकार्य गर्दै कोरोनाविरुद्धको लडाइँमा जित हासिल गर्ने बाटोमा अग्रसर हुनुपर्छ ।