नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बको हुने

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्बबाट वृद्धि भएर चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँबराबरको हुने भएको छ ।

आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशतमा सीमित रहने

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मुलुकको अर्थतन्त्रको आकार क्रमशः वृद्धि हुँदै आएको छ । आव २०७९–८० मा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको थियो । यसका साथै राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३ दशमलव ९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४ दशमलव ६१ प्रतिशत हुने अनुमान गरेको छ । कृषि क्षेत्रको ३ दशमलव २८ र गैरकृषि क्षेत्रको ४ दशमलव २८ प्रतिशत वृद्धिदर हुने अनुमान कार्यालयको रहेको छ ।

चालू आव २०८१–८२ मा मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय १७ अमेरिकी डलर पुग्ने प्रक्षेपण पनि गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आव २०८०–८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४ सय ६७ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको छ । आव २०७९–८० को तथ्यांकअनुसार सो वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४ सय १० अमेरिकी डलर थियो ।

चालू आवमा कृषि क्षेत्रको योगदान ३ दशमलव २८ प्रतिशत र गैरकृषि क्षेत्रको ४ दशमलव २८ प्रतिशत रहने तथ्यांक कार्यालयले जनाएको छ । गत आव २०८०–८१ मा कृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ३६ प्रतिशत रहेको थियो ।

त्यस्तै, चालू आवमा प्राथमिक क्षेत्र ३ दशमलव २५, द्वितीय क्षेत्रको ४ दशमलव ६५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४ दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ ।

निरन्तर २ आवमा नकारात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्रमा यस वर्ष भने सकारात्मक वृद्धि देखिने अनुमान गरिएको छ । गत आव उद्योग क्षेत्रमा २ दशमलव शून्य २ प्रतिशत र निर्माण क्षेत्रमा २ दशमलव २० प्रतिशतको ऋणात्मक वृद्धि देखिएको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा उद्योग क्षेत्रको ३ दशमलव ७८ प्रतिशत र निर्माण क्षेत्रको २ दशमलव २१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । चालू आवमा सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा देखिने अनुमान गरिएको छ । विद्युत् क्षेत्रमा १३ दशमलव ८२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । चालू आवमा कुल गार्हस्थ्य उत्पादनका अनुमान आधारभूत मूल्य र उपभोक्ताको मूल्यमा प्रस्तुत गरिएको छ । अर्थतन्त्रको आकार मापन गर्न उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यको जीडीपी प्रयोग गरिएको छ ।

राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान आव २०६७–६८ को मूल्य आधार वर्षमा आधारित छन् । चालू आव २०८१–८२ मा जीडीपीको २५ दशमलव ८९ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा जीडीपीको २५ दशमलव ३२ प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरिएको छ । आव २०७९–८० को तथ्यांकअनुसार सो वर्षमा जीडीपीको २३ दशमलव १२ प्रतिशत विप्रेषण प्राप्त भएको छ ।

चालू आव २०८१–८२ मा जीडीपीको ९३ दशमलव ४५ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा जीडीपीको ९३ दशमलव ७८ प्रतिशत अन्तिम उपभोग खर्च हुने संशोधित अनुमान गरिएको छ । आव २०७९–८० को तथ्यांकअनुसार सो वर्षमा जीडीपीको ९२ दशमलव ७८ प्रतिशत अन्तिम उपभोग खर्च भएको छ ।

चालू आव २०८१–८२ मा जीडीपीको ८ दशमलव ७४ प्रतिशत निर्यात हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा जीडीपीको ७ दशमलव ६२ प्रतिशत निर्यात हुने संशोधित अनुमान गरिएको छ । आव २०७९–८० को अन्तिम तथ्यांकअनुसार सो वर्षमा जीडीपीको ७ दशमलव शून्य १ प्रतिशत निर्यात भएको छ ।

चालू आव २०८१–८२ मा जीडीपीको ३३ दशमलव २३ प्रतिशत आयात हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०–८१ मा जीडीपीको ३२ दशमलव ९१ प्रतिशत आयात हुने संशोधित अनुमान गरिएको छ । आव २०७९–८० को तथ्यांकअनुसार सो वर्षमा जीडीपीको ३४ दशमलव ५६ प्रतिशत आयात भएको छ ।

चालू आव २०८१–८२ मा जीडीपीको ३६ दशमलव २४ प्रतिशत कुल राष्ट्रिय बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा जीडीपीको ३५ दशमलव ३९ प्रतिशत कुल राष्ट्रिय बचत हुने संशोधित अनुमान गरिएको छ । आव २०७९–८० को तथ्यांकअनुसार सो वर्षमा जीडीपीको ३३ दशमलव ९१ प्रतिशत कुल राष्ट्रिय बचत भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आव २०८१–८२ मा घरजग्गा कारोबारमा २ दशमलव ७२ प्रतिशतको मूल्य अभिवृद्धि दर रहने प्रक्षेपण गरेको छ ।

घरजग्गा कारोबार क्षेत्रले कुल गार्हस्थ्य उत्पादन जीडीपीमा ८ दशमलव २९ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ ।

कार्यालयका अनुसार निजी आवास निर्माण र भाडाका क्रियाकलापमा देखिएको सामान्य वृद्धि तथा घरजग्गा कारोबारमा आएको क्रमिक सुधारका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा केही वृद्धि हुने अपेक्षा गरिएको हो ।

अघिल्लो आव २०८०–८१ मा यस क्षेत्रको वृद्धि दर २ दशमलव ४३ प्रतिशत रहेको संशोधित अनुमान गरिएको थियो भने आव २०७९–८० मा सो दर २ दशमलव ९१ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रहरीद्वारा हत्या गरिएका कुमार पौडेलको श्रीमती बागमतीको मेयरकाे उमेदवार