यसरी सुरु हुँदैछ आजबाट संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं । संघीय संसद्को छैटौं अधिवेशन अर्थात् बजेट अधिवेशन शुक्रबारबाट सुरु हुने भएको छ । विश्वभर कोरोना संक्रमण फैलिरहेकाले सांसदहरूले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाएर मात्रै संसद् भवनमा प्रवेश पाउने भएका छन् ।

संघीय संसद्का दुवै सदनका सांसद र कर्मचारीहरूको बिहीबारदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बिहीबार २ सय १२ जना सांसदसहित ४ सय ४१ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी टेकुमा लगिएको छ । परीक्षणमा प्रतिनिधिसभातर्फका १ सय ७९ जना र राष्ट्रियसभातर्फका ३३ जना सांसद सहभागी भए । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा हाल ५८ सांसद जना छन् ।

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतका नेताहरू स्वाब दिन बानेश्वर पुगेका थिए ।

संसद् अधिवेशन सुरु हुनुअघि बिहीबार सांसद र त्यहाँ कार्यरत कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो । कर्मचारी र मर्यादापालकसहित २ सय २९ जनाको पनि स्वाब संकलन गरिएको छ । बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म नयाँ बानेश्वरमा गरिएको थियो । रिपोर्ट आजै दिउँसै आउने जनाइएको छ ।

परीक्षणपछि कोरोनाको नेगेटिभ रिपोर्ट आएका सांसदलाई मात्र बैठकमा भाग लिन दिइनेछ । स्वाब दिने सांसदहरूको रिपोर्ट नआएसम्म उनीहरू बैठकमा बस्नबाट वञ्चित हुनेछन् ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनीकरण गर्न सामाजिक दूरी कायम हुने गरी बैठक कक्ष तयार पारिएको छ । सांसदहरूलाई बालकोनीमा समेत राख्ने गरी व्यवस्था मिलाइएको छ । ठाउँ साँघुरो र रोगको जोखिम कम गर्न यस्तो आग्रह गर्ने निर्णय भएको नेताहरूले बताएका छन् ।

यसैगरी, संसद् बैठकमा सहभागी हुने सांसदहरूलाई सहयोगी नल्याउन संसद् सचिवालयले आह्वान गरेको छ । ‘सकेसम्म सहयोगी नल्याउन भनिएको छ,’ संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने, ‘नल्याई नहुने सुरक्षार्थ खटिएकाहरूका सन्दर्भमा केही भन्ने कुरा भएन ।’

यसैगरी, राष्ट्रियसभामा सहभागी हुने सांसदहरूले बोल्नका लागि रोस्टम प्रयोग गर्न नपाउने भएका छन् । राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसदहरूले एउटै सिट प्रयोग गर्नुपर्ने, रोस्टममा मन्त्री र राष्ट्रियसभाको दलको नेताबाहेक अन्यले आफू बसेकै ठाउँको माइक प्रयोग गर्नुपर्नेलगायतका निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बैठक कक्षमा प्रवेश गर्ने र बाहिर आउने प्रयोजनका लागि फरक ढोका प्रयोग गर्नु पर्नेछ ।

त्यस्तै, मिडियालाई आमरूपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुने गरी व्यवस्थापन गरिएको छ । त्यस्तै, स्वास्थ्य सेवा विभाग टेकु र संघीय संसद्ले ७ बुँदे आचरसहिंता तय गरेको छ । साबुनपानीले हात धुनुपर्ने, मेडिकल मास्क अनिवार्य लगाउनुपर्ने लगायतका रहेका छन् । बैठकमा सहभागी हुँदा विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्नु पर्नेछ । अधिवेशन अवधिभर एउटै सिट मात्रै प्रयोग गर्नु पर्नेछ । प्रधानमन्त्री, मन्त्री तथा दलको नेताबाहेक अन्यले रोस्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नु पर्नेछ । सामान्यतः विधेयकको सिद्धान्तमाथिको छलफमा सबै सदस्यले रोस्टम प्रयोग गर्ने प्रचलन थियो ।

बजेट अधिवेशनमा आगामी आइतबारदेखि संघीय संसद्को राष्ट्रियसभा र प्रतिनिधिसभाले प्रि–बजेट छलफल सुरु गर्ने कार्यसूची तय भएको छ । त्यस्तै, २ जेठमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।

यता, बैठकस्थलमा तयारी पूरा भएको छ । संसद् सचिवालयले स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर तयारी पूरा गरेको हो । संघीय संसद्को दुवै सदन अब प्रि–बजेट छलफलका लागि तयारी अवस्थामा रहेको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए ।

‘सांसदको बीचका दुई कुर्सी खाली राख्छौं । सांसदलाई मास्क अनिवार्य गर्छौं,’ पाण्डेले भने, ‘सांसदहरूको टेबलमा सेनिटाइजर अनिवार्य गरिएको छ र बोल्नुअघि माइक पनि अनिवार्य रूपमा सेनिटाइज गर्नु पर्नेछ ।’

संसद् बैठकमा सबै पार्टीका सबै सांसदहरूलाई एकैपटक उपस्थित नगराउने रणनीति बनाइने भएको छ । सम्भव भएसम्म कोरम पुग्ने र सत्ता पक्षको बहुमत हुने गरी सांसदलाई उपस्थित गराउने तयारी सचिवलयको छ । सबै पार्टीका सांसदहरूको संख्याका आधारमा उनीहरूलाई उपस्थित हुने दिनको तय गरिने प्रारम्भिक तयारी छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन भएको बखतमा भने थप अप्ठ्यारो हुने देखिएको छ । ‘त्यस्तो अवस्थामा ३ सय सांसदका लागि ९ सय कुर्सी आवश्यक हुन्छ,’ पाण्डेले भने, ‘यसपटक संसद् हेर्न आउने दर्शकका लागि कुनै पास वितरण गरिनेछैन ।’ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा १५ सय कुर्सी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडामा राप्रपाका दीपकले लम्ब्याए मतान्तर