काठमाडौं । करिब ८ वर्ष अघि चलचित्र रुद्रमा काम गरेका अभिनेता अभिनेता निखिल उप्रेती त्यसपछि चलचित्रमा देखिएनन् । यतिबेला उनी फेरी चलचित्रमा फर्किने तयारीमा छन् । यी अभिनेता यति बेला नयाँ चलचित्र निर्माण र निर्देशनसँगै अभिनयमा फर्कँन लागेका हुन् ।
निखिल उप्रेतीले आफ्नो निर्देशन र निर्माणमा नयाँ चलचित्र आचार्य बनाउँदै छन् । यो चलचित्रको उनले गत चैतमा चलचित्र विकाश बोर्डबाट निर्माण इजाजत लिएका थिए । यही चलचित्रलाई अब उनले जेठबाट छायांकन सुरु गर्ने बताएका छन् । चलचित्रलाई पोखराबाट छायांकन सुरु गरिने भएको छ ।
चलचित्र आचार्य एक दशक अघि भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित रहेर निर्माण भएको थियो । यति बेला पुन यही नाममा निखिल उप्रेतीले नयाँ चलचित्र आचार्यको निर्माण घोषणा गरेका हुन् ।
चलचित्र आचार्यको लागि निखिलले म्युजिक भिडियोकी मोडल उषा उप्रेतीलाई शीर्ष अभिनेत्रीमा अनुबन्धित गरेका छन् । उषाको आचार्य डेब्यु चलचित्र हुने भएको छ । निखिल र अभिनेत्री संचिता लुइँटेल पनि यो चलचित्रमा शीर्ष भूमिकामा हुनेछन् । निखिल र संचिताले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै उषा उप्रेतीलाई आचार्यमा अनुबन्धित गरिएको जनाएका छन् ।