काठमाडौं । कथाकार दिलीप पौडेलको नयाँ कथाहरूको संग्रह ‘व्लफर्स डायरी’ पाठकमाझ आएको छ । सोमबार साँझ काठमाडौँमा एक समारोहमा यो कृति लोकार्पण भएको हो ।
पुस्तकमा विविध विषयका १८ वटा कथाहरू समेटिएको छ । सँग्रहका कथाहरूमा आदिवासी नेपालीको कथा र आफ्नो गाउँघरको व्यथालाई आफूले प्रस्तुत गरेको लोकार्पण समारोहमा कथाकार पौडेलले बताए ।
क्यानडामा बसोबास गर्ने पौडेलले नेपाल आएको बेला यो पुस्तक सार्वजनिक गरेका हुन् । उनले यस अघि फुटकर रूपमा कथा लेख्दै आएका थिए । यो उनको पहिलो कृति हो । शिखा बुक्सले प्रकाशन गरेको किताबको मूल्य ४९५ रुपैयाँ रहेको छ ।
पुस्तकको लोकार्पणपछि कथा संग्रह माथि बोल्दै समीक्षक राजकुमार बानियाँले कथामा द्वन्द्व कालका कथा रहेको बताए । जसमा देश, समाज, प्रेम र आप्रवासी नेपालीको कथा व्यथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको उनको कथन थियो । संग्रहभित्रका कथाको शीर्षकले पाठकहरूलाई कौतुहलता पैदा गराउने किसिमको रहेको पनि बानियाँले जिकिर गरे ।
अर्का समीक्षक विक्रम भक्त जोशीले कथाहरू छोटा वाक्यहरूमा रहेकाले पढ्दा रोमाञ्चित बनाउने शैलीको भएको बताए । दुई देशको संस्कृति र परिवेशलाई फ्युजन गरिएका केही कथाहरू निकै रमाइला भएको जोशीको कथन थियो । कथा सरल लेखन शैलीमा भएकाले पाठकलाई मन पर्ने उनले बताए ।