कालिगण्डकी करिडोरले फेरिदैँ जीवनस्तर

गुल्मी ‘पहिले रिडी पुग्न हिडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामा पुगिन्छ ।’ गुल्मीको कालिगण्डकी गाउँपालिका–१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने, ‘करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ ।’ करिडोर नबन्दै हर्मिचौर लगायतका भेगका नागरिक सदरमुकाम तम्घास जान पाल्पाको सडक प्रयोग गर्नुपर्नेमा अहिले भने सिधा रिडीको बाटो प्रयोग गर्न सकिने पाण्डेले बताए ।

अर्का स्थानीय बिर बहादुर दर्जीले अहिले व्यवसायिक सिलाई–कटाई पसल खोलेका छन् । पहिले–पहिले बाग्लुङको सामान ल्याउनुपर्दा झन्झट व्यहोरेका दर्जीलाई अहिले करिडोरले सिधा बुटबलसँगको सम्पर्क नजिक बनाएको छ । ‘कच्चा पदार्थ ल्याउन र बेच्न निकै सहज छ ।’ उनले भने, ‘करिडोरले गर्दा कम खर्चमा धेरै नाफा भएको छ ।’ सडक छेउमा पसल गरेका उनले करिडोरले आफुजस्तै थुप्रै व्यवसायीलाई नाफा भएको बताए ।

गुल्मीमा निर्माण गरिएको कालिगण्डकी करिडोरले त्यस भेगका नागरिकको जिवनस्तर नै फेरिएको छ । भारतको कोरला नाका हुदैँ चीनको मानसरोवर जोड्ने करिडोरको गुल्मीमा ३९ किलोमिटर भाग पर्दछन् । गुल्मीका रुरुक्षेत्र, सत्यवती र कालिगण्डकी गाउँपालिकाका नागरिक करिडोरबाट प्रत्यक्ष रुपमा लाभाम्बित छन् ।

करिडोरले बिरामी हुँदा त्यस क्षेत्रका नागरिकलाई एम्बुलेन्सको प्रयोग, प्रशासनिक कामले सदरमुकाम तम्घासको आवत–जावतमा सहज, विद्यालयसम्मको पहुँच, स्थानीय स्तरमा स्वास्थ्य पहुँच, पालिकासम्मको यात्रा लगायतका धेरै पक्षमा फाइदा भएको छ । त्यसैगरी बुटबल, पोखरा र काठमाडौंसम्मको दुरी पनि नजिकिएको छ । सडक नबन्दै काठमाडौं जान बाग्लुङ वा रिडी गएपछि मात्रै बस चढ्नुपरेकोमा अहिले घरबाटै रात्रिकालिन सेवाको बस चढ्न पाइने सत्यवतीकी मीना क्षेत्रीले बताइन् । रिडीदेखि पूर्घिघाटसम्मको व्यापार गुल्मी सदरमुकाम भन्दा बुटबल र बाग्लुङसँग बढी नजिक छ । त्यसमा सडकले थप सहजता मिलेको छ । करिडोर (गुल्मी खण्ड) निर्माण सम्पन्न भएपछि सडक क्षेत्रमा सयौँको संख्यामा व्यापारिक फर्महरु खुलेका छन् । होटल, विभिन्न कृषि फर्महरु, कपडा पसल, गल्ला तथा किराना पसल, कस्मेटिक लगायतका पसलहरु खुलेका कालिगण्डकी गाउँपालिका पूर्तिघाटका लिल बहादुर केसीले जानकारी दिए । ‘सडकले पर्यटक प्रवद्र्धनमा समेत सहयोग मिलेको छ ।’ उनले भने ।

व्यवसायिक फर्महरु स्थापना हुँदा एकातर्फ गाउँमै रोजगारी सिर्जना भएको छ भने अर्कोतर्फ स्थानीय उत्पादनको बजारीकरण भएको छ । फर्महरु पालिकामा दर्ता हुँदा स्थानीय सरकारको राजस्वमा समेत बृद्धि भएको त्यस क्षेत्रका पूर्व सासंद एवं लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुदर्शन बरालले बताए । ‘सडकले यातायात मात्रै होइन, यस क्षेत्रको भाग्य र भविष्य बलियो बनाएको छ ।’ बरालले भने । उनले सडकको जिम्मा नेपाली सेनालाई दिँदा लागत बढी भएपनि काम छिटो सम्पन्न भएकोमा खुसि व्यक्त गरे ।

सडक अनुगमनमा पुगेका बरालले त्यस क्षेत्रका नागरिकसँग सडक निर्माण गर्दा मन्दिरको बिषयमा आफुलाई समेत जोडेर अदालतमा मुद्धा समेत दर्ता भएको सुनाए । ‘धेरै ठुलो सङ्घर्षले सडक सम्पन्न भएको छ ।’ बरालले भने, ‘यो सडक (करिडोर) नआएको भए हामी कर्णालीभन्दा पनि बिकटमा हुन्थ्यौं ।’ उनले तत्कालिन अवस्थामा सडक निर्माणमा कर्मचारी संयन्त्रबाट सहयोग गर्ने लिलमणी पौडेल, युवराज भुसाल लगायतलाई धन्यवाद् दिए । सडक निर्माण पहलकर्ताको रुपमा माओवादी केन्द्र रुरुक्षेत्र, सत्यवती र कालिगण्डकी गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी सुदर्शन बराल र युवराज भुसाललाई सम्मान समेत गरेको छ ।

२० अर्बको दुई सय ४० किलोमिटर सडक
गैडाकोटदेखि चीनको उत्तरी भाग कोरलासम्म कालिगण्डकी करिडोरको कुल लम्बाई दुई सय ५४ किलोमिटर छ । जसमध्ये २० अर्बमा मर्मत तथा नयाँ सडक निर्माण गरी दुई सय ४० किलोमिटर सडकको काम निर्माणाधिन छ । जसमा नवलपुलमा ७८, पाल्पा र बाग्लुङमा ३६ किलोमिटर सडक खण्ड पर्दछ । हालसम्म एक सय ९७.३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । करिडोरले नवलपुरका तीन, पाल्पाका पाँच, गुल्मीका तीन तथा बाग्लुङमा एक पालिका छोएको छ ।

करिडोरमा बनाउनुपर्ने ५९ पुलमध्ये ३५ वटा निर्माण सम्पन्न भएका छन् । सातवटा निर्माणाधिन छन् भने १७ पुलको ठेक्का हुन बाँकी रहेको कालिगण्डकी करिडोर कार्यालयका इन्जिनियर अरुण खत्रीले जानकारी दिए । २० अर्बमध्ये हालसम्म ७२ करोडमात्र भुक्तानी हुन बाँकी छ । करिडोरको गुल्मी खण्डमा पर्ने २३ किलोमिटरको हर्मिचौर–बाग्लुङ बलेवा सडक तीन अर्ब ३० करोडमा निर्माण सम्झौता भएको छ । करिडोरको रिडी–रुद्रवेणी खण्डको तत्कालिन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ०७४ मा शिलन्यास गरेका थिए ।

करिडोरलाई रोजगारीसँगै जोड्दैछौँ
भारतको मानसरोवरदेखि चीनको कोरला नाकासम्म जोड्ने भएकोले व्यापारिक हिसाबले पनि करिडोर महत्वपूर्ण छ । स्थानीय उत्पादन र बजारीकरणसँग जोड्दै रोजगारी सिर्जनामा करिडोरलाई जोड्ने योजना रहेको कालिगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिइन् । ‘करिडोर सम्पन्न भएसँगै कृषि फर्म, होटल, पसल लगायतका फर्महरु स्थापना हुने कार्य जारी छ ।’ उनले भनिन्, ‘हामीले कृषि उपज निर्यात गर्नेगरी तयारी गरेका छौँ ।’ करिडोर आएपछि कालिगण्डकी गाउँपालिकाले कृषि, पर्यटन, पशु लगायतको क्षेत्रमा लगानी बढाएको उपाध्यक्ष दर्लामीले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल