काठमाडौं । गायक प्रकाश सपुतले निर्माण, निर्देशन तथा मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘वसन्त’ चार हप्ता अघि रिलिज भएको थियो । यो चलचित्रले सोचे अनुसारको व्यावसायिक सफलता हासिल गर्न सकेन ।
यति बेला अर्का लोक दोहोरी गायक प्रकाश दूतराज पनि चलचित्रमा अभिनेताको रूपमा अनुबन्धित भएका छन् । यी गायक नयाँ चलचित्र ‘आहुति’मा अनुबन्धित भएका हुन् ।
गायक प्रकाश दूतराज यो चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी बनेका छन् । अर्का गायक एवम् चलचित्र होस्टेल ३ का अभिनेता रिहान गिरी पनि यो चलचित्रमा नायकको रूपमा छन् । चलचित्र आहुतिको पाँचथरबाट छायांकन सुरु भएको छ ।
यो चलचित्रमा भवानी संग्रौलको निर्देशन रहेको छ । चलचित्रको निर्माण पक्षको भनाई अनुसार रिमै, देउरालीमा, घर कता हो बैनीको, रेशम जस्ता थुप्रै आफ्ना गीतहरुको भिडियोमा आफैँले कुशल अभिनय गरेका कारण चलचित्र आहुतिमा गायक प्रकाश दूतराजलाई नायकको रूपमा लिइएको हो । चलचित्रको छायांकन जेठको पहिलो सातामा सक्ने लक्ष्य निर्माण पक्षको रहेको छ ।