काठमाडौं । शम्भुजीत बासकोटाको शब्द, संगीतमा २४ वर्ष अघि चलचित्र दैव संयोगमा राखिएको गीत आच्छा लेकिन लन्डनको चिसोले समाउला…निकै लोकप्रिय भएको थियो । यो गीत यति बेला नयाँ भर्सनमा फेरी लोकप्रिय भएको छ ।
केही वर्ष यताबाट चलचित्रका पुराना गीतहरूलाई रिमेक गरेर बजारमा ल्याउने लहर चलेको छ । यसै क्रममा शम्भुजीत बासकोटाको स्वर संगीतको गीत आच्छा लेकिनलाई नयाँ चलचित्र नरसिंह अवतारमा नयाँ भर्सनमा राखेर गत साता सार्वजनिक गरिएको हो । विगतमा देवीका वन्दनाको स्वरमा रेकर्ड गरिएको यो गीतलाई यस पटक शम्भुजीत र रचना रिमालको स्वरमा रेकर्ड गरिएको छ । गीतले सार्वजनिक भएको ११ दिनमा युट्युबमा ३१ लाख भ्युज पाइसकेको छ ।

यस्तो साता निर्माता निर्देशक अशोक शर्माले नयाँ चलचित्र ‘डबल ट्रिपल’को लागि आफ्नो पुरानो चलचित्र ट्रक ड्राइभरको गीत सम्झना बिर्सन सलललल…लाई नयाँ स्वरमा रेकर्ड गरेका छन् । शम्भुजीत बासकोटाकै संगीतमा यो गीत यति बेला राजु लामा र रचना रिमालको स्वरमा रेकर्ड गरिएको छ । ट्रक ड्राइभरमा यो गीत उदित नारायण झा र दीपा नारायण झाको स्वरमा रहेको थियो ।
यो गीत त्यति बेला सर्वाधिक हिट भएको थियो । अहिले पनि त्यत्तिकै बज्ने गरेकाले नयाँ पुस्ताका दर्शकको चाहनालाई मध्यनजर राख्दै यसलाई राजु र रचनाको स्वरमा पुन रेकर्ड गरिएको निर्देशक शर्माले बताए । पुराना लोकप्रिय गीतहरूलाई पुन रेकर्ड गरेर चलचित्रमा प्रयोग गर्ने क्रम बलिउडदेखि अन्य चलचित्र उद्योगमा पनि चलेको शर्माले जानकारी गराए । सोही कारण आफूले यो गीत यति बेला नयाँ चलचित्र डबल ट्रिपलमा राख्न लागेको पनि उनले प्रस्ट्याए ।
त्यसो त अशोक शर्माले आफ्नो पुरानो चलचित्र अल्लारेको गीत रातो टिका निधारमालाई पुन रेकड गरेर आधा दशक अघि चलचित्र ‘रातो टिका निधारमा’ राखेका थिए । यो नयाँ भर्सनको गीतको भिडियोलाई हालसम्म ६ करोड २० लाख पटक युट्युबमा हेरिएको छ । अघिल्लो गीत रातो टिक निधारमालाई दर्शकले नयाँ संस्करणमा पनि सर्वाधिक मन पराएको शर्माले बताए । सोही कारण यस पटक ट्रक ड्राइभरको चर्चित गीत सम्झना बिर्सन सलललल…लाई पुरानै लय तर नयाँ स्वरमा तयार गरेर चलचित्र डबल ट्रिपलमा राख्न लागिएको पनि अशोक शर्माले बताए ।
यसरी पुराना चलचित्रका लोकप्रिय गीतहरू अहिले पनि श्रोता दर्शकको जिब्रोमा झुन्डिएकाले ती गीतलाई ‘रिमेक’ गरेर नयाँ चलचित्रमा राख्ने क्रम बढेको छ । यसै क्रममा रोहित अधिकारीको निर्माण तथा मिलन तामाङको निर्देशनमा तयार गर्न लागिएको नयाँ चलचित्र ‘माइतीघर’मा पनि रिमेक गीत राखिँदै छ । निर्माण पक्षका अनुसार पुरानो चलचित्र माइतीघरमा आशा भोसलेको स्वरमा रहेको शीर्ष गीत वसन्तनै बस्न खोज्छ यहाँ…लाई नयाँ चलचित्र माइतीघरमा राख्न लागिएको छ ।
यस्तै गत फागुनमा रिलिज भएको चलचित्र फेरि रेशम फिलिलीमा अघिल्लो चलचित्र रेशम फिलिलीको भाइरल गीत जालमा…लाई नयाँ भर्सनमा राखियो । रेशम फिलिलीको जालमा… गीतलाई फेरी जालमा… शीर्षकमा रिमेक गर्दा केही शब्दहरू परिवर्तन गरिएको थियो । फेरि जालमा… गीतले युट्युबमा तीन महिनामा १ करोड २० लाख भन्दा बढी भ्युज पाइसकेको छ ।
यो चलचित्रका निर्माता रौनक विक्रम कँडेलले जालमा गीतलाई रिमेक गर्नुको कारण’bout राजधानीसँग भने,‘चलचित्र रेशम फिलिलीको जालमा गीत यति धेरै लोकप्रिय भएको थियो कि सोही गीतको कारण हलसम्म दर्शक आएका थिए । सो गीत बिना सिक्वेल चलचित्र फेरि रेशम फिलिली अधुरो हुने भएकाले हामीले जालमालाई रिमेक गरेर फेरि जालमा शीर्षमा ल्याएका हौँ ।’
यस्तै नेपाली चलचित्र साइनोको उदित नारायण झाको स्वरमा रहेको गीत आमैले भन्थे धाराको पानी…लाई रिमेक गरेर अर्को चलचित्र झमक बहादुरमा राखियो । ओम सुनारको स्वरमा रिमेक गरिएको पछिल्लो गीतले अहिलेसम्म १९ लाख मात्र भ्युज भएको छ । अघिल्लो गीतको तुलनामा यो रिमेक गीत त्यति धेरै लोकप्रिय हुन सकेन । चलचित्रको कथाको माग अनुसार आफूहरूले आमैले भन्थे धाराको पानी…लाई डिस्को भर्सनमा रिमेक गरेर चलचित्र झमक बहादुरमा राखेको गायक ओम सुनारले राजधानीलाई बताए ।
शम्भुजीत बासकोटाकै स्वर र संगीतमा रहेको चलचित्र आफ्नो मान्छेको गीत चट्ट रुमाल क्या मालुम…गीतलाई रिमेक गरेर निर्माता केशव भट्टराईले सात वर्ष अघि चलचित्र यात्रामा राखेका थिए । मेलिना राई र धर्मेन्द्र सेवाङको स्वरमा रिमेक गरेर राखिएको पछिल्लो गीत चट्ट रुमाल क्या मालुम…हालसम्म युट्युबमा २ करोड ७० लाख पटक हेरिएको छ । चलचित्रका यस्ता थुप्रै लोकप्रिय गीतहरूलाई रिमेक गरेर पुन चलचित्रमा राखिएको छ ।

चलचित्रमा आफूले संगीत दिएका अरु थुप्रै गीतहरूलाई पुन रेकर्ड गरेर नयाँ चलचित्रमा राख्ने तयारी भइरहेको संगीतकार शम्भुजीत बासकोटाले राजधानीलाई बताए । रिमेक’bout उनले भने,‘प्राय सम्बन्धित चलचित्रका निर्माता निर्देशकहरूले नै उहाँहरूको पुराना चलचित्रका चर्चित गीतहरूलाई रिमेक गरेर आफ्नो नयाँ चलचित्रमा राख्नु भएको छ र रिमेक गरिएका गीतहरू नयाँ स्वरमा पनि त्यत्तिकै लोकप्रिय भएका छन्’, आफ्नो शब्द, संगीत र स्वरमा रहेका चलचित्रका गीतहरूलाई अन्य चलचित्रमा रिमेक गरेर राख्नको लागि त्यत्तिकै मागहरू आएको पनि संगीतकार बासकोटाले राजधानीलाई बताए । यस’bout उनले भने,‘मेरै शब्द संगीतमा भए पनि कतिपय गीतहरूमा सम्बन्धित चलचित्रका निर्माताहरूको अधिकार रहेकाले उहाँहरूको अनुमति विना नयाँ चलचित्रलाई दिने कुरो पनि भएन नि । त्यसैले सबै गीतको रिमेक गर्न सहज छैन ।’
संगीतकार बासकोटाका अनुसार यसरी रिमेक गर्दा पुराना गीतहरूले फेरी नयाँ स्वरमा नयाँ जीवन पाउँछन् । पुराना गीतलाई रिमेक गरेर चलचित्र तथा अन्य जनरामा राख्ने क्रम संसार भर नै भएकाले आफूले पनि रिमेक गरेर पुन चलचित्रमा ल्याएको उनले जानकारी गराए । तर यसरी रिमेक गर्दा पुरानो लय, शैलीमा कत्ति पनि परिवर्तन नगरेको पनि उनले प्रस्ट पारे । आफ्नो गीत अरूलाई रिमेक गर्न दिँदा पनि सक्कली गीतको लय र शैली नबिग्रियोस् भनेर सम्झौता पछि मात्र दिने गरेको बासकोटाले बताए ।