भारतले पाकिस्तानको स्वशासित क्षेत्रमा आक्रमण गरेयता ४१ जना मारिए, ८९ जना घाइते

काठमाडौं । भारतले काश्मीरको पहलगाममा आतंककारी हमला भएको १५ दिनपछि मंगलबार राति १ः०५ बजे पाकिस्तानमाथि हवाई हमला गरेको थियो । भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणमा परेर बुधबार बेलुकासम्म ४१ जना मारिएको र ८१ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि, अहिलेसम्म कति संख्यामा हताहती भएको भन्ने यकिन जानकारी भने आइसकेको छैन ।

भारतले जैस–ए–मोहम्मद, हिजबुल मुजाहिद्दीन र लश्कर–ए–तोयबालाई लक्षित गरी हमला गरेको दाबी गरेको छ । आक्रमणमा तोयबाका रणनीतिक अभियानमा जोडिएका कमान्डर हाफिज अब्दुल मलिक मारिएको बताएको छ । पाकिस्तानका बहावलपुर, बाघ, मुरिदके, सियालकोट, कोटली, मुजफ्फराबाद, बरनाल, चक अमरू र तेहराकलामा भारतीय सेनाले गरेको हमलामा महिला र बालबालिकासहित पाकिस्तानी नागरिक मारिएको पाकिस्तानी पक्षको दाबी छ ।

– दक्षिण एसियाली मुलुकमा युद्धको चिन्ता

– आक्रमण पाकिस्तानमा आश्रित आतंकवादी संरचनामा लक्षित भएको भारतको दाबी

पाकिस्तानको सीमा क्षेत्रबाट भएको आतंककारी हमलामा गत २२ अप्रिलमा एक नेपालीसहित २६ जनालाई छानीछानी हत्या गरिएपछि भारत पाकिस्तानसँग क्रुद्ध बनेको थियो । सो आतंककारी हमलाको बदला लिनका लागि भारतले लामो कसरतपछि पाकिस्तानमाथि आक्रमण गरेको हो । काश्मीरमा घुम्न गएका हिन्दू पर्यटकलाई छानीछानी हत्या गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफी कारबाही गर्ने चेतावनी दिएका थिए ।

भारतीय प्रहरीले पहलगाममा हमला गर्नेमध्ये दुई पाकिस्तानी नागरिक भएको बताएको छ । आक्रमण गर्न पाकिस्तानले नै आतंककारीलाई सहयोग गरेको आरोप भारतले लगाएको थियो । पाकिस्तानले भने यी आरोप अस्वीकार गरेको थियो । आतंककारी आक्रमणपछि भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने र पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने निर्णय गरेको थियो । यसअघि सन् २०१९ मा पुलवामा हमलापछि पनि भारतीय सेनाले बालाकोटमा हवाई हमला गरेको थियो ।

त्यसैले यसपटक पनि भारतले पाकिस्तानभित्र हमला गर्ने अनुमान हुँदै आएको थियो । सन् २०१६ मा १९ सैनिकको ज्यान जानेगरी भएको उरी हमलापछि पनि भारतले नियन्त्रण रेखामाथि ‘सर्जिकल स्ट्राइक’ गरेको थियो । सन् २००८ मा मुम्बईको होटललाई ६० घन्टासम्म कब्जा, रेलवे स्टेसन र यहुदी केन्द्रमा गरेको हमलामा १ सय ६६ जनाको मृत्यु भएको थियो । तर, भारतमाथि आतंकवादीले गर्ने हरेक हमलालाई लिएर भारतले सधैं पाकिस्तानमाथि आरोप लगाउने गरेको छ भने पाकिस्तानले खण्डन गर्दै आएको छ ।

पहलगाममा आतंककारी आक्रमणपछि भारतले लामो कसरतपछि मंगलबार पाकिस्तान प्रशासित काश्मीर क्षेत्रका नौवटा आतंकवादी आश्रित संरचनालाई लक्षित गरेर हवाई हमला गरेको थियो । भारतले यस आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ । भारतले पाकिस्तानका नौ स्थानलाई निसाना बनाएको अपरेसन सिन्दुरको योजना ३ मेमा बनाएको थियो । आक्रमणअघि ४ दिनसम्म यसमा सामेल सैनिक कमान्डरहरू साउथ ब्लकमा थुनिएका थिए ।

पहलगाम हमलाको ११ दिनपछि ३ मेमा साउथ ब्लकमा भएको बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहका अजित डोभाल, सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, वायु सेनाका चिफ मार्सल अमरप्रित र नेवी प्रमुख दिनेशकुमार त्रिपाठीलगायत सहभागी थिए । त्यसपछि चार दिन रोकिएर भारतले पाकिस्तान र पाकिस्तान प्रशासित काश्मीरमा हमला गरेको हो । यस अवधिमा पाकिस्तानमाथि हमलाको सम्पूर्ण रोडम्याप तयार भएको थियो ।

‘अपरेसन सिन्दुर’मा सिन्दुर शब्दले हिन्दू महिलाले विवाहपछि निधारमा लगाउने रातो रङको पाउडरलाई जनाउँछ । भारत नियन्त्रित काश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंककारी हमलामा धेरै महिलालाई विधवा बनाइएको थियो । यस हमलापछि आफ्ना मृत पतिको शवको छेउमा पल्टिएकी एक महिलाको तस्बिर भाइरल भएको थियो । सो तस्बिर आक्रोश र पीडाको प्रतीक बनेको थियो ।

भारतीय रक्षामन्त्री र विदेशमन्त्री दुवैले सामाजिक सञ्जाल एक्समा रातो सिन्दुरको चित्रसहित यस अभियानको नामको सांकेतिक भाव पोस्ट गरेका छन् । विदेशमन्त्री एस जयशंकरले एक्समा लेखेका छन्, ‘विश्वले आतंकवादप्रति शून्य सहनशीलता देखाउनैपर्छ ।’ रक्षामन्त्री राजनाथ सिंहले पनि हिन्दीमा पोस्ट गर्दै भनेका छन्, ‘भारतको जित ।’

‘अपरेसन सिन्दुर’ नाम दिइएको सो आक्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रातभर निगरानी गरेका थिए । प्रधानमन्त्री मोदीले नयाँ दिल्लीमा बसेर वास्तविक समयमा भइरहेको विकासक्रमको निगरानी गरेका थिए । उनलाई रक्षा प्रमुख, वरिष्ठ गुप्तचर अधिकारीहरू र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले निरन्तर जानकारी दिएका थिए ।

वासिङ्टन डिसीस्थित भारतीय दूतावासले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री तथा अमेरिकी कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोसँग कुराकानी गरेको बताएको छ । यो जानकारी विज्ञप्तिमार्फत दिइएको हो ।

साथै, भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीका ’boutमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ । भारतका वरिष्ठ अधिकारीहरूले अमेरिका, बेलायत, साउदी अरब, यूएई र रूसका समकक्षीलाई सैन्य कारबाहीका ’boutमा जानकारी गराएका छन् । भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीले भारतले लस्कर–ए–तोयबा समूहले गत महिना भारत नियन्त्रित काश्मीरमा पर्यटकहरूको हत्याको जिम्मेवारी लिएको भन्दै सोही समूहको आतंकवादी संरचनाविरुद्ध आक्रमण गरेको बताइन् ।

भारतीय अधिकारीहरूले पाकिस्तान नियन्त्रित काश्मीर र पाकिस्तानको पञ्जाब प्रदेशभित्र लस्कर–ए–तोयबा र जैस–ए–मोहम्मदका प्रशिक्षण शिविरहरू रहेको दाबी गरिएका पाकिस्तानलक्षित आक्रमणहरूको भिडियो र नक्सा पनि देखाएका थिए । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानलाई भारतको काश्मीरमा नागरिकमाथि भएको आक्रमणको दोष लगाउँदै काश्मीरमा आतंकवादलाई समर्थन गरेको आरोप लगाए । मिश्रीले भारतीय सैन्य आक्रमणको लक्ष्य गुप्तचरले दिएको जानकारीका आधारमा चयन गरिएको बताए ।

पाकिस्तानको स्वशासित क्षेत्र काश्मीरमा भएको आक्रमणका विषयमा भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले सतर्कता र संवेदनशीलताका साथ पाकिस्तानविरुद्ध कारबाही गरेको बताएका छन् ।

सीमा सडक संगठन (बीआरओ)को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा हाम्रा भारतीय सेनाले सबै भारतीयलाई गौरवान्वित बनाएको छ ।’ भारतीय सेनाले नयाँ इतिहास रचेको दाबीसमेत सिंहले गरेका थिए । भारतीय रक्षामन्त्री सिंहले भने, ‘भारतीय सेनाले सतर्कता र संवेदनशीलताका साथ कार्य ग¥यो, निर्धारित लक्ष्यलाई योजनाअनुसार नष्ट ग¥यो, कुनै पनि नागरिक रहेको स्थान वा नागरिकहरू प्रभावित नहुन् भनेर पनि संवेदनशीलता देखाइएको थियो ।’

सिंहले रामायणको अशोक वाटिकाको स्मरण गर्दै भारतीय सेनाले हनुमानको आदर्शको पालना गरेको बताए । ‘हामीले हाम्रा निर्दोष मानिसलाई मार्नेहरूलाई मात्र मा¥यौं,’ रक्षामन्त्री सिंहले भने ।

पाकिस्तानी सेनाको गोलाबारीबाट १५ भारतीय नागरिक मारिए
भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि बुधबार पाकिस्तानी सेनाले सीमापार गरेको गोलाबारीबाट मारिएका भारतीय सर्वसाधारणको संख्या १५ जना पुगेको पुष्टि गरेका छन् । यसबाहेक ४३ जना घाइते भएका छन् । उनीहरू सबै भारत र पाकिस्तानबीचको सीमा नियन्त्रणरेखानजिक मारिएका हुन् ।

उनीहरू पुंछ जिल्लामा मारिएको सैन्य अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । उनीहरू सबैको मृत्यु पाकिस्तानी सेनाले चलाएको गोलीबाट भएको भारतीय पक्षको दाबी छ ।

उत्तरी भारतमा हवाई उडान प्रभावित
भारतीय सेना तथा सशस्त्र बलले मंगलबार रातिदेखि बुधबार बिहानसम्म पाकिस्तान र पाकिस्तान नियन्त्रित काश्मीरका आतंकवादी अड्डाहरूमा गरेको सैन्य कारबाहीका कारण भारतको उत्तरी क्षेत्रका प्रमुख सहरमा धेरै हवाई उडान प्रभावित भए ।

एयरलाइन्सहरूले यात्रुहरूलाई उडान रद्द वा ढिला हुनसक्ने’bout सचेत गराएका थिए । उनीहरूले यात्रुले आफ्नो उडानको स्थिति जाँच गरेर मात्र यात्राको योजना बनाउन आग्रह गरे ।

एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटका लागि उडान रद्द गरेको छ । अमृतसरतर्फ जाँदै गरेका दुई अन्तर्राष्ट्रिय उडानहरू दिल्लीतर्फ मोडिएको जानकारी दिएको छ । वर्तमान परिस्थितिको मध्येनजर गर्दै एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटका सबै उडान अद्यावधिक जानकारी नआउन्जेलसम्म रद्द गरेको बताएको छ ।

इन्डिगोले पनि जम्मू, श्रीनगर, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बिकानेरका उडान प्रभावित भएको बताएको छ । स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरमा विमानस्थल बन्द भएकाले उडान आगमन र प्रस्थानमा असर पर्नसक्ने जनाएको छ ।

दुईवटा भारतीय लडाकु विमान खसालेको पाकिस्तानको दाबी
पाकिस्तानले दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेको छ । समाचार एजेन्सीका अनुसार पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले सो जानकारी दिएका हुन् । उनका अनुसार, सेनाले कम्तीमा दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको छ । शरीफले पाकिस्तानी सेना जमिनमै परिचालित रहेको बताएका छन्, तर कुन स्थानमा परिचालन गरिएको हो भन्ने खुलाउन चाहेनन् । उनले पाकिस्तानले आत्मरक्षाको अधिकार राख्ने भन्दै हालै त्यसअनुसारको कदम चालिएको बताएका छन् । यता, भारतीय अधिकारीले भने आफ्नो विमान हराएको पुष्टि गरेका छैनन् ।

इजरायली राजदूतले गरे भारतको ‘अपरेसन सिन्दुर’को समर्थन
भारतका लागि इजरायलका राजदूत रुवेन अजरले भारतीय सेनाको ‘अपरेसन सिन्दुर’प्रति प्रतिक्रिया जनाएका छन् । भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको विषयमा बुधबार इजरायलका राजदूत अजरले इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्ने बताएका हुन् । ‘इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्छ, निर्दोषविरुद्धको जघन्य अपराधबाट लुक्ने कुनै ठाउँ छैन भनेर आतंककारीले थाहा पाउनुपर्छ,’ इजरायली राजदूतले एक्सको पोस्टमा भनेका छन् ।

दुई देशलाई संयमता अपनाउन रुसको आह्वान
रुसले भारत–पाकिस्तानबीच बढ्दो टकरावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । रुसले दुवै देशलाई संयमता अपनाउन आह्वान गरेको छ । पाकिस्तानी भूमिमा मंगलबार राति भारतले हवाई आक्रमण गरेपछि रुसको विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । रुसको भारत र पाकिस्तान दुवैसँग राम्रो सम्बन्ध छ । रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सबै प्रकारका आतंकवादको निन्दा गरिएको छ ।

भारत–पाकिस्तान युद्ध कहिले के भयो ?
भारत र पाकिस्तानबीचको सशस्त्र द्वन्द्वको इतिहास सन् १९४७ मा दुवै देशले बेलायती उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेसँगै जोडिएको छ । काश्मीर विवाद, क्षेत्रीय प्रभाव र गहिरो अविश्वासले परिभाषित यस प्रतिद्वन्द्विताले दक्षिण एसियाको शान्ति र स्थायित्वलाई बारम्बार चुनौती दिएको छ । दशकौंदेखि चल्दै आएका यी द्वन्द्वले विश्वको ध्यानाकर्षण गरिरहेका छन् । मंगलबार राति भारतले पाकिस्तानमा मिसाइल आक्रमण गरेसँगै फेरि युद्धको खतरा बढेको छ ।

प्रमुख युद्ध
सन् १९४७–४८ मा भएको पहिलो काश्मीर युद्धले यस तनावको जग बसालेको थियो । काश्मीरमा आदिवासी आक्रमणले निम्त्याएको सो युद्धले जम्मू र काश्मीरलाई दुई भागमा विभाजन ग-यो । भारतले दुई तिहाइ र पाकिस्तानले एक तिहाइ क्षेत्र नियन्त्रणमा लिए । त्यसयता, सन् १९६५ को युद्ध, १९७१ को बंगलादेश स्वतन्त्रता संग्राम, १९९९ को कारगिल युद्ध र २०१९ को बालाकोट हवाई हमलाजस्ता घटनाले दुवै देशलाई युद्धको मुखमा पु-याएका छन् ।

सन् १९६५ को युद्धः पाकिस्तानको ‘अपरेसन जिब्राल्टर’मार्फत काश्मीरमा घुसपैठको प्रयास असफल भयो । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्धविराम भए पनि कुनै ठोस समाधान निस्किएन ।

सन् १९७१ को युद्धः पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा बंगाली विद्रोहीहरूलाई भारतको समर्थनले पाकिस्तानको आत्मसमर्पण भयो र बंगलादेशको स्थापना भयो । यस युद्धले पाकिस्तानलाई ठूलो क्षति पु-यायो ।

सन् १९९९ को कारगिल युद्धः कारगिल क्षेत्रमा पाकिस्तानी सेनाको घुसपैठले छोटो तर तीव्र युद्ध निम्त्यायो । भारतले सैन्य कारबाहीमार्फत सो क्षेत्र पुनः नियन्त्रणमा लियो ।

सन् २००१ को भारतीय संसद् आक्रमण र सन् २००८ को मुम्बई आक्रमणले दुवै देशबीच तनाव चर्कियो । सन् २०१९ मा भारतले जम्मू र काश्मीरको विशेष स्वायत्तता खारेज गरेपछि पाकिस्तानले कूटनीतिक विरोध जनायो । सोही वर्ष पुलवामा आत्मघाती आक्रमणको जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला ग-यो, जसले हवाई झडपको स्थिति सिर्जना ग¥यो । अहिले पहलगाममा भएको आतंकवादी हमलापछि फेरि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ