पोखरा । सुटिङ खेलकी भगवती खत्री केसीलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं पोखरा स्पोट्र्स अवार्ड–२०८१ अन्तर्गत सबैभन्दा महत्वपूर्ण विधा लाइफटाइम अचिभेमेन्ट अवार्डबाट उनलाई सम्मान गर्ने भएको हो ।
प्रतिभा छनोट समितिको सिफारिसबमोजिम मञ्चको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । पोखरा इभेन्ट सेन्टरमा यही २६ वैशाखमा हुने स्पोर्टस् अवार्ड समारोहमा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित सम्मान गरिने मञ्च अध्यक्ष एमबि आस्था मगरले बताए । सो अवसरमा योसहित विभिन्न ७ विधामा अवार्ड प्रदान गरिने उनले बताए ।
बागलुङकी भगवतीले सुटिङका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी छन् ।
२५ वर्षअघि २७ औं सिड्नी ओलम्पिक गेम्समा भाग लिएकी उनले त्यसबेला राष्ट्रिय कीर्तिमानीसमेत कायम गरेकी थिइन् । उनले विभिन्न ७ संस्करणका एशियन गेम, साफ च्याम्पियन, अन्तर्राष्ट्रिय सुटिङ प्रतियोगितामा भाग लिएकी छन् ।
१२ औं राष्ट्रिय सुटिङ प्रतियोगितामा वेस्ट प्लेयर घोषित उनी राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा स्वर्ण भित्राएकी छन् ।
खेल क्षेत्रमा लामो समयदेखिको योगदानको कदर गर्दै उनलाई सरकारले गोरखा दक्षिणबाहु मानपदवीबाट विभूषित गरिसकेको छ । उनले विगत ३० वर्षदेखि खेलाडीलाई निःशुल्क प्रशिक्षणसमेत गराउँदै आएको बताउँछिन् ।
पोखरा स्पोर्टस् अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने उनी दोस्रो महिला हुन् । गत वर्ष एथलेटिक्सकी इन्द्रा मल्ल सम्मानित भएकी थिइन् ।
यसअघि, क्रमशः कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्याप्रसाद मरासिनी सम्मानित भइसकेका छन् ।