काठमाडौं । प्राध्यापक कृष्ण गौतमले आफ्नो नयाँ निबन्ध संग्रह ‘रानीहार’ बजारमा ल्याएका छन् । गौतमले आफ्नो यो पुस्तकमा ४० थान निबन्धहरूलाई संग्रह गरेका छन् ।
गौतमद्वारा लिखित अद्वैत उपन्यासले २०८० को पद्म श्री साहित्य पुरस्कार प्राप्त गरेको थियो । यस्तै उनको कविडाँडा पुस्तकले आख्यान पुरस्कार पाएको थियो । त्यसपछि आफूले यो पुस्तक पाठकमाझ ल्याएको गौतमले बताए ।
यो संग्रहलाई शिखा बुक्सले प्रकाशन गरेको हो । ३४० पृष्ठको यो पुस्तकको मूल्य ६७५ रुपैयाँ राखिएको छ । रानीहार पृथक अस्तित्व र अनुपमता जाहेर गर्न सक्षम निबन्ध कृति भएको गौतमले बताएका छन् । उनका अनुसार यसले विधागत रूप र अर्थ, शिल्प र अभिप्रायमा सामयिक औचित्य र उत्तेजना भरेर रोचकता थपेको छ । भाषाको विलक्षण चलखेलमा सम्मोहक ऊर्जा र अतिरिक्त आस्वाद्यता छ । यसमा हार्दिकता, सिर्जनात्मकता, विश्वसनीयता, अनौपचारिकता, अलमस्तीपना आदि गुण तथा गरिमालाई पनि समेटेको उनले बताएका छन् ।