लस एन्जलस् । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा स्वदेशी चलचित्रलाई प्रोत्साहन गर्ने बताएका छन् । जसका लागि उनले अमेरिका बाहिर बनेका चलचित्रहरूमा अमेरिकामा प्रदर्शन गर्दा १०० प्रतिशत कर लाग्ने घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सोसल प्लेटफर्ममा एक पोस्ट मार्फत यस्तो घोषणा गरेका हुन् । उनले सरकारी विभागहरूलाई हाम्रो देशमा आउने कुनै पनि बाहिरी चलचित्रहरूमा सत प्रतिशत कर लगाउन अधिकार दिएका छौँ भनेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्य राष्ट्रहरूको संयुक्त प्रयासको परिणामस्वरूप अमेरिकी चलचित्र उद्योग धेरै छिटो मृत्युवरण अवस्थामा पुगेको छ’, ट्रम्पले विदेशी चलचित्र अमेरिकामा धेरै आउनुलाई राष्ट्रिय सुरक्षाको खतरा पनि भनेका छन् ।
राष्ट्रपति ट्रम्पले हालै मात्र अमेरिकामा आउने विदेशी सामानहरूको करमा मात्र बढाएका थिए । उनले अमेरिका आउने चिनियाँ सामानहरूमा १४५ प्रतिसतसम्म कर लगाएका थिए । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न उनले विदेशी सामानलाई कर लगाएको केही दिनपछि नै विदेशी चलचित्रमा पनि १०० प्रतिशत कर लगाउने घोषणा गरेका हुन् ।
डोनाल्ड ट्रम्पको यो योजनाले बेलायती चलचित्र क्षेत्रलाई ठुलो धक्का पुग्ने बेलायती चलचित्रकर्मीहरूले बताएका छन् । कोभिड महामारी, २०२३ को हलिउड गिल्ड हड्ताल र लस एन्जलस क्षेत्रमा हालैका डढेलोका कारण अमेरिकामा चलचित्र निर्माणमा बाधा पुगेको छ । ठुला अमेरिकी ब्यानरहरूले बेलायत तथा भारतसँग सहकार्य गरेर चलचित्र निर्माण गरिरहेका छन् । यस्तो अवस्थामा ट्रम्पको सत प्रतिशत कर वृद्धिको घोषणाले अमेरिकी चलचित्र र टेलिभिजन उत्पादनमा पनि बाधा पुग्ने बेलायती चलचित्रकर्मीहरूको कथन छ ।
बेलायतका प्रसारण, मनोरञ्जन, सञ्चार र थिएटर युनियन (बेक्टु) का प्रमुख फिलिप्पा चाइल्ड्सले बेलायती उद्योग कोभिड–१९ महामारीको प्रभावबाट भर्खरै माथि उठिरहेको बेलामा अमेरिकाको यो निर्णयले त्यहाँ बेलायती चलचित्रको बजारमा ठुलो प्रभाव पुग्न सक्ने बताएकी छन् ।
फिलिप्पाले भनेकी छिन्,‘बेलायत चलचित्र र टेलिभिजन कार्यक्रममा निर्माणमा विश्वको अग्रणी देशमा पर्छ र हामीले हजारौँ प्रतिभाशाली कामदारहरूलाई चलचित्र तथा मनोरञ्जन क्षेत्रमा रोजगारी दिएका छौँ । सरकारको औद्योगिक रणनीतिमा एक प्रमुख वृद्धि क्षेत्र चलचित्र पनि हो,’ उनले अगाडि थपिन्, ‘कोभिड र हालैको मन्दी पछि चलचित्र उद्योगमा भर्खरै सुधार भइरहेको बेला अमेरिकाको यो निर्णयले ठुलो धक्का दिन सक्छ, बेलायतमा चलचित्र बनाउने दसौँ हजार दक्ष चलचित्रकर्मीका लागि ट्रम्पको निर्णय साँच्चै चिन्ताजनक समाचार हो ।’
उता भारतीय चलचित्रको ठुलो बजारको रूपमा अमेरिकालाई हेर्ने गरिएको छ । ट्रम्पको विदेशी चलचित्रमा १०० प्रतिशत शुल्क लगाउने निर्णयले भारतीय चलचित्र उद्योगलाई पनि असर पर्ने बताइएको छ ।
ट्रम्पको निर्णय आएको केही घण्टापछि, भारतीय चलचित्र निर्माता विवेक अग्निहोत्रीले अमेरिकी सरकारको कदमको आलोचना गरेका छन् । कोभिड पछि अझै पनि बिरामी अवस्थामा रहेको भारतीय चलचित्र उद्योगलाई यो निर्णयले ठुलो असर पर्ने अग्निहोत्रीको दाबी छ ।
निर्माता विवेक अग्निहोत्रीले ट्रम्पको १०० प्रतिशत चलचित्र शुल्कको ’bout ट्विट गर्दै लेखेका छन्, ‘यो एक विनाशकारी कदम हो । यदि यो बेतुकापन कायम रह्यो भने, भारतको संघर्षरत चलचित्र उद्योग पूर्ण रूपमा ध्वस्त हुनेछ, यसलाई बचाउने कोही हुने छैनन् ।’
सम्बन्धित समाचार







