मकवानपुर । मकवानपुरको हेटौंडामा जारी मकवानपुर महिला गोल्डकपको उपाधी रक्षाका लागि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
मंगलबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुबै विभागीय टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवन जिल्ला फुटबल टिमलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । यस्तै दिउँसो भएको दोस्रो सेमिफाइनलमा संकटा क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल २५ बैशाख बिहीबार हुनेछ ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै पुलिस उपाधी नजिक पुगेको हो । पुलिसको जीतमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । पुलिसको लागि अर्को एक गोल ४५ औं मिनेटमा सुश्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
दोस्रो सेमिफाइनल खेलमा संकटालाई २० गोलले हराउँदै एपीएफले फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । एपीएफको जीतमा रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा र अनिता केसीले खेलको ७६ औं मिनेटमा गोल गरिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी रेनुका नगरकोटी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
रौतहटलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको थियो भने बीरगंज युथ स्पोट्र्स एकेडेमी विरुद्ध एपीएफले १२ गोल गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । सिमराको नवजनजागृति युवा क्लबलाई ६–१ गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । उद्घाटन खेलमा पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले चितवनले आयोजक मकवानपुरलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडामा सातौं संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप अन्तरगत १९ बैशाखबाट महिलातर्फको गोल्डकप सुरु भएको हो । प्रतियोगिताको छैटौं संस्करणसम्म पुरुषतर्फ मात्रै हुँदै आएकोमा सातौं संस्करण महिलातर्फका टिम बीच प्रतिस्पर्धा हुने गरी गोल्डकप आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्को १५ लाख रुपैयाँ, मकवानपुरको भीमफेदी र कैलाश गाउँपालिकाको ३÷३ लाख रुपैयाँसहित प्रतियोगिता आयोजनाका लागि विभिन्न क्षेत्रबाट सहयोग रहेको संघ महासचिव छवि सुवेदीले जनाकारी दिए ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गरी तीनवटा विभागीय महिला टिमसहित मकवानपुर हेटौंडाको रिगल रिसोर्ट एन्फा महिला टिम मकवानपुर, बीरगन्ज युथ एकेडेमीको महिला टिम र नवजनजागृति युवा क्लब सिमरा बाराको महिला टिम, रौतहट र चितवन जिल्लाको महिला टिम गरी ८ बटा टिमको सहभागिता रहने महासचिव सुवेदीले बताए । महिलातर्फको गोल्डकप प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ ।
पुरुषतर्फको गोल्डकप घाटामा गएपछि महिला फुटबल प्रतियोगिता अघिल्लो छैटौं संस्करणहरूमा पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको संघले प्रतियोगिता घाटामा गएपछि सातौँ संस्करण भने राष्ट्रिय महिला गोल्डकपका रूपमा अगाडि बढाएको हो ।
समयमै हिसाब–किताब सार्वजनिक नगरेसँगै स्थानीय तहले उपलब्ध गराउँदै आएको रकम कटौती गरेपछि संघले बाध्य भएर महिला फुटबल प्रतियोगिता आयोजना गरेको बताइएको छ ।
संघले महिला फुटबलको विकास र क्रेज बढेसँगै प्रतियोगिता आयोजना गर्न लागेको दाबी गरेको छ। संघले छैटौं संस्करणको गोल्डकप प्रतियोगिताको आय–व्यय विवरण पनि सार्वजनिक गरेको छ। आम्दानी र खर्चको विवरण अनुसार, गत वर्षको फुटबल प्रतियोगिता आर्थिक रूपमा घाटामा गएको देखाइएको छ ।
प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ। प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको आयोजकले जनाएको छ ।