देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू हो भनेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङको बाहुनडाँडा तत्कालीन भीरपुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण तथा राष्ट्रकवि माधव घिमिरे पार्कको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार त्यस्तो भएको बताएका हुन् ।

उनले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवम् देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू हो, यीनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको बताए ।

राष्ट्रकविको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा उहाँको नाममा बनेको पार्क र निर्मित शालिकसँगै यस क्षेत्रको महत्व र गरिमा बढेर यो समग्र भाषा साहित्यप्रेमीहरूको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने उनले विश्वास व्यक्त गरे ।

‘कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहर कास्कीदेखि प्रसिद्ध समालोचक प्रोफेसर यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा, तनहुँ हुँदै राष्ट्रकविको जन्मथलो लमजुङको भिरपुस्तुन, बाहुनडाँडासम्मका स्थलहरूलाई समेटी एउटा गण्डकी साहित्य सर्कल (चक्र) निर्माणको लागि म आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । साथै यसै सन्दर्भमा तनहुँको आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेकोले यसमा सबैको सहयोगको लागि आव्हान गर्दछु राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले भने, ‘गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो । यहाँका वस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाँटु, सोरठी र ठाडो भाकामात्र होइन हिमालको काखमा अवस्थित यहाँको पहाडी रमणीय प्रकृतिले यसलाई स्रष्टा र साहित्यको लागि उर्वर वातावरण दिएको छ ।’

सुन्दरबजार, लमजुङ, २१ वैशाखः लमजुङको मर्स्याङदी गाउँपालिका–३ पुस्तुन बाहुनडाँडामा निर्माण गरिएको राष्ट्रकवि माधव घिमिरे पार्कको आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुहुँदै।

यसैको सेरोफेरोमा पूर्वीय जीवन र दर्शनलाई दिशावोध गर्ने चार वेद र अठार पुराणका रचयिता वेदव्यास, नेपाली भाषासाहित्यलाई युगिन बाटोतर्फ डो¥याउने आदिकवि भानुभक्त र कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि रहेको प्रसंग उल्लेख गर्दै उहाँले यहीे सेरोफेरो, हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधराका धरोहर माधवप्रसाद घिमिरेको जन्म भयो जो नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल भएको धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले विगतमा तत्कालीन पश्चिम– ३ नम्बर लमजुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पु¥याएको सहयोगलाई कहिल्यै बिर्सन हुन्न भने ।

उनले भने ‘प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ ।’

‘जहाँनीया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, समाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, राष्ट्रपति पौडेलले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले जोड दिदै भने, ‘यहाँको सुरम्य पहाडी, हिमाली र ग्रामिण जनजीवनको धुकधुकीलाई टपक्क टिपेर आफ्ना कैयौ गीत, कविता, खण्डकाव्य, गीतीनाटकसहितका कालजयी रचना सृजना गर्ने राष्ट्रकवि घिमिरेको वैशिष्ट्यताले नेपाली साहित्यजगतलाई महत्वपूर्ण योगदान दिएको छ ।’

राष्ट्रकविका साहित्यिक सृजनामा हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाईन्छ भन्दै राष्ट्रपति पौडेलले यसबाट भाषा, साहित्यमात्र नभएर समग्र वाङमयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको राष्ट्रपतिले उल्लेख गरे ।

राष्ट्रकविलाई सम्झदै पौडेलले भने ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे होस कि गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली त्यसैका प्रमाण हुन्, अझ मानवीय करुणालाई सुक्ष्म संवेदनाका साथ प्रस्तुत गर्न सक्ने उहाँको क्षमता अद्भुत छ, आफ्ना रचनामा मानवीय संवेदना, प्रकृति र देशप्रेमको उज्यालो पक्षलाई जीवन्त प्रस्तुत गर्न सक्ने क्षमताका कारण उहाँ राष्ट्रकविको उचाइ धारण गर्न सफल भएको भन्ने मलाई लाग्छ ।’

अर्को एक प्रसङ्गमा ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्ष्य अनुसार अब तिव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड राष्ट्रपति पौडेलको थियो ।

हामीले भोगेको समय र समाज, दुःखसुख, जनजीवन एवम् परिवेशको यथार्थ चित्रण स्रष्टाका रचनामा प्रतिविम्बित हुने गर्दछ भन्दै राष्ट्रपति पौडेलले यी रचना एउटा अभिलेखका रुपमा वर्तमानमा मात्र होइन भावी पुस्ताका लागि पनि तत्कालीन परिवेशलाई बुझ्ने जीवन्त दस्तावेज भएको उनले स्मरण गरे ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)