मकवानपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्था परिवर्तन भएपनि नागरिकको जीवनस्तर सुधार हुन नसकेको बताएकी छिन् । मदन भण्डारी फाउण्डेशन मकवानपुरको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा अझै पनि सकारात्मक परिवर्तन आउन सकेको देखिँदैन’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् । ‘हामीले राजनीतिक परिवर्तन र संविधान समय समयमा बदल्दै आयौं तर, जनताले सकारात्मक परिवर्तनको महसुस गर्ने गरी सामाजिक र आर्थिक रुपान्तरणको कार्यभार पुरा गर्न बाँकी छ’ उनले भनिन् ‘जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याउँदै नागरिकको जीवनस्तर परिवर्तन गर्नुपर्छ ।’
नागरिकको आवश्यकता अनुसारको विकास अहिलेको आवश्यकता भएको उनले बताइन् । ‘राजनीतिक दलले समाजको आर्थिक, सामाजिक व्यवस्थाको रुपान्तरणलाई मुल लक्ष्य बनाएर अगाडि बढनुपर्छ’ उनले भनिन् । मौलिक राजनीतिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ मार्फत् नागरिकको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीसहित देशलाई समाजवादको दिशातर्फ उन्मुख भइरहेको उनको भनाई थियो ।
२०४७ सालको संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचनाकै जगमा नेपालमा राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनले दावी गरिन् । ‘‘‘वर्गीय विविधतायुक्त समाजमा नागरिकको हितमा काम गर्ने र सधै जनतासँग जोडिएको राजनीतिक दल मात्र शासनमा पुग्ने गर्छ’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् । यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्तामा मानवीय सेवाको भावना विकास गर्नुपर्ने बताएकी छिन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका –१५ स्थित दिव्यसेवा निकेतन आश्रयस्थलको अवलोकन गर्दै उनले यस्तो बताएकी हुन् ।
’मानव जीवनको उत्कृष्ट सेवा नै मानव सेवा भएको हुँदा यसलाई नयाँ पुस्तामा पुर्याउन जरुरी रहेको छ’ उनले भनिन् ।
’मानव जीवनमा आउने प्रक्रिया मध्ये सबैले एकपटक बुढ्यौली अवस्थाबाट गुज्रनुपर्ने भन्दै यस्तो अवस्थामा परिवारको महत्व बढी हुन्छ’ भण्डारीले भनिन् ’कतिपय अवस्थामा यस्ता आश्रयस्थलहरु आवश्यक पर्छ । सरकारी र गैरसरकारी निकायबाट व्यवस्थित रुपमा भने संचालन गर्नु पर्छ ।’
उनले लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले यस विषयमा काम गरेको भएपनि सरकारको सबै क्षेत्रमा ध्यान नपुगेको हुनसक्ने भन्दै सरकारले गर्ने काम निजि क्षेत्र, गैरसरकारी क्षेत्रबाट हुनु राम्रो भएको बताइन् । ’गैरसरकारी निकायका तर्फबाट भएका यस्ता कामका लागि धन्यवाद दिदै यसको निरन्तरताको कामना गर्दै नयाँ पुस्तामा पनि यस्तो भावना विकास गर्न जरुरी रहेको छ’ उनले भनिन् ।
’बृद्धबृद्धाको हेरचाह र व्यवस्थापनका लागि हिजोको सामुहिक पारिवारिक प्रणाली नै ठिक थियो’ उनले भनिन् ’जेष्ठ नागरिकका क्षेत्रमा स्थानीय तहहरुले विशेष काम गर्नुपर्छ ।’
मदन भण्डारी फाउन्डेसन मकवानपुरको साधारणसभामा प्रमुख अतिथिका रुपमा सहभागी हुन हेटौंडा आएकी उनले दिव्यसेवा निकेतनको अवलोकन गरेकी हुन् ।

कमानेकी रेग्मी सम्मानित
श्रीचन्द्र शर्मा स्मृति सम्मान–२०८२ बाट हेटौंडा–८ कमानेकी शुभद्रा रेग्मी सम्मानित भएकी छिन् । राजनीतिक व्यवस्था परिवर्तनमा भूमिका निर्वाह गरेको भन्दै मदन भण्डारी फाउण्डेशन मकवानपुरले रेग्मीलाई नगदसहित सम्मान गरेको हो ।
फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा शनिबार हेटौँडामा भएको कार्यक्रममा पञ्चायती निरङकुशता विरुद्धको लडाईमा सहभागी भई सेल्टरदाताको रुपमा गतिशील रहेको भन्दै रेग्मीलाई सम्मान गरेको हो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पनि आतिथ्य रहेको थियो । फाउण्डेशनको साधारणसभाले पुनः खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।