पोखरा । म्याग्दी जिल्ला भलिबल संघलाई वर्ष उत्कृष्ट खेल संस्थाको अवार्डबाट सम्मानित गरिने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही २६ वैशाखमा आयोजना गर्ने नवौं पोखरा स्पोट्र्स अवार्ड–२०८१ मा नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । खेलाडीको प्रोत्साहनस्वरुप मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डमा योसहित ७ विधामा अवार्ड प्रदान गरिँदैछ ।
२०६१ सालमा स्थापना भएको संघले हालसम्म राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने थुप्रै खेलाडी, रेफ्री तथा प्रशिक्षक उत्पादन गरिसकेको छ ।
भलिबलका लागि उर्भर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडिसँगै प्रशिक्षक, रेफ्रि उत्पादन भइसकेका छन् ।
नेपाली महिला भलिबल टिम कप्तान अरुणा शाही, राष्ट्रिय खेलाडीहरु कमला पुन, राजु थकाली, मिलन मल्ल, झमानसिङ परियार, सम्राट भण्डारी, गण्डकी प्रदेश टिमका उपकप्तान सुजन चोखाल, गण्डकी टिम सदस्य पवित्रा बिसी, रेविना घर्ती, मनीषा तिलिजा, अस्मी पुन, रिक्जिना बोटे, काजल छन्त्याल, सजिना बुढाथोकी यहीका उत्पादन हुन् ।
यस्तै, तेजेन्द्र बानियाँ, मलिन रोका, कुमार किसान जस्ता प्रशिक्षक उत्पादनसँगै रेफ्रीसमेत संघले उत्पादन गरिसकेको छ ।
हाल तेजेन्द्र बानियाँ अध्यक्ष रहेको संघले ४ वर्षभित्र आधुनिक भलिबल कभर्ड हल निर्माण थालनी गरेको छ । त्यसका लागि अघिल्लो वर्ष अक्षयकोष स्थापना गरी ४७ लाख जम्मा गरिसकेको जनाएको छ ।
संघले ७ वर्षमाथि उमेर समूहका बालबालिकालाई खेलकुदमा आकर्षण गराउँदै ग्रास रुटबाट खेलाडी उत्पादन गर्दै आएको छ । २०७९ सालमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता गरेको छ भने एनभिए अवार्ड–२०८० र गण्डकी प्रदेश भलिबल संघबाट सम्मानित भइसकेको छ ।
यसैबीच, लाइफटाइम अचिभमेन्ट अवार्ड सुटिङकी भगवती खत्री केसीलाई प्रदान गर्ने निर्णय भइसकेको मञ्च अध्यक्ष एमबि आस्थाले जनाए ।