उदयपुर । निर्माण कम्पनीको ढिलो सुस्तीले गाईघाट बजार टाउन प्लानिङ भित्रको सडक कालो पत्रे गर्ने तोकिएको समयमा नसकिने भएको छ । कम्पनीले बिभिन्न बहानामा काम रोक्दा समयमा नसक्ने निश्चित भएको छ ।
उदयपुरको सदरमुकाम गाईघाट बजारको टाउन प्लानिङ क्षेत्र सहित नौ वटा सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरबाहीले समयमा नसक्ने भएको हो । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५ किलोमिटर स्तरोउन्ती सहित कालोपत्रे गर्ने निर्माण कम्पनीको लापरबाहीले सडक अलपत्र परेको हो । विश्व बैंकको ऋण सहयोगमा शहरी विकास मन्त्रालय मार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको स्तरोउन्नती सहित कालो पत्रे गर्ने जिम्मा आशिष ( आशिर्बाद ( स्वामी नारायाण जेभीले ठेक्का सम्झौता गरेको छ ।
नगरको महत्वपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने सडक निर्माणका लागि विश्व बैंकले दिएको ऋण सहयोगलाई नगरले गौरवको आयोजनाका रुपमा लिएर काम अघि बढाएको छ । नगर भित्रका दुई लोकमार्ग (मदन भण्डारी र सगरमाथा) लाई जोड्दै बजार क्षेत्रका महत्वपूर्ण सडक एक आपसमा जोडिने गरी लिङ्क रोड निर्माण गर्ने गरि अन्तराष्ट्रिय स्तरको मापदण्डमा बन्ने सडक डबल लेन, स्टेट लाइट सहित सम्पूर्ण सुविधा उपलब्ध हुने गरि योजना बनाएर कामकोमा आशिष ( आशिर्बाद ( स्वामी नारायाण जेभीका प्रतिनिधि सन्तोष बस्नेतको लापरबाहीले सडक अलपत्र हुने अवस्थामा पुगेको छ । ।
४ वटा वडाका ९ सडकलाई दुई प्याकेज गरि ठेक्का सम्झौता गरिएको थियो । पहिलो प्याकेजमा करिव १० किलोमिटर सडक र दोश्रो प्याकेजमा करिक ४ दशमलव ५ किलोमिटर सडक निर्माण गर्ने गरि सम्झौता गरिएको छ । कुल १४ दशमलव ५ किलोमिटर सडक निर्माणको लागत स्टेमेट १ अरब ५ करोड रहेकोमा निर्माण कम्पनीले ६६ करोड ११ लाख १ सय ४० (पिएस र भ्याट सहित ) रुपैयामा १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरि आशिष ( आशिर्बाद ( स्वामी नारायाण जेभीले ठेक्का सम्झौता गरेको होे । आयोजना संचालनका लागि विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब ५ करोड रुपैयाँ भन्दा बढी) रकम उपलब्ध गराएको थियो ।
संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण गरिन लागेको हो । विश्व बैंकसँगको ऋण सहयोगमा निर्माणाधिन सो सडक त्रियुगा नगरपालिकासँग भएको ठेक्का सम्झौतामा ती सबै सडक २०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइ सक्नु पर्ने उल्लेख छ । गाईघाट टाउन प्लानिङ्गका सडक, सिटिहल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजि चोक ( फुलचोक ( बोटेटोल ( त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगती टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषि बजार पश्चिमबाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक लगायत अन्य साना ठुला सडक गरि १४ दशमलब ५ किलोमिटर सडक निर्माण हुने उल्ल्ेख छ ।
सो सडक २० मिटर चौडाई, १५ मिटर चौडाई, १० मिटर चौडाई देखि ८ मिटर चौडाई सम्मको निर्माण हुने जनाएको छ । जसमा १४ मिटर कालोपत्रे, दायाँबायाँ एक एक मिटरको नाली, दायाँबायाँ डेढ डेढ मिटरको पैदल फुटपात र बाँकी क्षेत्रमा टायल लगाई खानेपानीको पायप ईन्टरनेटको अफटिकल लगायतलाई छुट्टयाएर राखिने जनाए । सडकमा प्रयोग हुने निर्माण सामाग्री ल्याब परिक्षण गरेर मात्र प्रयोग गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
निर्माणाधिन सडक स्तरोउन्नतीको काम सम्झौताको म्याद सकिन ७० दिन मात्र बाँकी रहँदा अहिले सम्म ४० प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीको लापरबाहीको ’boutमा पटक पटक नगरपालिकाका छलफल भएको र बारम्बार काम छिटो गर्न आग्रह गर्दा समेत अटेरी गरेको जनप्रतिनिधि बताउँछन । निर्माण कम्पनीले जथाभाबी सडक खनेर छाड्दा दुर्घटनाहरू बढ्न थालेको स्थानीयबासी बताउँछन ।
सडक निर्माणलाई वैज्ञानिक र वस्तुगत बनाउदै व्यवस्थित सडक विकास तथा सुन्दर शहर र दुर्घटना न्यूनीकरण रहेको छ । जसको उद्देश्य सुन्दर शहर तथा व्यवस्थित सडक विकास र दुर्घटना न्यूनीकरण रहेको छ । तर नगर क्षेत्रमा निर्माणाधिन सडक स्तरोउन्नतीको काम भने सन्तोषजन छैनन् । निर्माणमा प्रयोग भएको सामाग्री कम गुणस्तरको भएको स्थानीयबासीको भनाई रहेको छ । ठेक्का सम्झौता तथा नक्शा अनुसार वैज्ञानिक तथा पारदर्शी हुन सकेको छैन । निर्माणाधिन नाला कम गुणस्तरको रहेको स्थानीयबासीको आरोप रहेको छ । निर्माण गरिएको नालाहरु दर्जनौ स्थानमा भत्कि सकेको उनीहरुको भनाई रहेको छ ।