काठमाडौं । गत हिउँदमा चलचित्र ऊनको स्विटरको छायांकन तयारी हुँदै थियो । यो चलचित्रको लागि निर्देशक नवीन चौहानले अभिनेत्री मिरुना मगरलाई हातैले ऊनको स्विटर बुन्नको लागि सिक्नु पर्ने सुझाव दिए । मिरुनाले हुन्छ मात्र भनिन् ।
सोही क्रममा निर्माण टिमले केही डल्ला ऊनको धागो र स्विटर बुन्नको लागि केही सुइरोहरू पनि दियो । जब यी अभिनेत्रीले दुई वटा सुइरोमा ऊनको स्विटर बुन्न सुरु गरिन् । त्यो दृश्य देखेर निर्माण टिम छक्क पनि प¥यो र खुसी पनि भयो ।
अभिनेत्री मिरुनाको कथनमा उनले चलचित्रको लागि स्विटर बुन्ने कार्य यो पहिलो थिएन । यस अघिको अनुभव सुनाउँदै यी अभिनेत्रीले भनिन्,‘मैले पहिलो पटक चलचित्र जारीमा ऊनको स्विटर बुनेको थिएँ भने त्यसपछि अर्को चलचित्र घर ज्वाइँमा पनि सुइरोबाटै ऊनको स्विटर बुनेँ । चलचित्र ऊनको स्विटरमा तेस्रो पटक मैले क्यामेराको अगाडी स्विटर बुन्ने काम गरेकी हुँ ।’
यी तीन चलचित्र मध्य सबैभन्दा बढी स्विटर बुन्ने दृश्य आफूले चलचित्र ऊनको स्विटरमा दिएको पनि उनले खुलाइन् । यो चलचित्रको लागि अभिनेता विपिन कार्कीलाई मिरुनाले स्विटर नै बुनेर दिनु पर्ने दृश्य थियो । त्यसको लागि पनि आफुले निकै राम्रो स्विटर बुनेको बताइन् ।
मिरुनाको भनाइमा यी अभिनेत्रीले चलचित्रकै लागि भनेर स्विटर बुन्न सिकेकी हैनन् । उनले त स्कुले जीवनमै स्विटर बुन्न सिकेकी थिइन् । त्यो सिप चलचित्रमा गज्जबले सदुपयोग भएको मिरुनाले बताइन् । स्विटर बुन्ने सिप’bout उनले भनिन्,‘म सानै हुँदा बजू (हजुरआमा)ले मलाई ऊनको स्विटर बुन्न सिकाउनु भएको थियो । त्यति बेला आफूलाई मन पर्ने रङको ऊन ल्याएर मैले मोजा, पन्जा, टोपी, गलबन्दीदेखि स्विटरसम्म बुनेर लगाउँथे ।’
बुबा आमासँग नेपालबाट अध्ययनको लागि बेलायत गएपछि मिरुनाले ऊनको स्विटर लगायतको सामग्री बुन्न छाडेकी रहिछन् । नेपाल फर्किएपछि चलचित्रमा काम गर्ने क्रममा बल्ल चलचित्र जारीमा ऊनको स्विटर बुनेको दृश्य दिएको यी अभिनेत्रीले खुलासा गरिन् । तर त्यो चलचित्रको लागि बुनेको स्विटर भने पुरा गर्न भ्याइनन् । यसरी आफूलाई ऊनको स्विटर बुन्न सिकाउने बजैलाई यसै वर्ष गुमाएकोमा उनी दुखी छिन् । मिरुनाले स्विटर बुन्न बजैले सिकाउँदाको पलहरू पनि राजधानीसँग स्मरण गरिन् ।
मिरुनाका अनुसार उनले चाँडै छायांकन हुने अर्को नयाँ चलचित्रमा पनि ऊनको स्विटर बुन्ने दृश्य दिनु पर्ने भएको छ । आफूले जानेको कलालाई चलचित्रमा प्रयोग गर्न पाउँदा रमाइलो लाग्ने गरेको यी अभिनेत्रीले बताइन् । ऊनको स्विटरलगायतको सामग्री बुन्दा शरीरको हातको पनि त्यत्तिकै व्यायाम हुने र मन एकाग्र समेत हुने यी अभिनेत्रीको कथन छ ।
मिरुनाको चलचित्र ऊनको स्विटर यही २६ वैशाखबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुँदै छ । यो चलचित्रमा ऊनको स्विटरलाई प्रेमको प्रतीकसँगै न्यानोपन र अपनत्वको रूपमा प्रयोग गरिएको मिरुनाले बताएकी छिन् ।
यो चलचित्रमा मिरुना गुरुङ समुदायकी युवतीको भूमिकामा छिन भने विपिन कार्कीले ब्राह्मण परिवारको काफ्ले युवाको भूमिका निभाएका छन् । यी दुईको अन्तरजातीय प्रेम कथामा यो चलचित्र आधारित रहेको मिरुनाको कथन छ । अघिल्लो चलचित्र जारी र घर ज्वाइँ जस्तै ऊनको स्विटर पनि ‘अग्र्यानिक’ चलचित्र भएको मिरुनाले जानकारी गराइन् ।